५ महिनाअघि बलात्कृत बालिका अझै विक्षिप्त अवस्थामा

तस्बिरः नेपाल न्यूज

पाँच महिनाअघि गत वैशाख १५ गते बलात्कृत भएकी धनुषा क्षिरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगरकी १४ वर्षीया बालिका अझै विक्षिप्त अवस्थामा छिन्।

काठमाडौँस्थित पाटन अस्पतालमा करिब डेढ महिना लामो उपचार पश्चातसमेत उनी मानसिक रुपमा अझै पनि सबल हुन सकेकी छैनन्। निद्रामै डराएर चिच्याउने, झस्किने, बरबराउने लगायतका मानसिक समस्याले अझै पनि पीडित बालिकालाई सताइरहन्छन्। पाटन अस्पतालको बाल मानसिक रोग वार्डमा उपचारपछि उनलाई चिकित्सकले घटनास्थल नजान दिएको सल्लाहअनुसार काठमाडौँमा राखिएको हो।

आर्थिक अवस्था कमजोर रहेका उनको बुवाले काठमाडौँमा सैलुनमा काम गरी जसोतसो भाडामा कोठा लिइ दुइटै छोरीलाई काठमाडौँमै राखेका छन्। घटना स्मरण भएलगतै घरिघरि छटपटिने ती बालिकालाई जनकपुरमा उपचार सम्भव नभएपछि काठमाडौँ रिफर गरिएको थियो। जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि वैशाख १८ गते जनकपुरस्थित धनुषा अस्पतालमा उपचारका लागि पठाइएको थियो। त्यहाँपनि उपचार सम्भव नभएपछि वैशाख २२ गते उनलाई पाटन अस्पताल पठाइयो तर प्रहरीले भने समन्वय नगरेको पीडित परिवारको आरोप छ। 
स्थानीयले इलाका प्रहरी कार्यालय महेन्द्रनगरलाई दबाब दिएपछि मात्र प्रहरीले अस्पतालमा आफ्ना प्रतिनिधि पठाए। घटनापश्चात पीडितसँगै उनकी बहिनीले समेत पढाइ छाडिसकेकी छन्। ‘पढने इच्छा छ, विद्यालय जान्छु भन्छिन् तर मानसिक रुपमा अझै विक्षिप्त छ त्यसैले स्कुल पठाएका छैनौ। अब हामीलाई छोरीको भविष्यको चिन्ता छ,’ उनको बुवाले भने।

कसरी भयो घटना ?

वैशाख १५ गते दिउँसो करिब १२ बजे पीडित बालिका घरमा पढ्दैथिइन्। खाना खाएपछि आमा बारीमा घाँस काट्न गएकी थिइन् । घरको अगाडिको ढोका बन्द थियो। आमा बारीमा गएको एकछिन नबित्दै घरको पछाडीको पर्खालबाट हामफाल्दै ४२ वर्षीय छिमेकी राजकुमार साह घरभित्र पसे। पीडित बालिका कलमा पानी ल्याउन गएकी थिइन्। घरमा पीडित बालिकाकी १२ वर्षीया बहिनी पर्खालबाट हाम फालेर भित्र पसेको देखेर डराइन्। ‘यसरी किन पर्खालबाबट हामफालेर आउनु भएको अंकल अंकल,’ उनले सोधिन्।

घरको खपडा हेर्न आएको भनेर साहले जवाफ फर्काए। त्यत्तिकैमा साहले उनलाई जबर्जस्ती गर्न थाले। पानी लिएर फर्किदा दिदीले बहिनीलाई साहले मुख थुनेर खाटमा पल्टाएको देखिन्। दिदीले बुवालाई भनदिन्छु भनेर कराइन् । तर उनी कराएको कसैले सुनेनन्। एकछिनमै १२ वर्षीया बालिका बेहोस भएर भुइँमा लडिन्। त्यसलगत्तै राजकुमारले उनको दिदीलाई मुखमा कपडा कोचे। ती बालिकाले पटक–पटक प्रतिकार गरिन्। तर साहले उनलाई बलात्कार गरे। बलात्कारपछि बालिका बेहोस भइन्।

आमा घाँस काटेर घरमा छोरीलाई बेहोस अवस्थामा देखेर झसंङ्ग परिन्। पीडित बालिकाकी आमाले उनको बुवालाई पटक–पटक फोन गरिन् । तर काममा व्यस्त भएकाले उनको बुवाले रातिमात्र फोन उठाए। लगत्तै उनी काठमाडौँबाट घर फर्किए र बदनामीको डरले दुइदिनपछि मात्र यो कुरा समाजका अगुवालाई जानकारी गराए।

मन्त्री र मेयरले घटना दबाउन खोजेको आरोप

घटनापश्चात इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा प्रहरीले मुद्दा दर्ता गर्न आनाकानी गरेको भन्दै स्थानीय आन्दोलितसमेत भए। आन्दोलनको क्रममा प्रहरी र स्थानीयबीच भएको झडपमा केही स्थानीय घाइतेसमेत भएका थिए। भौतिक पुर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख योगी पँजियारले घटना दबाउन खोजेको भन्दै स्थानीय प्रदर्शनमा उत्रेका थिए। मन्त्री महासेठ र मेयर पँजियारको साहसँग सम्बन्ध रहेकाले घटना दबाउन खोजेको स्थानीयले आरोप लगाउँदै प्रदर्शनमा उत्रेका थिए। बटेश्वर गाउँपालिका–४ घर भइ हाल क्षिरेश्वरनाथ नगरपालिका बस्दै आएका आरोपीत साह यसअघि समेत यस्ता कार्यमा संलग्न रहेको आरोप लागेको छ। विगतमा बटेश्वरमा छिमेकमै एक बालिकासँग दुस्कर्म गरी समाजमै मिलापत्र गराएपछि दुस्मनी भएको भन्दै डरले उनी बटेश्वर छाडेको स्थानीयको आरोप छ।

प्रकाशित मिति: : 2019-08-30 07:13:37

प्रतिकृया दिनुहोस्