जेलबाटै ‘डन’हरूको धम्की र असुली धन्दा

नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको गोली हानी हत्या गर्ने समूहका नाइके समीरमानसिंह बस्नेतले जेलबाटै धम्की र असुलीको धन्दा चलाएका छन् । सहयोगीहरू परिचालन गरी निर्माण व्यवसायीलाई नै धम्क्याएर उनले पैसा असुली गर्दै आएको खुलेपछि प्रहरीले अनुसन्धान थालेको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बस्नेतका दुई सहयोगीलाई पक्राउ गरिसकेको छ । फोन गरेर धम्क्याउने धन्दामा संलग्न पवन खड्का र सुरेन नगरकोटीलाई पक्राउ गरेको हो । उनीहरूले समीरकै निर्देशनमा आफूहरूले व्यवसायीहरूलाई धम्क्याएको स्विकारेका छन् । दुवैविरुद्ध ठगी, मुलुकी अपराध संहिताअन्तर्गतको आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन)सम्बन्धी कसुरमा मुद्दा दायर गर्न लागिएको छ । बस्नेतविरुद्ध समेत सो मुद्दा चल्ने ब्युरोका एक अधिकारीले बताए । 

स्रोतका अनुसार सिआइबीले बस्नेतसँग समेत बयान लिइसकेको छ । जेलबाट झिकाएरै बयान लिएको हो । हालसम्मको अनुसन्धानमा बस्नेतले नै निर्माण व्यवसायीको सूची दिएर धम्क्याउन निर्देशन दिएको खुलेको छ । खड्का र नगरकोटीले इन्टरनेट कलमार्फत फोन गरी पैसा माग्ने र नदिए शरद गौचनकै हालत हुने भन्दै तर्साउने गरेका थिए । धम्क्याउन प्रयोग गरिएको सिमकार्डसमेत खड्काको साथबाट ब्युरोले बरामद गरेको छ । 

बस्नेत हाल सुन्धारास्थित भद्र जेलमा छन् । जेलकै फोन प्रयोग गरी उनले धम्की र असुलीको निर्देशन दिएको प्रहरी स्रोत बताउँछ । कतिपय निर्माण व्यवसायीसँग उनीहरूले पैसासमेत लिएका थिए । सो समूहको धम्कीबाट आजित भएपछि केही महिनाअघि व्यवसायीहरू सुरक्षा माग्दै प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पनि पुगेका थिए । गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई समेत निवेदन दिएका थिए । 

अनुसन्धानका क्रममा बस्नेत, केन्द्रीय कारागारमा रहेका अर्का गुन्डा नाइके रमेश बाहुन (सुजन पौडेल) तथा जुम्ला कारागारमा रहेका रिगल ढकालबीच नियमित सम्पर्क देखिएको छ । ढकालले कारागारबाट प्रहरीकै मोबाइल प्रयोग गरी विभिन्न व्यक्तिलाई फोन गरेका थिए । उनले केही प्रहरी अधिकृतलाई समेत नियमित फोन गरेको अनुसन्धामा खुलेको छ । 

प्रकाशित मिति: : 2019-08-31 19:08:42

प्रतिकृया दिनुहोस्