तिहार

तराईमा तिहारको रम–झम

Breaknlinks
Breaknlinks

दसैँको धुमधाम सिद्धिएपछि दीपावलिको रमझम सुरु हुन्छ। पहाडको गाउँ–ठाउँमा सरसफाइ तथा रङ–रोगन दसैँभन्दा पहिले नै भइसकेको हुन्छ भने तराईका गाउँहरुमा सो कामहरु दसैँपछि र तिहारअघि मात्र हुन्छ।

तराईका गाउँहरुमा पक्की घरहरुमा रङ्गरोगनको, सर–सफाइको काम सुरु हुन्छ भने कच्ची घरहरुको लिपपोता तथा वरिपरिका घाँस–पात, झाडङ्खरको सफाइको काम सुरु हुन्छ। धेरै वर्षात् हुने नक्षत्रहरु हालै सिद्धिएको तथा पर्याप्त वर्षात् भएको हुनाले वर्षात्को कारणले बिग्रिए, भत्किएका फुसको पर्खाल (टाटी) मा माटोले लिप्नेपोत्ने काम आवश्यक भएको हुन्छ।

फुसको टाटीमा बान्हा चलाएर दुरुस्त पारिन्छ। मटखोनाबाट माटो ओसार्ने काममा गाउँघरका महिला, युवती तथा किशोरीहरुलार्ई भ्याइनभ्याई भइरहेको हुन्छ। माटो ओसारेर त्यसमा पराल वा गहुँको भुस मिसाइ पानी हालेर कादो तयार हुन्छ। त्यही कादोले फुसको पर्खाल (टाटी) लिप्ने (मसिनल) काम हुन्छ।

त्यो लेवार सुकेपछि गोबर र माटोको महिन हिलो बनाएर छेवछल (plaster) गर्ने काम हुन्छ। त्यसपछि पहेँलो माटोको घोल बनाएर पोत्ने काम हुन्छ। यस प्रकारले पुरानो घर पनि नयाँजस्तो भएर आउँछ।

कात्तिक महिनाको कृष्ण पक्षको तेरश तिथिदेखि यमपञ्चक सुरु हुन्छ। तेरशको दिनलार्ई ‘धनतेरश’ भन्दछन्। यस दिन सुन, चाँदी, पित्तल, तामा, स्टील वा आल्युमुनियमजस्ता गच्छेअनुसारको धातुको भाँडो वा गरगहना घरमा भित्र्याउँदा शुभ हुन्छ भने जनविश्वास रहेको छ।

चतुर्दशी तिथिलार्ई नरक चतुर्दशी वा जमदियरी भन्दछन्। यस दिन रात्री समयमा खानपिनपछि एउटा सिङ्गो दीयो बालेर गोबरको मानमाथि (गोबर थुपार्ने राश) अक्षता, फूल तथा सिक्काका साथ राखिन्छ। भोलिपल्ट बिहानै कसैले न देख्ने गरी त्यो सिक्का टिपेर खल्तीमा राखी जुवा खेल्न गएमा हारिँदैन भने अन्ध विश्वास रहेको छ।

तेश्रो दिन लक्ष्मी पूजा हुन्छ। साँझपख घर–घरमा पाकेको माटाको दियरी घरको कुनाकाप्चा तथा कौसीमाथि लहरै बालिन्छ। गच्छेअनुसारका विभिन्न किसिमका पटाका, छुडछुडी, बम तथा रकेट उडाएर मनोरञ्जन हुन्छ।

गृहस्थको घर–घरमा दाल, भात, दही तथा विभिन्न किसिमका तरुवा, पकौडी, पापड, अचारजस्तो परिकार तयार हुन्छ, जसलार्ई सबैभन्दा पहिले गाई–गोरुलाई खुवाएर मात्र घरका मानिसले खान्छन्।

गृहस्थीहरुको हली आएर गाईगोरुका सिँङमा तेल लगाइदिन्छ। यसै बेला कुनै गोठबाट भोजपुरी गीतको आवाज आउँछ– भइया रे...! केकर खोनावल हउंअ‍े सागर पोखरवा , केकर बन्हावल हउंअ‍े आँट रे..बाजन बोल..।

गीतको कडी सुनिसकेपछि अर्को गोठबाट जवाफ आउँछ, ‘भइया रे..! आरे भाइ...! राजाके खोनावल हउंअ‍े सागर पोखरवा, रानी के बन्हावल हउंअ‍े आँट रे.. बाजन बोल।’ यस प्रकारले घण्टौँ प्रश्न–उत्तर चलिरहन्छ।

