हतुवागढी, एउटा ऐतिहासिक भुगोलको नाम हो। नेपालको भौगोलिक एकिकरण अघि स्वशासित राज्य रहेको यो ठाउँ भौगोलिक सुन्दरता र साँस्कृतिक विविधताको द्योतक हो।
तत्कालिन किरात राज्यको महत्वपुर्ण गढी र दरबारहरु सँगै तिनको विभिन्न मिथक र मान्यताहरू पनि मौखिक रुपमा अद्यापी जिवितै छन्। तर ती चिजहरुको लेख्य परम्परामा भने हतुवागढी निक्कै सुस्त रह्यो।
भोजपुर जिल्ला पञ्चायतका प्रथम सभापती भुइँदल राई (किरात थाम्पुक ल्हिम) लेख्य सृजनाको ईतिहासमा सबैभन्दा अगाडी आउने नाम हो। उहाँले आफ्नो जीवनकालमा विभिन्न विधाका करिब सय वटा पुस्तक प्रकाशन गर्नुभयो। उहाँपछि लेख्य सृजनामा उल्लेखनीय नामहरु हतुवागढिबाट अगाडि देखिएनन् लामो समयसम्म। सायद अवसरको कमी, सम्पर्क समन्वयको अभाव वा लय मिलाईदिनेहरु नभएर। तर सृजनशिलता हराएको वा नभएको भने होईन।
पछिल्लो समय सुचना तथा सञ्चार प्रविधिको व्यापक पहुँचपछि भने हतुवागढीबाट एकपछि अर्को सर्जकहरूको आगमनको क्रम जारी छ। यो अत्यन्तै सुखद खबर हो। अझ अहिलेको लोकप्रिय सृजनाको विधा कवितामा निक्कै ऊर्जावान र शसक्त लेखन देखिन्छ हतुवागढिको। हतुवागढीमा यति विघ्न र शसक्त कविताहरू के कसरी आउँदैछन् भन्ने सवालमा जस लिनेहरूको कमी छैन। तर खास जस कसले लिने ? अहिलेका नयाँ पिढीहरूले यसका लेखाजोखा गर्दै होलान्, नभए नि भविष्यले मुल्यांकन गर्ने नै छ।
हिजो गौण रहेका सर्जकहरूको एकपछि अर्को आगमन हुनुले पक्कै हतुवागढीको साहित्याकाश हालसम्मकै उच्च लयमा रहेको मान्नुपर्दछ। भविष्यले यो लयलाई हतुवागढीको साहित्यलाई स्वर्णिम युगको रूपमा व्याख्या गर्नेमा दुई मतै छैन। एउटा पालिकामा ३/४ वटा साहित्यिक संस्था सक्रिय हुनु मामुली कुरो हैन। केही मुलधारे कार्यक्रम बाहेकका कार्यक्रमहरू समय सापेक्ष तथा विभिन्न नौलो आयामहरूका कारण त्यहाँका कार्यक्रमहरू बहुत लोकप्रिय हुने गर्छन्।
पछिल्लो समय प्राय वर्षैपिच्छे केही न केही गरिरहन्छ हतुवागढी। र, हतुवागढीमा केही गरौँ भन्ने पवित्र सिर्जनशील मनहरू, त्यहाँका साहित्यिक धरोहर विश्वजित चाम्लिङ राई, मेघराज राई, रुद्र राई, कृपालसिं राई लगायत सिर्जनासँगै गतिविधितिर लागि परेका छन् भने सिर्जनामार्फत हतुवागढीको चिनारीलाई थप उचाईमा पुर्याउन चन्द्रतारा, अरुण आकाश, अल्पभाषी निरु, राज हाङ्खिम, नमुना राई क, नमुना राई ख, प्रगती राई, अर्जुन राई ‘अपहेलित’, रूपेश कार्की, किसान राई, दिपा मंग्राती अहोरात्र सिर्जनालाई खिपीरहेका छन्। उता परदेशतिरबाट हतुवाली जेठा, दिलीप बान्तावा, म्यामराज मेमोरी, बलराम राईहरू पनि कम्मर कसेर सिर्जना कर्ममा लागेका छन्। र हतुवागढीमै रहेर सिर्जना कर्ममा समर्पित झण्डै छुटेको अर्को नाम हो कवि, पूर्णसन्ध्या समाधि।
पूर्णसन्ध्या समाधि बडो अनौठो स्वभावका मान्छे। उनलाई लोकप्रियताको पटक्कै लोभ छैन। लेखनमा साधना गरिरहने साधक हुन्। मेराे चाहेर नि कहिल्यै धित मरुन्जेल दोहोरो गफ हुन सकेन। उनको कविता कृति ‘टेकेर गुराँसमथि’ जब बजारमा आयो तबदेखि नै मैले उनको पिछा गर्न थालेको हुँ।
गत सालको फागुन २८ गते पात्लेपानी कला/साहित्य प्रतिष्ठान भोजपुरले उनको कविता कृतिमाथि चर्चाको कार्यक्रम राख्यो। जुन कृतिमाथि कवि तथा आख्यानकार राजन मुकारुङले बोले। त्यो बेलुकी किताबमाथि गफ गर्नु थियो भन्दै राजन मुकारुङले कम खोजेका हैनन्, पूर्णजीलाई। तर पूर्णजी दिउँसै हिँडीसक्नु भारैछ।
