१४ मंसिरको उपनिर्वाचन : प्रदेश १ मा नेकपाको भाग्य परीक्षा

तस्बिरः अनलाइनखबर

११ भदौ, विराटनगर । प्रदेश १ का नौं स्थानमा उपनिर्वाचनको तयारी सुरु भएको छ । निर्वाचन आयोगले मंसिर १४ गते उपनिर्वाचनको मिति तोकेपछि तनि स्थानीय तह प्रमुख र ६ वडामा उपनिर्वाचनको तयारी सुरु भएको हो ।

प्रदेश १ मा सुनसरीको धरान उपमहानगरपालिका ,पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष र संखुवासभाको मकालु गाउँपालिकामा प्रमुखको पद रिक्त छ । धरानकै वडा नम्बर-७, फिदिम नगरपालिका-वडा नम्बर १, हिलिहाङ गाउँपालिका-७, मोरङको धनपालथान गाउँपालिका-२ संखुवासभाको खाँदबारी गाउँपालिका-८ र खोटाङको सकेला गाउँपालिका-३ को वडा अध्यक्ष पद खाली छन् ।

तत्कालीन नेकपा एमालेबाट निर्वाचित धरानका मेयर तारा सुब्बाको निमोनियाका कारण मृत्यु भएपछि धरान एक वर्षदेखि मेयरविहीन छ । त्यस्तै पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्वाङको सार्वजनिक कार्यक्रममा सम्बोधन गर्ने क्रममा गत माघमा मृत्यु भएको थियो । वि.सं. २०७४ साल पुस ३० गते जीप दुर्घटनामा परी खड्गबहादुर कटवालको मृत्यु भएको थियो ।

तीन प्रमुख रिक्त रहेको स्थानमध्ये दुई नेकपा र एक कांग्रेसले चुनाव जितेको क्षेत्र हो । आठ स्थानीय तहमा नौं पदका लागि निर्वाचन तयारी सुरु भएपनि सबैको ध्यान धरान उपमहानगरपालिकाले तानेको छ । ठूलो स्थानीय तह भएका कारण धरानले ध्यान तानेको हो ।

प्रकाशित मिति: : 2019-08-28 10:10:59

प्रतिकृया दिनुहोस्