हर गोधूलि साँझ बेपत्ताको सम्झना लिएर आउँछ

तस्बिरः नेपाललाइभ

रोल्पा- रोल्पा नगरपालिका-१०, धवाङकी तुला वली अहिले ३५ वर्षकी भइन्। १८ वर्षकै उमेरमा डोरबहादुर वलीसँग उनले मागी विवाह गरेकी थिइन्। विवाह गरेको १ वर्षपछि छोरी जन्मिइन्।

तुलाको जीवन संघर्ष केलाउँदै अझै अगाडि जाने हो भने ११ वर्षको छँदा उनले आमा गुमाइन्। बाल्यकालमै आमाको काख गुमाएकी तुलाले साथीहरुसँगै स्कुल जाने अवसर पनि गुमाइन्। आमाको मृत्युसँगै घरव्यवहार चलाउने, भाइबहिनीलाई हुर्काउने, पढाउने जिम्मेवारीमै समय खर्चिएकी उनले भनिन्, 'रहर त लाग्थ्यो नि!'

अभाव र जिम्मेवारीले उनलाई विवाहपछि छोडेन। २०६० साल भदौ २९ गतेको रात उनको जीवनका लागि कालो रात सावित भयो। उनले सदाका लागि श्रीमानको साथ गुमाइन्।

बितेको एक दशकका हरेक साँझ बेपत्ताका परिवारका लागि आसैआसका साँझ बने। दिनभर खेतीकिसानी गर्‍यो, बेलुका घरभित्र पस्नुअघि गोधूलिमा टोलाउँदै आफ्ना बेपत्ता भएका आफन्त आउने बाटो हेर्दै भित्र पस्यो।

आडमै सुतिरहेका श्रीमान्‌लाई तत्कालीन नेकपा (माओवादी) को एक समूहले एकैछिन काम छ भन्दै लिएर गए। पछि थाहा भयो उनलाई अपरहण गरिएको रहेछ। श्रीमान् अपहरणमा पर्दा छोरी २ वर्षकी थिइन्। बाबालाई चिन्न सक्ने भइसकेकी छोरीले अर्को बिहान उठेर बाबा पुकारेको तुलालाई अझै सम्झना छ। तर, ती अबोध बालिकालाई के थाहा उनको पुकार सुनेर बाबा फर्किँदैनन् भनेर।

'श्रीमान् फर्किनुहुन्छ कि भन्ने अझैसम्म आशा लाग्छ,' टाउको केही निहुराउँदै उनले भनिन्, 'दिनहुँजसो सम्झना आइरहन्छ। त्यसमाथि दसैंतिहार जस्ता चाडपर्वमा त उहाँ आउनुहुन्छ कि झैं लागेर बाटोतर्फ हेर्दै टोलाएर बसिरहन्छु।'

केही समयपछि श्रीमान्‌को हत्या भएको जानकारी मिल्यो। तर, तुलाको छातीमा गढेको श्रीमान्‌को सम्झना छुट्नेवाला थिएन। श्रीमान्‌कै सम्झनामा दिन बिताएको १६ वर्ष भइसक्यो उनले।

'बुवा नेपाली कांग्रेसका सामान्य कार्यकर्ता भए पनि मेरो श्रीमानलाई त राजनीतिप्रति कुनै चासो थिएन,' बितेको समयलाई उनले स्मरण गर्दै भनिन्, 'घरमै बसेर खेतीकिसानी गर्नु हुन्थ्यो। बुवाले राखेको फरक राजनीतिक आस्था नै मेरो श्रीमान्‌को हत्याको कारक बन्न पुग्यो।'

000

रोल्पा नगरपालिका-१, हरिगातिनाकी गोठी थापा सुत्केरी भएको १ महिना पनि पुगेको थिएन। २०५८ साल चैत्र २० गते साँझ तत्कालीन शाही नेपाली सेनाको एक हुल उनको घर पस्यो।

सुत्केरी स्याहारमा रहेका श्रीमान् हर्कलाललाई एकछिन काम छ भन्दै लगियो। जंगलको बाटो हुँदै गाउँका अन्य ४/५ जनालाई लिएर सदरमुकामतर्फ गएको देखेकी उनले श्रीमान् फर्किएको भने देख्न पाएकी छैनन्। त्यसयताका प्रत्येक दिन होस् या साँझ श्रीमान्‌कै सम्झनामा बित्ने गर्छन्।

हर्कलाललाई सेनाले कहाँ लग्यो गोठीको परिवारलाई अहिलेसम्म केही अत्तोपत्तो छैन।

प्रकाशित मिति: : 2019-08-30 07:26:00

प्रतिकृया दिनुहोस्