गत पुष–माघमा हसनपुरमा सम्पन्न ‘हसनपुर साहित्य महोत्सव–२०७७’ मा नि त्यस्तै भयो। हाम्रो अपेक्षाचाहीँ उनी अघिल्लै दिन आउनेछन् र भलाकुसारी हुनेछ। उनको सेसन भोलिपल्ट थियो, सोही दिन नै आए। उनको सेसन सकियो। त्यहाँ पनि पात्लेपानीमा जस्तै त्यो भिडमा उसैगरी पूर्णजी खोई उनको कवितामाथि केही गफ गर्नु थियो भन्दै मुकुन्द प्रयास बेलुकी उनको खोजीमा निस्किए। पूर्णजी दिउँसै चम्पट। हुन पनि उनको पुस्तक अरुकै सिफारीसमा मेरो हात परेको हो।
हसनपुर साहित्य महोत्सव सकेर घर फर्केर उनको कविता कृतिमा एकसरो नजर डुलाएँ। र, भर्खर लेखेँ। त्यो पनि एकदमै डराउँदै। किन लेखेको ? भनेको खण्डमा मैले के भन्ने ? र फेरि मैले लेख्छु भनेर उनको बक मागेको पनि हैन। तर उनको कविताहरूले छोएपछि केही नलेखी बस्न मन लागेन।
“आखिर हामी धुलो हुन्छौँ
कसिङ्गर हुन्छौँ
त्यही कुचो हौँ हामी
कुचोभन्दा बढ्ता केही होइनौँ
कसिङ्गर बढार्दा बढार्दै कसिङ्गर बन्ने
मात्र कुचो हौँ हामी।”
यो "कुचो" शिर्षकको कविताले कसको मन नछोला र? यो कविता कुनै दर्शनभन्दा कम छैन। खास नेपाली जनजीवनले भोगेको एउटा भोगाई हो, यो कविता। हामी निम्छरो तथा गरिखाने वर्गहरू साहु महाजनलाई खुशी राख्दा राख्दै आफुचाहीँ सधैँ अभावमा पिसिनुपर्ने तीतो यथार्थ बढो काव्यिक ढङ्गबाट प्रस्तुत गरेका छन्। खुशी र सन्तुष्टि पार्ने बहानामा आफुचाहीँ कष्टकर भुमरीमा रुमलिनु पर्ने शास्वत छ। यो कविता अन्य दृष्टिकोणले पनि उत्तिकै बलवान छ। यसर्थ पनि समाधिजीले कुराकानीमा भने जस्तै उनी कवि नै हुन् र कविता नै लेख्छन्। उनको कविता पढिरहँदा लाग्छ, किन यत्रो समय यी कविलाई देख्न या सुन्न पाइएन ? उनका कुनै कुनै कविताहरू यथार्थलाई जुरुक्कै बोके झैँ लाग्छ।
“हत्केलाको एउटा बिन्दुमा पूरै ब्रम्हाण्ड अटाउँछु भन्छ
समयलाई कसेर पाता गोर्खे लौरी लगाउँछु भन्छ
सृष्टिलाई झुण्ड्याएर फाँसीमा
युगको मृत्यूको रहस्य संसारलाई बताउँछु भन्छ
धरतीलाई गाड्ने चिहान धरतीमै खनाउँछु भन्छ।
यसको मतलब मान्छे
एकदिन मान्छेलाई पनि डाइनोसर बनाउँछु भन्छ।”
"डाइनोसर" शीर्षकको यो कविताले वर्तमान समयका मानिसलाई सादा कागजै भरी छताछुल्ल बनाएका छन्। हामी एक्काइसौँ शताब्दीको मान्छे भन्दै सभ्य बन्ने नाममा झनै कुण्ठित बनेर साँघुरो सोच बनाउँदै सारा ब्रम्हाण्ड आफ्नो अधिनमा राख्ने दुस्साहस गरिरहेका छौँ। जसलाई समान्य तर कलात्मक ढङ्गले शब्दमा उनेका छन्। कविता कस्तो हुने भन्ने बारेमा अहिले छलफल र बहस बेला–बेला रन्किने गर्छ। कविता कला कि विचार ? कविता सरल भाषामा लेखेर सबैलाई बुझाउने कि जटिल भाषाहरूको प्रयोग गर्दै आफुलाई प्राज्ञिक कहलाउने ? यो बहस पेचिलो बन्दै गर्दा पछिल्लो समयका कविताहरू सरलीकृत हुँदै आम सर्वसाधारण पाठकसम्म चैँ पुगेकै हो।
पूर्णजीको कविता पनि सर्वसाधारण तथा आम पाठक माझ पुग्ने कविताहरू हुन् भन्दा फरक पर्दैन। कृतिको नामको कविता उस्तै अब्बल छ। निक्कै लामो यो कवितामा कविले यो देशको विकृतिलाई छताछुल्ल पारेका छन्।
“नजन्मदै बलात्कृत मेरो अस्मिता– जन्मको काख
मृत्यु बोकेर म जन्मिएको पूर्णिमाको रात
बिर्सुँ म कसरी
टेकेर गुराँसमाथि ’
मेरो हृदय फुलेको समयको डाली
मेरो स्पन्दन खुलेको चाँदनीको लाली
मृत्युले सास फेर्न भुलेको एकछिनको पाली
बिर्सुँ म कसरी !”
