दिनभरिका टप- १५ समाचार

अमेरिकामा पनि ओली-आरजुमाथि खतरा, गुन्डागर्दी गर्ने ६३ जना पक्राउ

बिहानै अमेरिकाबाट प्राप्त खबरले देश नै सशङ्कित भयाे। अमेरिका भ्रमणमा रहेकाे प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणालाई सम्मान गर्न आयाेजना गर्न लागिएकाे कार्यक्रममा रास्वपा कार्यकर्ताले कालाे-झण्डा देखाउने हल्लापछि कार्यक्रम नै रद्द हुन पुगेकाे थियाे।

त्यस्तै सहकारीलगायत विभिन्न प्रकरणमा मुछिएका नेताहरु पक्राउ पर्न सक्ने विषय दिनभरि चर्चमा रह्याे। यसबीच हिजाे पक्राउ परेकाे मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले झापामा ट्रकमा आगजनी गरे भने काठमाडाैँकाे माइतीघरमा प्रदर्शन।

त्यस्तै आजै प्रहरी प्रमुख वसन्त कुँवर कार्यशाला लागि विदेश प्रस्थान गरेकाे समाचार पनि चर्चामा रह्याे। यसमा उनकाे भ्रमणकाे विषयमात्रै नभएर अहिले विभिन्न काण्डमा पक्राउ पर्न सक्ने नेताहरुकाे विषयलाई जाेडिएकाे छ।

त्यस्तै आज खेलकुद क्षेत्रबाट दुइटा खुसी बनाउने र एउटा दुखी बनाउने खबर प्राप्त भयाे। क्यानडामा बिहान सम्पन्न खेलमा नेपाली क्रिकेट टाेली घरेलु टाेलीसँग पराजित भयाे। यता फुटबल र भलिबलबाट भने खुसीका खबर प्राप्त भयाे। यीसँगै आज दिनभरका प्रमुख १५ समाचार यहाँ प्रस्तुत छ:


ओली र आरजु अमेरिकामा बहिष्कृत

सार्वजनिक स्थलहरूमा विरोधको सामना गर्दै आएका नेपालका नेताहरू अमेरिकामा पनि बहिस्कृत भएका छन्।

अमेरिकास्थित राष्ट्रिय स्वतन्त्र पार्टीको विदेश विभाग र त्यहाँका अरु नेपाली समूहहरूले पनि कालाे-झन्डा देखाउने भन्दै सामाजिक सञ्जालमा आह्वान गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणालाई सम्मान गर्ने कार्यक्रम रद्द भएको हो।

दुई ठुला दलले सत्ताको लागि संविधान संशोधनको कथा बनाए: प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले दुई ठूला दलले सत्ता प्राप्तिको लागि संविधान संशोधनको कथा बनाएको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित संविधान कार्यान्वयन, अपेक्षा र वास्तविकता विषयक अन्तरक्रिया कार्यक्रममा उनले संविधान संशोधनको कुरालाई ख्याल गर्दा  सरकारको एजेण्डा संविधान संशोधनको नभएर माओवादीको सरकारलाई हटाएर सत्ता प्राप्ति गर्ने रहेको बताएका हुन्।

उनले एमाले र काँग्रेसमा संविधान संशाेधनकाे एजेण्डा नै नभएकाे बताए।

कार्यवाहक प्रधानमन्त्री सिंह दिए मातहतका निकायलाई निर्देशन

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले शहरी विकास मन्त्रालयअन्तर्गतका विभाग तथा आयोजना प्रमुखहरुलाई काममा ढिलासुस्ती नगर्न निर्देशन दिएका छन्। 

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री समेत रहेका सिंहले मन्त्रालय मातहतका कार्यालय प्रमुख र आयोजना प्रमुखहरुलाई सोमबार मन्त्रालयमै बोलाएर यस्तो निर्देशन दिएका हुन्।

उनले जनताले अनुभूति गर्ने गरि परिणाममुखी भएर काम गर्नुपर्नेमा जोड दिए। 

मुगु जिल्ला ६५औं साक्षर जिल्ला घोषणा 

 हिमाली जिल्ला मुगुलाई साक्षर जिल्ला घोषणा गरिएको छ। सोमबार एक औपचारिक कार्यक्रम गर्दै जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो।
जिल्लामा रहेका चारवटा स्थानीय सरकारहरुले साक्षर पालिका घोषणा गरेपछि मुगुलाई साक्षर जिल्ला घोषणा गरिएको हो।

सर्वोच्चले पत्रकार महासंघसँग माग्याे निर्वाचन गर्न नसक्नुकाे कारण

सर्वोच्च अदालतले नेपाल पत्रकार महासंघको निर्वाचन तोकिएको समयमा हुन नसक्नुको कारणबारे लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ।

धुव्रप्रसाद चौलागाईले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले तोकिएको समयमा निर्वाचन गर्न नसक्नुको कारण पत्रकार महासंघलगायत मातहतलाई सोधेको हो। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले रिटलाई अन्तरिम आदेश दिन अस्वीकार गर्दै सबै विपक्षीका नाममा लिखित जवाफ मागेको हो।

