पाठक प्रतिक्रिया

आमाको तासफोटो: परदेशबाट घरदेश चिहाउने आँखिझ्याल

दिलिप बान्तावा

दक्षिण कोरिया

 

'म त यतै छुटेँ, मायाको सागरमा तिमिले बाँध हालेपछी
उजाड भो मेरो जीवन, तिमिले मायामा साँध हालेपछि'

दक्षिण कोरिया आएपछी पहिलो पटक नेपालिहरुको जमघट भएको कार्यक्रममा पुग्दा कार्यक्रम हलभित्र यहिँ गित गुञ्जिरहेको थियो। निक्कै नै सुललित शब्द, लय र स्वरमा बजिरहेको यो गित सुष्मा रानाहँमाले लेखेकी हुन् भन्ने कुरा अलि पछि मात्रै थाहा भयो। त्यसरी मैले गितकारको रुपमा चिनेको सुष्मा कोरियामा आयोजना हुने साहित्यिक कार्यक्रमहरुमा नियमित र सक्रिय सहभागी भईरहने कवि हुन्। साहित्य लेखनको मुलधारले राँटो छोड्ने समुदाय, बिषय र आवाजहरुलाई आफ्नो मुख्य आवाज बनाउने उद्धेस्य बोकेको इतर आवाज साहित्य समाज दक्षिण कोरियामा आवद्ध भएर कविता लेखनमा सक्रिय सुष्माको पहिलो कविता कृति हो- 'आमाको तासफोटो'।

फिनिक्स बुक्सले हालै बजारमा ल्याएको यो संग्रहका बारेमा कविको स्पस्टिकरण छ, 'देशमा हुँदा नजिक लाग्ने आकाशका तिनै ताराहरु बिदेशमा भईरहँदा टाढा हुन् या अलि साना हुन्रु अझै ठम्याउन सकेको छैन। खेतबारिसंगै किसानलाई आफ्नो हलो, कोदालोको माया भए जस्तै हरेक मानिसलाई आफ्नो पहिचान, वर्ण, जात, धर्म, साथै थातथलोप्रतीको माया उत्कट हुँदो रहेछ।', कविको यहि भनाई संग्रहभित्रका कविताहरुले पुष्टि गर्दछन्। 

तासफोटो, आफैमा नोस्टालिक लाग्छ यतिखेरको समयमा। ३६ स्न्याप भएको रिल याशिका क्यामेरामा राखेर साँची साँची फोटो खिचेको समयले डेढ दुई दशक नाघिसकेछ। सम्झिन्छु, त्यतिबेला खिचिएका फोटोहरु कुनै दराजको फोटो एल्बममा कुचुक्क परेर बसेका छन्, कुनै फोटो गाउँको सिकुवाको भित्तामा सिसाको फ्रेमभित्र हावाले हल्लाएर गुजुमुज्ज पारामा बसेका छन्। किनभने यतिखेर गाउँमा न त हावाले हल्लाएर भत्काएको त्यो फोटो फ्रेमलाई मिलाउने मान्छे छन् न त जरुरत नै। न त छ कसैसंग दराजभित्रको फोटो एल्बम पल्टाउने फुर्सद नै। हामी सबै यान्त्रिक समयको दास भईसकेका छौँ र भइसक्यौँ सायद डिजिटलाईज्डको नाममा अल्जाईमर बिरामी। किनभने हाम्रा स्मृतिहरु यत्ती भुत्ते भईसके कि सानोभन्दा सानो कुराको जानकारी पनि आफ्नो दिमागमा राख्नै सक्दैनौँ र नै त हरपल बिद्युतिय Gadgets  को सहारा लिन बाध्य छौँ। तर सुष्मा रानाहँमाले परदेश बसेर सम्झिनुपर्ने धेरै कुराहरुलाई आमाको तासफोटो रहेको फ्रेममा सम्झिएकी छिन्।

४६ वटा लामा छोटा कविताहरु सबैले आ-आफ्नो भार थामेका छन्। संग्रहको शीर्षक शब्द 'आमा' को बारेमा धेरै वटा कविता भनिएको छ। आमा सन्तानहरुका लागि आफैमा कहिल्यै पुरानो नहुने गहकिलो शब्द त हुँदै हो। यद्यपि कतिपय अवस्थामा आमा प्रती प्रश्नहरु उठ्ने गर्दछन् समाजमा। तर लाग्छ ती प्रश्नहरु सन्तानका तर्फबाट आमाप्रती उठाईएका होईनन्। आमाको भुमिका पूरा गर्न डराउने डरपोकहरुका लागि मात्रै हो। आमा त सारा ब्रह्माण्ड हुन्।  सन्तानका लागि आमा त सार्वभौम र अक्षुण रहन्छिन्। 

