डेंगु संक्रमितलाई शय्या अभाव : सरुवारोग अस्पतालका सात स्वास्थ्यकर्मीलाई पनि डेंगुको संक्रमण

तस्बिरः नयाँ पत्रिका

सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा डेंगु संक्रमित बिरामीको उपचारका लागि शय्या अभाव भएको छ । डेंगुको महामारी फैलिएसँगै अस्पतालमा बिरामीको संख्या बढेपछि शय्या अभाव भएको हो । सय शय्या क्षमताको टेकु अस्पतालमा २४ शय्या डेंगु संक्रमितका लागि छुट्याइएको छ । यो ‘डेंगु जोन’ भरिभराउ भइसकेको छ । तर, दैनिक १५ जना भर्ना गर्नुपर्ने डेंगु संक्रमित बिरामी आउने गरेको अस्पतालले जनाएको छ । 

शय्या अभावका कारण बिरामी अन्य अस्पताल जान बाध्य भएका छन् । सरुवारोगका बिरामीको मात्रै उपचार गर्ने अस्पताल भएकाले अन्य अस्पतालमा जस्तो एक शय्यामा दुई वा सोभन्दा बढी बिरामी राखेर उपचार गर्न मिल्दैन । देशभरबाट डेंगु संक्रमित बिरामी भर्ना हुन सरुवारोग अस्पताल टेकु आएको अस्पतालले जनाएको छ ।


 २० शड्ढया थप्ने तयारी
अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले २० शड्ढया थप्न सकिने अवस्था रहेको जानकारी दिए । तत्काल शय्या थप नगरे समस्या जटिल बन्न सक्ने भन्दै उनले सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराएका छन् ।

आपत्कालीन अवस्थामा पाँच लाखसम्मको खरिद प्रक्रियामा नगई गर्न सकिने हुनाले स्वास्थ्य सेवा विभागले तत्काल पाँच लाख मूल्यबराबरको शय्या किन्ने भएको छ । यही अवस्थामा बिरामीको संख्या बढ्दै गएको खण्डमा पाल टाँगेर उपचार गर्नुपर्ने अवस्था आउने डा. पाण्डेले बताए । चिकित्सकहरूले यसलाई खतराको संकेत भनेका छन् । देशभर पाँच हजारभन्दा बढी डेंगुका बिरामी देखा परिसकेका छन् । 

 डेंगुका बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई पनि संक्रमण 
डेंगुका बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा कर्मचारीलाई समेत डेंगु संक्रमण भएको छ । सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत सातजना बिरामी परेको सरुवारोग अस्पतालले जनाएको छ ।

संक्रमित सबै ओपिडी र इमर्जेन्सीमा कार्यरत कर्मचारी भएको अस्पतालको भनाइ छ । अस्पतालमै संक्रमित लामखुट्टेले टोक्दा कार्यरत कर्मचारीलाई सरेको हुन सक्ने अधिकारीहरूले अनुमान गरेका छन् । शुक्रराज अस्पतालका लालबहादुर वैबा, शारदा दाहाल, रवीन्द्र अर्याल र डा. असीम कँडेल तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका फिरोज महर्जन, लक्ष्मी अधिकारी र सीताराम भण्डारीलाई डेंगु लागेको छ ।

के हो डेंगु ?

  • लामखुट्टेको टोकाइबाट सर्ने एकप्रकारको कीटजन्य सरुवा रोग हो । 
  • एडिस एजिप्टाई रेलबोपिक्टर्स जातको संक्रमित लामखुट्टेको टोकाइबाट मात्रै यो रोग सर्छ ।
  • जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो रोग लाग्न सक्छ ।
  • डेंगु भाइरस डिइएन–१, डिइएन–२, डिइएन–३ र डिइएन–४ गरी चार प्रजातिको हुन्छ । एकपटक एकप्रकारको डेंगु लागिसकेपछि जीवनभर त्यसैप्रकारको डेंगु रोग लाग्दैन, तर अन्य प्रकारको डेंगु रोग भने लाग्न सक्छ र दोस्रोपटक लाग्ने डेंगु पहिलेको तुलनामा बढी खतरनाक हुन्छ ।
प्रकाशित मिति: : 2019-09-02 06:58:46

प्रतिकृया दिनुहोस्