अन्त्यमा, हली, हलीका छोरा–नातिहरु गृहस्थकै घरमा साथैमा खाना खान्छन्। घरमा रहेका महिलाहरुका लागि खाना घर लग्दछन। हलीले ल्याएको तेलको भाँडोबाट गृहस्थको कपालमा तेल लगाउन अनिवार्य हुन्छ किनकि त्यसो गर्दा शुभ हुन्छ। यसलाई सिँङ माथको तेल भन्दछन्। 

रात्री प्रहर वा शुभसाइतमा लक्ष्मी माताको श्रद्धा र विश्वासका साथ पूजा अराधना हुन्छ। भगवती महालक्ष्मी चल–अचल, दृश्य–अदृश्य सबै सम्पत्तिहरु, ऋद्धि–सिद्धिहरु तथा निधिहरुको अधिष्ठात्री साक्षात नारायणी हुन्। 

भगवान श्रीगणेश सिद्धि–बुद्धिका तथा शुभ–लाभका स्वामी तथा सबै अमङ्गल र बिघ्नहरुका नाशक हुन। श्रीगणेश सत–बुद्धि प्रदान गर्ने देउता हुन। अतः महालक्ष्मीका साथै गणेशको पूजनले कल्याण, मङ्गल, समृद्धि तथा आनन्द प्राप्त हुन्छ। 

महालक्ष्मी तथा श्रीगणेशको पूजनका साथै श्रीदेहली विनायक, मसिपात्र, लेखनी, सरस्वती, कुबेर, ढक–तराजू, तथा दीपमालाको पनि विधिवत पूजा गर्ने परम्पर छ।

तराईमा रहेको विश्वासअनुसार, माता लक्ष्मीको यस प्रकारले पूजा अराधना गर्दा लक्ष्मीजीका साथै उनकी बहिनी ‘दरिद्रा’ पनि आइपुग्दछिन। लक्ष्मी पूजाको रात भरि दुईटै दिदी बहिनीलाई घरमै वास गराएर रात्रिको तेश्रो प्रहरमा दरिद्रालाई घरबाट धपाइन्छ। 

यस कामको लागि घरमुली आईमाई (गृहस्थीन) नाङ्लोलाई उल्टो पारेर हँसियाले ठोकी ठटाएर– इशर रहस, दलिदर भागस... इशर रहस, दलिदर भागस... इशर रहस, दलिदर भागस...!–भन्दा भन्दै र नाङलो ठटाउँदै घरको कुना काप्चा चहार्दै अन्त्यमा लगेर गोबरको मानमा हँसिया गाड़ेपछि दरिद्राको प्रभावबाट मुक्ति पाइन्छ भने जन विश्वास छ।

चौथो दिन गोवद्र्धन पूजा हुन्छ। घरको द्वारमा घर मूलीले, घरमा रहेको गाई–गोरु, बेहरी–भखारी, सिलौटो–जातो आदिको प्रतीकको रुपमा गाईको गोबरले आकृति बनाउँछिन्। सिन्दूर अक्षताले पूजा गर्छिन्। त्यही दिन केही मानिसले भैँसीको डाढ खेलाउँछन्।

सँगुरको पूजा गर्ने बेलामा भोजपुरीको लग्न सुरु हुन्छ–सगुनी से सगुनी सगुनी सऽऽरा ..हिने, .. सगुनिया भल पावल, लगनिया अगुताइल हे...। ताहि सगुनी चलेलन ब्रह्म बाबा... बिहसत पइसिने आवास.. सगुनिया भल पावल ..., लगनिया अगुताइल हो...।

चौथो दिन बिहानै गोधन कुट्ने काम हुन्छ। गाउँभरिको गोबरको आकृतिलाई उखेलेर एक ठाउँमा ल्याएर हलोले कुटिन्छ। नानाथरि गीत गाउँदछन्। भाइलाई, दाइलाई सराप्दछन्। जिब्रोमा काँडा रोप्दछन्  र पुनः आशीर्वाद दिन्छन्। पाँचौँ दिन बजडी ख्वाएर भाइ टीका र यम पञ्चक समाप्त हुन्छ।

यसपालिको दीपावलीलाई स्वागत गर्दै हामी माता लक्ष्मीलाई प्रशन्न पारौँ–

त्वं ज्योतिस्तवं रविश्चन्द्रो विद्युदग्निश्च तारकाः। 

सर्वेषां ज्योतिषां ज्योतिर्र्दीपावल्यै नमो नमः।।                        

प्रकाशित मिति: : 2021-11-04 11:35:00

प्रतिकृया दिनुहोस्