'आमाकै काखमा हुर्केर म
आईपुगेँ ती समुन्द्रहरु तरेर यहाँसम्म
आज मेरै खुशिलाई पच्छ्याउँदै
चाउरिएका रेखाहरु लम्काईरहेकी छिन आमा
थुप्रै रहरहरु फुत्किसकेको अंगालो फिँजाएर
पर्खिरहेकी छिन् टाढिएका मुटुहरुलाई अंगाल्न।'
(आमाको तासफोटो)

'भोको पेटको दुस्खका डल्लाहरु फोरिरहन्थिन आमा
हुन्थ्यो पसिना र आँशुसंगै रुझ्नुको दैनिकी।'
(छोरा)

संग्रहको करिब आधा जति कविताहरु बिषयगत कम अनुभूति र आफ्नै मनसंग बढी खेलिरहेका भेटिन्छन्। ती कबिताहरु प्रबासमा मेसिनसंग आफ्नो दैनिकी दौडाईरहेका हर प्रबासिहरुको कहानी हुन्। तिनमा आफ्ना परिवार, आफन्त, प्रेयसी या आफुले पल पल समय बिताएका आफ्नै लेक बेंसिका अमिट सम्झनाहरु प्रतिबिम्बित भएका छन्।

तिमिले भात खाने झर्के थाल
अडेसिईरहेकै छ भित्तामा उसै गरि
पानी पिउने ताबे आम्खोरा एकोहोरो उभिईरहेकै छ
जाँड पिउने डबकाहरुले, घोप्टिएरै
तिमी निस्किएर हिँडेको दिशातर्फ
एकोहोरो नियालिरहेका छन्।

मन न हो सम्झना त आईहाल्छ
पाखामा बुकिफूल फुल्दा
सिरेटो चल्दा
मालिङ्गो झ्याङ्मा न्याउली रुँदा
घाम झुल्किँदा, डुब्दा।
(स्वप्निल चाह)


यतिबेला
यादहरुको छाललाई उछिनेर
मनहरुको किनारै किनार
रेगिस्तानको बालुवा बनेर तिमी उभिएको छौ
स्मृतिको तट नाँघेर बितृष्णाहरु बगिरहेका छन्
गहिरो समुन्द्रको कथाको पात्र पो हौ कि तिमी
या गढ्तीरको कहानी हौरु
अथवा
गरम जवानिको शितल शितल साँझ बिहानी हौ
थाहा छैन तिमी के के हौ?
(छाल)

छालले सोध्यो
बतासले सोध्यो
रङ् रङ् छुट्टिएर पानीले सोध्यो
अनि ढुकढुकिले खोज्यो
(तिम्रो बारे)

मान्छे न हो। हर कोहिसंग उस्तै समबेदना र मानबिय स्वभाव ब्याप्त हुन्छ। आजको प्रविधिले साँघुरो बनाउदै गईरहेको भौतिक समाज र त्यहाभित्र बाँचिरहेका रोबोट जस्ता मान्छेहरुमा अहिले देखावटी सम्बन्ध र बनावटी समभाव मात्र भेटिन्छ। जसले गर्दा हर मान्छे आज मान्छेहरुकै भिँडमा पनि नितान्त एक्लो महसुस गर्दछ। आफ्नो मनको पिर, ब्यथा, दर्द र बेदनाहरु मात्रै नभएर आफ्नो उत्साह, हर्ष र खुसिहरु समेत उन्मुक्त भएर पोख्न सकिने ठाउँ छैन। यस्तो अवस्थामा कविले यहाँ बरु निर्जिव चिजहरुलाई आफ्नो अनुभूति सुनाउँछिन्।

मेरो एक्लोपन थाहा थियो तिमिलाई
र त परदेशी ढुकढुकी छामिरह्यौ
मेरो दिनचर्या अर्थात तिम्रो मुलुकको कहानी
तिमिलाई सुनाउन पाउँदा मात्रै
कपास झैँ हलुका भएको आभास हुन्थ्यो आफुलाई
कोहि आत्मिय मान्छेलाई सुनाउदैछु जस्तै
रिक्तताहरु पखालिएर महसुस हुन्थ्यो
हर सन्ध्याले डोराउदै तिमिकहाँ ल्याउँथ्यो मलाई।
(तालपार्क)