छविलाल जोशीलाई पाँच दिन हिरासतमा राख्न अनुमति

सहकारी ठगी प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका तत्कालीन सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशीलाई अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले पाँच दिन हिरासतमा राखेर अनुसन्धान अग्रण अनुमति दिएको हो।

दुर्गा प्रसाई अस्पताल भर्ना

प्रहरीको हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाई अस्पताल भर्ना भएका छन्। उनी आइतबार राति नै वीर अस्पताल भर्ना भएका हुन्।

आइतबार प्रहरीले उनको स्वास्थ्य परिक्षण गर्दा उच्च रक्तचापको समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको हो।

त्यसैबीच प्रसाईंकाे रिहाकाे माग गर्दै उनका समर्थकले ठाउँ-ठाउँमा विराेध प्रदर्शन गरेका छन्।

दुर्गा प्रसाईको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउविरुद्ध सर्वोच्च अदालतमा रिट पेश गरिएको छ। प्रसाईंका कानुन व्यवासायीले सोमबार बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्च अदालत प्रशासनमा वारेसमार्फत रिट दिएका हुन्।

सर्वोच्च प्रशासनले पेश गरिएको रिटको दर्ता गर्ने बारे अध्ययन गरिरहेको जनाएको छ।

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन असोज १० देखि

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी) ले प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्ने भएको छ। 

सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजन गरेर अध्यक्ष पञ्चा सिंहले सहमतिबाट नभई पत्यक्ष निर्वाचन प्रक्रियाद्वारा नयाँ नेतृत्व चयन गर्ने जानकारी दिइन।

त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा उद्घाटन हुने सम्मेलन असोज १० गतेदेखि १४ गतेसम्म चल्नेछ। 

अत्यधिक गर्मी बढेपछि विद्यालयमा बिदा

पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ।
जिल्लाको सुदूर दक्षिणवर्ती मनराशिशवा नगर कार्यपालिकाको कार्यालयले अत्यधिक बढेको गर्मीकै कारण आजदेखि ६ दिन विद्यालय बिदा दिने सूचना गरेको हो। महोत्तरीमा असोज सङ्क्रान्तियता ४५ डिग्री सेल्सियस तापक्रम रहँदै आएको छ।

ठमेलमा गुन्डागर्दी गर्ने ६३ जना पक्राउ

ठमेल क्षेत्रमा गुन्डागर्दी गर्ने ६३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी वृत्त सोह्रखुट्टेले आइतबार राति ठमेलको एउटा रेस्टुरेन्टबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। 

पक्राउ परेकामाथि छानबिन भइरहेको र सार्वजनिक मुद्दा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता दिशानायके विजयी

श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिशानायके विजयी भएका छन्। ५५ वर्षीय दिशानायके नेशनल पिपुल्स पावर (एनपीपी) गठबन्धनका प्रमुख हुन्।

पहिलो चरणको मतगणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन सकेनन्। यस राउण्डमा अनुरा दिसानायकेले ४२.३१ प्रतिशत र उनका प्रतिद्वन्द्वी सजित प्रेमदासाले ३२.७६ प्रतिशत मत प्राप्त गरे। यसै कारण निर्वाचन आयोगले दोस्रो चरणको मतगणना सुरु गरेपछि साँझ अनुरा दिसानायके श्रीलंकाको नवौं राष्ट्रपतिमा निर्वाचित भएकी हुन्।

साफ यू –१७: श्रीलंकामाथि नेपालको फराकिलो जित

साफ यू –१७ च्याम्पियनसिप अन्तर्गत  नेपालले श्रीलंकाविरुद्ध फराकिलो जित हासिल गर्न सफल भएको छ।

भुटानको चाङ्लिमिथाङ रङ्गशालामा सोमबार सम्पन्न खेलमा  नेपालले  श्रीलंकालाई ४- ० गोल अन्तरले पराजित गरेको हो।

नेपालको जितमा सुजन डंगोलले ह्याट्रिक गरेका थिए भने विज्ञान खड्काले एक गोल गरेका थिए।

काभा महिला भलिबलको उपाधि जितेको पुलिस क्लब स्वदेश फिर्ता

काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लब स्वदेश फर्किएको छ।

माल्दिभ्सको मालेमा भएको काभा क्लब च्याम्पियनसिपको उपाधि जितेको पुलिस क्लबका महिला खेलाडी सोमबार नेपाल फर्किएका हुन्।

विजेता टोलीलाई प्रहरीका अधिकृतहरुले विमानस्थल परिसरमा ब्याण्डबाजा, पुष्पगुच्छा, खादा र मालाले स्वागत गरेका थिए।

क्यानडासँग दोस्रो खेलमा पनि पराजित भयो नेपाल

नेपाल आइसीसी विश्वकप लिग- २अन्तर्गत जारी सिरिजमा लगातार तेस्रो खेलमा पराजित भएको छ। आइतबार राति सम्पन्न खेलमा नेपाल क्यानडासँग ५ विकेटले पराजित भएको हो।

नेपालले दिएको १८२ रनको लक्ष्य पछाएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो।

प्रकाशित मिति: : 2024-09-23 21:53:00

प्रतिकृया दिनुहोस्