लाम्रा संवादमा तेस्रो दिन

देउ मेरी सासुमई देउ मेरो बालो [भिडियाे]

लाम्रा संवादको अन्तिम दिन हामी सबैरै कार्यक्रम स्थल पुगेका थियौं। हामी सबेरै पुगेता पनि कार्यक्रम अबेर गरी सुरु भयो र अबेरै सकियो। हुन त कार्यक्रमको चाप खासै थिएन। आयोजकलाई उस्तो हतार पनि भएन। त्यसैले खेतका आलीमा बिहानीको पारिलो घामले तापेर जीउ रनक्क तातुन्जेल बस्यौं।

कार्यक्रम ढिलो हुनुको कारण यति मात्र कहाँ हो र ! गाउँमा मानिसहरु घरको धन्दा सकाएर कार्यक्रम स्थल पुग्ने हुँदा सँधै ढिलो गर्छन्। यस्तो लाग्छ यहाँ कार्यालय समय मध्यान्हनपछि मात्र भएको भए ठिक्क हुन्थ्यो। खैर तातेको जीउ लिएर कार्यालय छिर्दा पो मज्जा!

त्यो दिन कार्यक्रमको सुरुवात ढाल नाचबाट भयो। जुन नाच विजेताको प्रतीक हो। युद्ध जितेर आएपछि विजय उत्सवमा देखाइने नाच विस्तारै बिहेबारीका कार्यक्रममा पनि देखाउन थालियो। सायद बुहारी ल्याएर दुलाहको फर्किने जन्ति पनि आफूलाई विजेता ठान्दो हो। तर, पछिल्लो समय अत्यन्तै कम मात्रै देखाइने यो नाचलाई दुर्लभ नाचको सूचीमा पर्न नदिनको लागि थप अध्ययन अनुसन्धानको आवश्यकता खड्किरहेको छ।

जङ्गली जनावर बाँदरको नक्कल गरेर खेलिने बादुरे(बाँदरे अप्रभंश भएर हुन सक्छ) ढाल नाचले दर्शकलाई प्रसस्तै मनोरञ्ज दिन्छ। यस नाचमा बाँदरको नक्कल गरिने हुँदा दर्शकहरु प्रफुल्ल हुन्छन्। लाम्रा संवादमा देखाइएको उक्त नाच हियाँखोलाका दलितहरुले संरक्षण गरी राखेका छन्। यसका विविध पक्षहरुबारे आगामी दिनमा लेख्ने कोसिस गरिनेछ।

विजय उत्सव र बिहेमा देखाइने ढाल नाच सकियो। यसको लगतै लेखक तथा गायक खडाचन्द चौलागाईले बच्चा जन्मिदाको उत्सवमा देखाइने बालो नाचको सत्र चलाए।

उक्त सत्रमा एकातिर कालो काम्लो ओेडेकी, उमेरले पाकी, धोवीले धोएर निचोरेको कपडा जस्तै मुजा परेको गाला भएकी, रातो चोलो र टिम्के फरिया पहिरिएकी आमाहरु छन्। जसलाई हेर्दा सहजै अनुमान लगाउन सकिन्छ यिनिहरुको भूमिका सासुको हो भनेर।

अर्काेतिर कम उमेरकी, पुष्ट गाला र जीउ भएकी, हल्का उनीका पछ्यौरी ओडेकी, रातो चोलो र रच्छाया धोतिमा सजिएकी, जो बुहारीको भूमिकामा छिन्।

कुचोमा एउटा तेस्रो भाट्टो (लिष्टि) राखेर हात जस्तो देखिने, त्यसको बाहिरतिर भर्खर जन्मेका बालकले लगाउने चोलो र धोति लगाएर बच्चा आकारमा बनाइएको बालोलाई सासूहरुको समूहले समातेको छ।

