जबज कम्युनिस्ट आन्दोलनभित्रको कार्यक्रम नै होइन

तस्बिरः शिलापत्र

अहिले नेकपाभित्र पार्टीको मार्गदर्शक सिद्धान्त बहस छ । तत्कालीन एमालेका नेता मदन भण्डारीले प्रतिपादन गरेको भनिएको जनताको बहुदलीय जनवाद र तत्कालीन माओवादी केन्द्रको २१औं शताब्दिको जनवादलाई समेटेर ‘जनताको जनवाद’ बनाउने निर्णय भइसकेको छ । तर, अझै पनि दुबै सिद्धान्तबीच कुन सर्वश्रेष्ठ भन्ने मतअभिमत जारी छ । शिलापत्रले तत्कालीन समयमा विश्वलाई दृष्टिकोण दिएको भनिएको जबजका विषयमा वामपन्थी नेता तथा विश्लेषकहरुको विचार समेट्ने प्रयास गरेको छ, बहसमा जबज शीर्षकमा । प्रस्तुत छ, यसै शृंखलाको पहिलो विचार वामपन्थी नेता/विश्लेषक आहुतिको ।

***

तत्कालीन नेकपा एमालेले आफ्नो सिद्धान्त बनाएको ‘जनताको बहुदलीय जनवाद’मा जनता भन्ने शब्द पछि थपिएको हो । सुरुवातमा यो सिद्धान्तको नाम बहुदलीय जनवाद थियो । मदन भण्डारी बहुदलीय जनवादको पक्षमा थिए भने सिपी मैनाली समूह नयाँ जनवादको पक्षमा थिए । नयाँ जनवाद पक्षधर समूहको चित्त बुझाउन जनता भन्ने शब्द थपेर जनताको बहुदलीय जनवाद बनाइयो ।

पूर्वमालेको जन्मदाता संगठन को–अर्डिनेसन केन्द्रले २०२८ को विद्रोहबाट अगाडि बढ्दै २०३५/३६ तिर आईपुग्दा ‘नयाँ जनवाद’लाई आफ्नो सिद्धान्त बनाएको थियो ।

तर, २०४४ सालतिर पुगेपछि पार्टीमा मदन भण्डारी महासचिवको रुपमा उदाए । र, पाँचौ महाधिवेशनबाट नेकपा मालेले अंगिकार गर्दै आएको ‘माओ’ विचारलाई आफ्नो पथपर्दशक सिद्धान्तबाट हटायो ।

मालेले माओ सिद्धान्त हटाइरहँदा देशमा पञ्चायत विरोधी आन्दोलन चल्यो । पञ्चायत हट्यो । पञ्चायत हटेपछि मुलुक निर्दलीय शासन प्रणालीबाट बहुदलीय राजनीतिक प्रणालीमा गयो । मुलुक बहुदलीय प्रणालीमा गइसकेपछि नै एमालेले जनताको बहुदलीय जनवाद (जबज)भन्ने सिद्धान्त अंगिकार गरेको हो ।

तत्कालीन एमालेले जबजलाई आफ्नो सिद्धान्त बनाउँदा विश्वभर क्रान्तिकारी कम्युनिस्ट आन्दोलन कमजोर हुँदै गएको समय थियो । र, विश्वभर अबको कम्युनिस्ट आन्दोलनको बाटो के हुने भन्ने विषयमा अन्योल थियो ।

यता, एमाले भारतका विनोद मिश्राहरुले बनाएको कम्युनिस्ट पार्टीको कट्टरपन्थी धार भारतीय कम्युनिस्ट पार्टी (भाकपा) लिवरेसनसँग नजिकको सम्बन्धमा थियो । त्यसकारण भारतका कम्युनिस्टले जे जस्तो नीति अंगिकार गरे नेपालमा एमालेले त्यसैको सिको गर्यो ।

उता, भारतका केही कट्टरपन्थी कम्युनिस्टले क्रमशः संसदीय व्यवस्थाभित्र शान्तिपूर्ण राजनीतिमा जाने नीति बनाइरहेका थिए । त्यही पृष्ठभूमिमा बहुदलीय व्यवस्थाभित्र शान्तिपूर्ण ढंगले कम्युनिस्ट नामको राजनीति गर्नुपर्छ भन्दै मदन भण्डारीले जबज भन्ने नीति बनाएका हुन् ।

प्रकाशित मिति: : 2019-08-28 18:16:27

प्रतिकृया दिनुहोस्