सातजनामाथि ‘गोवध’ मुद्दामा छानबिन, जनप्रतिनिधिलाई पनि कारबाही माग

बीरेन्द्रनगरबाट नेपालगंज फिर्ता पठाइएका गाई गोरु। तस्बिरःनागरिक

सुर्खेत - बाँकेको नेपालगन्ज उपमहानगरपालिकाबाट दैलेखतर्फ लैजान लागिएका मध्ये ३५ गाईलाई भीरबाट खसालेर मारेको अभियोगमा पक्राउ परेका सातजनालाई अनुसन्धानका लागि जिल्ला अदालतले सात दिनको म्याद दिएको छ।  प्रहरीले पाँचजना चालक र दुई सहचालकलाई शुक्रबार पक्राउ गरेको थियो।  जिल्ला अदालत सुर्खेतले ट्रक चालक शत्रुधन चौधरी, दामोदर केसी, सागर विक, विवेक कुँवर, हिमबहादुर जिसी र सहचालक अमृत चौधरी तथा कृष्णबहादुर बिसीलाई गोवधमा अनुसन्धान गर्न म्याद दिएको हो।  यस्तै नगरपालिकाका एक कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।

‘सुर्खेतको धुलियाबिट र कटकुवा क्षेत्रको भीरबाट खसालेर गाई मारेको अभियोगमा गोवध मुद्दा दायर गरेका छौं,’ प्रहरी नायब उपरीक्षक रवि रावलले भने, ‘अनुसन्धानका लागि सम्मानित अदालतले सात दिनको म्याद दिएको छ। ’

 

नेपालगन्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत हरि प्याकुरेल पनि गोवध घटनामा मुछिएका छन्।  उनलाई पनि अनुसन्धानको दायरामा ल्याउने प्रहरीको तयारी छ।

नेपालगन्ज उपमहानगरपालिकाले आफ्नो कान्जीहाउसमा रहेका मध्ये तीन सय ७० गाई, केही गोरु र बाच्छाबाच्छीलाई दैलेखको भैरवी गाउँपालिका–१ को श्रीस्थान पु¥याउन खोजेको थियो।  सम्बन्धित स्थानीय तह र श्रीस्थान मन्दिर व्यवस्थापन समितिसँगको समन्वयबिनै लैजान लागिएका गाई वीरेन्द्रनगरको भेरी पुलदेखि कुटकुवा क्षेत्रका विभिन्न जंगल र भीरमा बिहीबार राति साढे १२ बजेदेखि शुक्रबार बिहान चार बजेबीचमा झारिएको थियो।  त्यस क्रममा ३५ वटा गाई मृत अवस्थामा फेला परेका थिए।

गाई झारेर फर्कंदै गरेका आठ ट्रकमध्ये प्रहरीले बबईबाट पाँच ट्रकसहित सातजनालाई पक्राउ गरेको थियो।  प्रहरीले तीनवटा ट्रक, तिनका चालक, नेपालगन्ज उपमहानगरपालिकाअन्तर्गतको नगर प्रहरीका प्रहरी निरीक्षक सूर्य बोगटीसहितलाई खोजिरहेको छ।  स्रोतका अनुसार नेपालगन्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत हरि प्याकुरेल पनि गोवध घटनामा मुछिएका छन्।  उनलाई पनि अनुसन्धानको दायरामा ल्याउने प्रहरीको तयारी छ।

प्रहरीले अहिलेसम्म जिल्ला प्रशासन कार्यालय बाँकेको ‘चौपाया व्यवस्थापन सम्बन्धमा’ भन्ने बेहोराको मात्रै पत्र प्राप्त गरेको छ।  ‘उपमहानगरपालिकाले जिल्ला प्रशासन कार्यालय बाँकेलाई दिएको पत्र, सुर्खेतमा छोडिएका गाईहरुको निरोगिताको प्रमाणपत्रलगायतका कागजात पनि खोजी गरिरहेको छ।  प्रदेश प्रहरी कार्यालयका प्रमुख पूर्णचन्द्र जोशीले गौहत्यासँगै पशु ढुवानी मापदण्डलाई पनि आधार मानेर अनुसन्धान हुने बताए।  जोशीले भने, ‘गाई ढुवानीसँग जोडिएका सबैलाई अनुसन्धानको दायरामा ल्याएर कारबाही प्रक्रिया अघि बढाउँछौं। ’

अधिकारकर्मीहरु गौहत्या घटनामा कर्मचारीमाथि मात्रै नभएर जनप्रतिनिधिमाथि पनि अनुसन्धान गर्नुपर्ने बताउँछन्।  अधिवक्ता एवं मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्रध्यापक दुर्गाप्रसाद सापकोटाले सामूहिक गौहत्यालाई गम्भीर रुपमा लिएर अनुसन्धान थाल्नुपर्ने बताए।  ‘अहिले ट्रकका चालक र सहचालकलाई मात्रै पक्राउ गरेर मुद्दा प्रक्रिया अघि बढाइएको छ’, उनले भने, ‘यो गम्भीर घटना हो।  यस्ता कार्यमा साना कर्मचारीले निर्देशन पालनामात्र गरेका हुन्।  निर्देशन दिने र निर्णयकर्तादेखि सबैलाई अनुसन्धानको दायरामा ल्याइनुपर्छ। ’ उनले कर्मचारी एक्लैले यस्तो गम्भीर विषयमा निर्णय गर्न नसक्ने भएकाले उपमहानगर कार्यपालिकाका सबै पदाधिकारीमाथि पनि अनुसन्धान गर्नुपर्ने बताए।

प्रकाशित मिति: : 2019-09-02 07:06:55

प्रतिकृया दिनुहोस्