गीतको उठान बुहारीहरुबाट हुन्छ। सायद बुहारी गर्भवती छिन्। त्यसैले ओसिलो जङ्गलमा उम्रीने निगालोलाई संकेत गरिरहिछिन्। उनी लामो भाकामा सुरिलो लयमा गीत गाउछिन्।

हेर्दा खेरी निगालीय एकै पाते भइछ।

उताबाट सासूको जवाफ आउँछ। सासू त्यसलाई बुहारी गर्वभवती सम्झिन्छिन्। लय उस्तै छ। भाव उस्तै छ। बिम्बहरु मौलीकताले भरिपूर्ण र उत्कृष्ट छन्। स्वर उम्दा छ। उनीहरुको स्वरको अगाडि संसारको जतिसुकै चलेको गायक नै किन नहोस् उ फ्लप खान्छ।

घर हाम्री कुल बौवा एकै मासे भइछ।

सासू बुहारीको संवाद चल्दै जान्छ। बुहरी ‘हेर्दाखेरी निगालिय दुबै मासे भइछ’ भन्दै दसै मास (महिना) भइछ सम्म पुग्छिन्। सासू ‘घर हाम्री कुल बौवा दुबै मासे भइछ’ भन्दै दसै माससम्म जान्छन् र ‘घर हाम्री कुल बौवा पर सरि भइछ’ अर्थात् सुत्केरी भएर नछुने भइछन् वा गोठमा बच्चा जन्माइन्’ भन्छन्।

विज्ञानले नौ महिनामा बच्चा जन्मिने प्रमाणित गरेको छ। तर, जुम्ली महिलाहरु बच्चालाई दस मास पेटमा राखेर हुर्काएको सगौरव भन्छन्। दस मास गर्भ र दस धारा दुध हरेकका मुखमा झुन्डिने ओझिलो शब्द हो।

सासू बुहारीको गीति संवाद, शब्द र स्वरले कलेजीमा छुरा हाने जस्तो हुन्छ। अनायासै आँखा रसाउ छन्। अन्तस्करणबाट गहिरो सुस्केरा निस्किन्छ। उक्त गीतमा एकोहोरिएको म खाली पृतिसत्ताको दृश्य मात्र आँखा अगाडि नाचिरहको देख्छु। लेखक सुजित मैनाली सती मार्फत भन्छन्,‘पितृसत्ताले महिलालाई दबाउनको लागि महिलालाई नै गतिलो अस्त्र बनाएको छ।’

यो गीतमा जब कुनै महिला सासुको भूमिकामा पुग्छे, ऊ त्यही सत्ताको ढोका पालेको रुपमा उभिन्छे। बुहारीको रेखदेख र नियन्त्रणको जिम्मा सासुलाई छ।

सानै उमेरमा बिहे गरेर आएकी, उमेर नपुग्दै बच्चा जन्माएकी र कलिलै उमेरमा पहाड जत्रो जिम्मेवारीको भारीले थिचिएकी। घरखेत, मलपर्साे, अर्मपर्म, वनपाखा, गोरू बाछा सबै गर्दा–गर्दै आफूले जन्माएको बच्चालाई हुर्काउने फुर्सद बुहारीलाई हुँदैन। त्यसैले सासू हेर्लिन भनेर छोडिजान्छन्, काममा।

कामबाट आउँदाखेरि सासूले बच्चा दिन्नन्। धेरै पटक अनुरोध गर्दा पनि आफ्नो बच्चा पाउँदिन। त्यसपछि उनि गीतबाटै सासुलाई अनुरोध गर्छिन्। चाकडी गर्छिन्। सासूले भने अनुसार लेक गाड गर्छिन्। जान्ने सुन्नेकोमा पुग्छिन्। अड्डा अदालतमा गई सोधपुछ गर्छिन्। त्यसबेलासम्म बालक भोकाइसकेको हुन्छ। तिर्खाइसकेको हुन्छु। पुनः सासूकै चाकडी गरेर खुट्टा मुन्टा गर्दा मात्रै आफ्नो बालक पाउँछिन्।

