भारतमा नेपाली मूलका दुई छात्रामाथि दुर्व्यवहार, प्रधानमन्त्री मोदी समक्ष उजुरी

तस्बिरः एजेन्सी

नयाँ दिल्ली । भारतको मध्यप्रदेश राज्यको धार जिल्लामा रहेको एक विद्यालयले दुईजना नेपाली मूलका छात्राहरुलाई विद्यालयबाट निस्कासन गरेपछि विवाद उत्पन्न भएको छ । दुई साताअघिको सो विषयलाई लिएर दुई जना छात्राहरुले प्रधानमन्त्री नरेन्द्र मोदी र मध्यप्रदेशका मुख्यमन्त्री कमलनाथलाई समेत पत्र पठाएर गुनासो गरेका छन् । 

भारतीय सञ्चार माध्यमहरुले जनाएअनुसार उनीहरुलाई विद्यालयमा ‘नेपाली नेपाली’ भनेर चिढ्याउनुका साथै विद्यालयबाट निस्कासन गरिएको थियो ।  विद्यालयमा त्यस्तो समस्या उत्पन्न भएपछि उनीहरुले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र नै पठाए । तर, विद्यालयको प्रबन्धनले बालिकाका आमा बाबुलाई समेत अभद्र व्यवहार गरेको समाचामा जनाइएको छ । 

धारको चल्तापूर्जा मानिने एमिनेन्ट पब्लिक स्कुलमा सो घटना भएको हो । सो विद्यालयमा दुई नेपाली बालिका अवनिशा खड्का र अनुष्का खड्का नर्सरीदेखि नै पढ्दै आएका थिए । 

यद्यपि सो विद्यालयमा उनीहरुप्रति अन्य विद्यार्थी र शिक्षकबाट राम्रो व्यवहार गरिँदैनथ्यो ।  बालिकाहरुका अनुसार उनीहरुलाई विद्यालयमा नेपाल र नेपाली भनेर बारम्बार चिढ्याउने गरिन्थ्यो ।  त्यसपछि उनीहरुका मातापिताले विद्यालयका शिक्षकहरुविरुद्ध उजुरी हाले । शिक्षक र अभिभावकबीचको कुराकानी निकै तल झरेर तँ तँ मम सम्म गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यसपछि विद्यालयको प्रबन्धनले बालिकाहरुलाई कुरियरबाट पत्र पठाएर निस्कासन गरिएको जानकारी दिएको थियो ।  समाचारमा जनाइएअनुसार अवनिशा ८ कक्षामा र अनुष्का ५ कक्षामा पढाइ गरिरहेका थिए । यसपछि यी दुई बालिकाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाएर गुहार मागेका हुन् । 

यस विषयमा उनीहरुका आमा बाबुले बालिकाहरु नेपाली मूलका भएका कारण विद्यालयमा भेदभाव भएको हो ।  उनीहरुले जिल्ला शिक्षा अधिकारीलाई यो मामिलाको बारेमा पुरै जानकारी दिएर उजुरी  हालेका थिए ।  न्यूज १८ अनलाइन पत्रिकाले यसबारेमा विद्यालयका प्राचार्यसँग कुरा गर्दा उनले छात्राका अभिभावकले नै अभद्रतापूर्ण व्यवहार गरेको आरोप लगाएका छन् । 

उनले छात्राहरुलाई दोस्रो पटक प्रवेश दिने सम्भावनालाई पनि अस्वीकार गरेका छन् ।  जिल्ला शिक्षा अधिकारी मंगेश व्यासले यस्तो मामिलामा बच्चालाई विद्यालयबाट हटाउन नमिल्ने बताउँदै यस मामिलाको जाँच गराउने र छात्राहरुलाई न्याय दिने सो अनलाइनसँगको कुराकानीमा बताएका छन् ।

उता इन्डिया टुडेको अनलाइन संस्करणले जनाएअनुसार  मध्यप्रदेशका मुख्यमन्त्री कमलनाथले धार जिल्ला प्रशासनलाई घटनाको पूर्ण रुपमा छानबिन गर्न निर्देशन दिएका छन् ।

प्रकाशित मिति: : 2019-09-02 08:03:28

प्रतिकृया दिनुहोस्