भनिन्छ जुन माटोमा हाम्रो सालनाल गाडिएको छ त्यो माटो नै प्रीय हुन्छ। सायद आफुले पहिलो चोटि टेकेको धरतिप्रतिको कर्तब्यबोध गराउने भनाई होला यो। र सत्य कुरा यो पनि हो कि, जहाँ हामिले हाम्रो सुन्दर बाल्यकाल बिस्तारै छोडेर आयौँ, हाम्रो जवानिको श्रम र पसिना त्यही पोख्यौँ त्यो माटो जहाँको कण कणमा हाम्रो परिश्रमको अबयवहरु जोडिएका छन्, निश्चय नै त्यो माटो, त्यो ठाउँ जो कोहिका लागि प्रीय हुन्छ। चाहे जतिसुकै चमक धमक र बिकासको त्यो आकाशे उचाईमा पुगेको किन नहोस्। हामिले पौरखले भिजाएको माटो जति कहिल्यै आफ्नो लाग्दैन। संग्रहभित्रका अधिकांश कविताहरुले यहि कुराको पैरवी गरेका छन्।

मस्तिष्कको उच्च प्रयोगले भौतिक बिकास द्रुत गतिमा गर्‍यो र गरिरहेको छ आजको मानव समुदायले। तर मानबियता बिस्तारै गुणात्मक रुपमा ह्रास हुँदै गईरहेको देख्न सकिन्छ। किनभने मान्छेले भौतिक बस्तुमा आधारित बिकासको सुचकको प्रतिपादन गर्‍यो र त्यही सुचकलाई माथी पुर्‍याउन ऊ निरन्तर कुदेको कुद्यै छ। तर उसले आफ्नो मानबिय जिम्मेवारिलाई भने आफ्नै खुट्टाले कुल्चेर दौडिरहेको छ। तर यथार्थ यो हो कि मेसिनसंग चल्ने मान्छेको स्वभावले एक दिन ऊ पनि बिग्रीएको मेसिन मिल्काईए जस्तै बेकामे भएर भौतिक बिकासको बजारबाट मिल्काईन्छ। र आफ्नो जिन्दगी सास्तिको ठेलागाडामा बोकेर फुट्पाथमा बाँच्नुपर्दछ।

उमेर जस्तै ओईलिँदै गएका
फर्सिका मुन्टाहरु
सखरखण्डका पातहरु
फिँजाएर बाटो छेउ
ग्राहक कुर्न थाल्छिन् हजुर आमा।

हजुरआमा डुब्न लागेको घाम हुन्
डुब्न लागेको घामको साथी अँध्यारो साँझ हो
हजुरआमाका दौँतरी यहि अँध्यारो साँझ
र यिनै ओईलाएका सागपात हुन्।
(हजुरआमाको ठेलागाडा)

...................................................

सुन्छु
तारेभिरमा अहिले पनि
सिर्सिरे बतास चल्दा
बतास संगै उत्तिस र भीरफूलका पातहरु नाच्दा
तिनै पातहरुका लयसंगै गित गाउँछौँ रे!
दुर्भाग्य!
कतैबाट उडि आएका चराहरुले
गितका शब्द लुछेर
सेल्मे, टेम्के र चखेवा भञ्याङ्ग बेगिएपछी
तिम्रो ओँठमा रित्तो भाका मात्रै हुन्छ रे!

त्यो निर्जन एकान्तमा
कसले सुन्छ तिम्रो गितर?
नगाऊ अब त्यो पुरानो गित
बरु यो परदेशमा
भरिदिदैछु म तिम्रै गितलाई नयाँ लय
तिम्रो सम्मानमा
लेखिदिदैछु म तिम्रै भाकाका शब्दहरु।
(बाबालाई पार्सल)

आफ्नो सन्तानहरुका लागि संघर्षको कुनै पनि हद बाँकी नराख्ने बाबालाई सम्मानको पार्सल पठाएर गाउँकी लिम्दे फुफुलाई सम्झिदै कवि घरदेश फर्कन्छिन्। घरदेशमा दैनन्दिन् घटिरहेका कहालि लाग्दा असामाजिक घट्नाहरु र ती संगै चुँडिईरहेका असंख्य सपनाका कोपिलाहरुको पक्षमा शाब्दिक आक्रोश पोखिन थाल्छ। राज्यले सदियौँदेखी किनारामा बाँच्न बाध्य बनाएको सिमान्त समुदाय र बर्गका मान्छेलाई केवल मान्छे भएर बाँच्न समेत मुस्किल छ। उनिहरु बाँचिरहेका त छन् तर बैकल्पिक नागरिकका रुपमा बाँचिरहेका छन्। चाहे जातिय भन्नुस या बर्गिय या लैँगिक वा भन्नुस साँस्कृतिक वा भौगोलिक सिमानाका हिसाबले। राज्यको केन्द्रिय आँखाको 'स्पट लाईट' ले जहाँ-जहाँ देखाउँछ त्यसैलाई मात्र देश ठान्नेहरुका लागि संग्रहको मध्यभागपछिका कविताहरु पेचिलो लाग्न सक्छन्।