बुहारीः देउ मेरी सासुमई(आमा), देउ मेरो बालो।
सासूः क्या तेरा बालख्या(बच्चा) धराली छिया।
बुहारीः धराली छौ भनी राखी मैले गया।
सासूः क्या तेरा बालख्या, खान खर्च छियो। 
तेरो दिया दुदु भात, बिरालाले खायो। 
बुहारीः बुढी मान्छ अल्छो मान्यौ, बिरालाले खायो।
सासूः क्या तेरा बालख्या ओडेन, ओछ्यान छियो।
बुहारीः मुडा डौठी छोडिगया, ओछ्याइलौली भनी। 
सासूः तेरो दिया ओेडेन ओछ्यान, खाटौनै रहयो। 
बुहारीः गलीगली मेरी सासू, देउन मेरो बालो।
सासूः अहिले तेरो बालो, भेरीखर्क गयो।
बुहारीः भेरी खर्क हेरि आया, छैन मेरो बालो।
सासूः अहिले तेरो बालो भैंसी खर्क, गाई खर्च गयो।
बुहारीः भैंसी खर्क, गाई खर्क हेरी आया छैन मेरो बालो।
अहिल मेरो बालो, भोक भोकायो, पानी तिर्खायो।
सासूः भाँडा धोइजा, ओछ्यान लगाइजा लैजा तेरो बालो।
बुहारीः पाउमै परि ढोग्छु सासु देउ मेरो बालो।
सासूः लौ तेरो सक्या, लौ फकाई लैजा, लौ मेरो सक्या लौ फर्काई ल्याउँला।

जब सासूले बालो दिन्छिन्, त्यसपछि आफ्नो बालख्याका अगाडि आमाको बिलौना सुरु हुन्छ। त्यही बेला गाउँछिन् विरहको बलिन्द्र धारा आँसु बगाउने भाका, राउनी धाँउँधाँउँ। एक रात मात्रै होइन छैटीदेखि न्वारानसम्म लगातार गाइरहन्छिन्। हर रात राउनी धाँउँधाउँ गाउँदै व्याउँछ (उज्यालो हुन्छ)।

राउनी धाँउँधाँउँ तेरा पथ मेरा बाला राउनी धाँउँधाउँ, नाना दुख पाइन मैले राउनी धाँउँधाउँ।

नहान्याले हान्यो, नभुन्याले भुन्यो, देउडा दाग पल्टियो, बिरालो बाघ पल्टियो। पैकेला शरण पड्या, अड्डाको कारिन्दा सोध्या, गोरुको गुवालो सोध्या, मेरो बालो छ कि भन्या।

यत्तिकैमा बालो नाच सकिन्छ। सुनसान माहोलका बीचमा लामा लामा सुस्केराहरु, दविएको आवाजमा खुइया! गर्दै।

लाम्रा संवादकाे दाेस्राे दिन: मागल, चरन, हुड्केदेखि बिजुलीको सपनासम्म [भिडियाे]

प्रकाशित मिति: : 2021-11-18 18:10:00

प्रतिकृया दिनुहोस्

    संस्कृति जगेर्नामा अहम भुमिका खेल्नु हुने लाम्रा संवाद टिम र भाई महेशकाे लेखन शैली प्रति नमन ।

    • 3 बर्ष अगाडि
    • भुवन सेजुवाल

    राम्राे छ, सबै कुरा समेटिएको छ । बालाे नाचकाे तेस्राे चरणपछि चाैथाे चरणमा बालाेका शरीरका अंगहरु सम्बन्धमा आमाकाे भावना जस्तै : खुट्टै त कसा राउनि धाउँधाउँ, पिपल पात्या जसा राउनि धाउँधाउँ

    • 3 बर्ष अगाडि
    • खडानन्द चाैलागाई