कानुन लाग्ने भनेको त गोरु काट्नेलाई हो
बलात्कार गर्नेलाई होईन
हत्यारा लोग्नेलाई होईन
हैन भ्रष्टाचारिलाई
यस मानेमा कि यो देश उनिहरुको हो।
(सम्झनाहरुलाई सम्झना)

जतिबेला
आरनमा फलाम पिटिरहेथ्यौ तिमी
जोरजोरले पिटिरहेथ्यौ
र फलामको आवाजमा
तिम्रो चीत्कार मिसिएर झनै कर्कश हुँदै थियो।

भोटको लालसामा केही रोज्न लगाए भने
अरु केही नमाग उनिहरुसंग
र आशा पनि नगर
सिर्फ
स्वतन्त्र भएर बाँच्न पाउने
तिम्रो खोसिएको अधिकार माग
(स्वस्तिक आशाहरु)

ढुक्क नहुनु
फूलको बीभत्स हत्या गरेर फालेँ भनेर
बरु होसियार हुनु।
फूलका लाशहरु ब्युँझिए भने
पक्कै बिजाउनेछ तिखा काँडाहरुले
(सम्झिनु)

अनि यसैमा जोडिएर आउँछ लैँगिक असमानताको मुद्धा। लैंगिक बिभेदका बिरुद्ध भएका र भईरहेका बिद्रोहहरुका कुरा। यसको फेहरिस्त छोटो छैन न त सिमित नै। संरचनागत हिसाबले हाम्रो सम्पुर्ण प्रणालिमै स्थापित पुरुष प्रभुत्वबादी ब्यबस्थामा महिलाहरु कत्ती प्रताडित छन् र उनिहरु कुन मनस्थितिमा बाँच्दछन् भन्ने कुरा यी हरफहरुले बताउँछन्।

सुन
म भोक सहन सक्छु
तिर्खा सहन सक्छु
निन्द्रा सहन सक्छु
पीडा सहन सक्छु
मसंग यी सब सहन सक्ने आदत छ
अहँ
म सक्दिनँ
अन्याय सहन सक्दै सक्दिनँ
कसैको अत्याचार सहन्न मँ
(नारी)

कथित आधुनिक समयमा मान्छे स्वतन्त्र भएको भ्रममा बाँचिरहेको छ। तर ऊ त्यही आधुनिकताको दास भएको कुरा स्विकार्न तयार छैन। मान्छे किस्ता किस्तामा आफ्नो जिन्दगी बाँचिरहेको छ। यतिखेर सग्लो जिन्दगी बाँचिरहेको मान्छे भेट्नु 'मुस्किल हिं नहिं ना मुम्किन् है' । एउटै मान्छेलाई २४ घन्टा मात्रै निगरानी गर्नुभयो भने उसका २४ वटा स्वरुपहरु देख्नुहुनेछ र दुबिधामा पर्नुहुनेछ कि आखिर यो मान्छे हो चाहिँ केरु दुनियालाई रंगिन जिन्दगी बाँचेको देखाउने मान्छे स्वयं भने कत्ती खण्डहर भएर बाँचेको हुन्छ, त्यो त हामी आफै प्रमाण छँदैछौँ। अर्थात दुनियासंग लुके पनि खुदसंग लुक्न सक्दैन मान्छे।

यतिबेला
कसैको स्केच कोर्न यो हात तम्सिएर
मनको खुला एक पानामा
आफ्नै रगतको मसि चोबिरहेको छ
आफ्नै रगतको मसि मात्रै चोबिरहेको छ।
(रातो स्केच)

नेपालको राजनैतिक र साँस्कृतिक मैदानमा पहिलो पटक सबै भन्दा धेरै चर्चामा आएको बिषय छ 'खुवालुङ्'। देख्नेहरु यसलाई केवल सप्तकोशी बन्न लागेको (अरुण, तमोर र दुधकोशिको संगम) त्रिबेणिमा पानीको बिचमा अड्किएको भिमकाय ढुंगा देख्दछन्। तर किरात सभ्यतालाई आफ्नो ठान्नेहरु सो ढुंगालाई आफ्नो प्रागऐतिहासिक थलोका रुपमा पबित्र र महत्वपुर्ण ठान्दछन्। किरात सभ्यताको सगोल आस्थाको प्रतीक मानिएको खुवालुङ्को चर्चा बिना मुन्धुम पुर्ण हुन सक्दैन। मुन्धुम यो सभ्यताको जीवन पद्धती हो। 'आमाको तासफोटो' भित्र यहि मुन्धुमका लयहरु भेट्न सकिन्छ केही कविताहरुमा।

कसले चुँडाउन खोज्दैछ तानको धागो?
र कसले च्यात्न खोज्दैछ बोजुले बुनेको फेङ्गा?
कसले मेट्न खोज्दैछ मेरो मुन्धुम?
र कसले मार्न खोज्दैछ मेरो लयदार भाषा?
अहो, मेरो साकेला?
आमाले तान बुन्दा बुन्दै जन्मिएकी हुँ म।
(आदिबासी)

रैछाकुले
तिमिले रचेको सृष्टि
आज यसरी जगतमा फैलिएका छन्
तिमिले खिपेर बनाएको
बजाएको बिनायोका धुनहरु
अझै गुन्जदैछन्
तिमिले खनेका बाटाहरु तन्किदै अझै परपरसम्म।
(तयामा)

घरमाथिको मेरिलाभो
घरछेउकै केराको पात
मुन्धुमी हावाले फर्फराएपछी
सदा झैँ ट्याम्केको कापबाट उदाउँछ घाम
तब शुरु हुन्छ घर घरमा
तुवाचुङ् र साकेला थानहरुमा
ढोल झ्याम्प्टाहरु बज्नु।
(उभौली उधौली)

समग्रमा 'आमाको तासफोटो' समकालिन समयको 'अलार्म' हो।  यसले बाध्यताबस परदेसिएकाहरुको मनको बिरह बोलेको छ। बिछोडिएका मनहरुको सुसेली कथेको छ। संगै पछिल्लो डेढ दुई दशक यता जबर्जस्त ढंगले नेपाली समाजमा बहसको केन्द्र खोज्दै मडारिरहेको पहिचानको बिषयलाई मुलभुत रुपमा समाबेश गरेको छ। क्लिष्ट तथा परम्परागत बिम्ब, मिथक र सौन्दर्यको पक्षबाट हेर्दा संग्रहभित्रका कविताहरु वाहियात लाग्नु अस्वभाविक छैन। सुष्मा रानाहँमाहरुको अभियान नै त्यो परम्परागत प्रबाहमा बगिरहेको एउटै खाले रंगमा सबै खाले रंग मिसाएर अझ सुन्दर प्रवाह बनाउनु हो। त्यो अभियानका लागि यो संग्रह मजबुत इँटा बन्नेछ। 

यति हुँदा हुँदै पनि संग्रह पढिसकेपछी केही अपेक्षाहरु जागै रहेको आभास हुन्छ। कतिपय कविताहरु आवस्यकताभन्दा अलि बढी लामो भएका हुन् कि। कविताहरुको  भाव सबल हुँदाहुदै पनि धेरै ठाउँमा अभिब्यक्तिका तरिकाहरु चित्त बुझ्दो लाग्दैनन्। त्यसकारण कविताको भाव र संरचनागत सौन्दर्यलाई समायोजन गर्न सके अझ शक्तिशाली बन्नेछन्। पानीको छालले जति धेरै हिर्काउँछ त्यति नै किनाराको ढुंगा सुन्दर बन्दछ। त्यसैले कविताहरुको हरेक पङ्तिमा कवि मनको छाल बिना उद्विग्न पटक पटक ठोक्किइरहेमा अझै सुन्दर बन्ने कुरामा दुईमत नहोला।

लेखक:   सुष्मा रानाहँमा
कृति:     आमाको तासफोटो
बिधा:     कविता संग्रह
मूल्य:      रु.२७५
प्रकाशक: फिनिक्स बूक्स

प्रकाशित मिति: : 2021-03-20 14:06:00

प्रतिकृया दिनुहोस्

    Contents were really outstanding, I felt like I was playing in my village home yards, mom is sitting on back side and looking at me...

    • 3 बर्ष अगाडि
    • Rakesh nalbo