'टेकेर गुराँसमाथी' शिर्षकको यो शिर्ष कवितामा कविले नजानिदो तरिकाले विद्रोह बोलेका छन्। सरल शब्दहरूको फुलबुट्टाले भरिएको गम्भिर कविता हो यो। यो कविताको गहिराइमा पुग्न हम्मेसी जो कोहीले आँट गर्दैन। अर्को "टाउकाहरू" शीर्षकको कविता पनि चोटिलो छ। यो कविताले टाउकाहरूको भीडमा आफ्नो औचित्य नरहेको अथवा विविध टाउकाहरूले स्वयमको टाउको (अस्तित्व)चाहीँ अपहरित भएको तितो यथार्थ बडो शब्दशिल्पका साथ व्यक्त गरेका छन्।
“आफू आफै ठोक्किई रहने
अनायासै झोक्किई रहने
कतै चिचिला पलाएका
कतै पाकेर आफैँलाई गलाएका
केही भरी
केही आधा
केही खाली
टाउकाहरूको भीडमा
म एउटा आफ्नै टाउको खोजिरहेछु
जो अपहरित छ।”
यी र यस्ता "वाह् ….कविता" भन्ने खालका प्रशस्तै कविताहरू छन्। जो वर्णन गरि साध्य छैन। उनको कविताहरू पढ्दै गर्दा हतुवागढीमा यति सुन्दर कविको कल्पना कसले गरेको थियो होला र ?
यति सुन्दर कविताहरूका धनी पूर्णजीलाई आम पाठकसामु पुर्याउन महत्वपूर्ण काम गर्ने हतुवाली साहित्यकार दिलिप वान्तावा धन्यवादका पात्र हुन्। यदि दिलीपजीले उनको यो कविता सङ्ग्रह प्रकाशन गर्ने हिम्मत नगरेको भए आजपनि पूर्णजीका कविताहरू उनकै कुनै कोठामा मक्किन के बेर?
"पुर्णजी को कथाहरुको मोटो पाण्डुलिपी एसएलसी पछि क्याम्पस पढ्न धनकुटा जाँदा नै हामिले पढेका थियौँ। त्यस्ता थुप्रै कथाका पाण्डुलिपीहरु, कविताका पाण्डुलिपीहरु बर्षौँसम्म दराजमा थन्किएर धमिरा चारो भएछन्। यस्ता सृजनाहरुकै पछि मात्रै लागेर जिन्दगी नचल्ने! जिन्दगीलाई चलायमान बनाउन आफ्ना सृजनाहरुलाई असरल्लै छोडेर हातमुख जोर्ने ध्याउन्नमा लागिरहनुभयो। मलाइ भने उहाँको सृजनाहरुको माया र लोभ दुबै लाग्यो। र सकेको कोसिस गरेको हुँ।" आफ्नो क्लासमेटको कृति प्रकाशन गरिदिने दिलिप पुर्णजिको बारे भन्छन्।
आफ्ना स्थानीय सर्जकप्रतिको प्रेम देखाउँदै पूर्णजीको पुस्तकमाथि कार्यक्रमहरूको आयोजना गरिदिने पात्लेपानी कला साहित्य प्रतिष्ठान र हसनपुर कला/साहित्य प्रतिष्ठान हतुवागढी पनि कविका निम्ति टर्निङ पोइन्ट हुनुपर्छ। सायद यो कुरा मैलेभन्दा नि पूर्णजीले महशुस गरेको हुनुपर्छ। अरुले त्यो हिम्मत कहाँ गर्न सक्यो र ? आ–आफ्नो गन्थन मन्थन मिलाउँदै ठिक्क छ। पूर्ण जीका अन्य कविताहरू अस्तित्व, पपीको फुल, सिउडीको फुल, बलात्कारको कविता, बन्दुकको आत्महत्या लगायतका कविताहरू पठनीय छन्।
यो सङ्ग्रहका केही कविताहरू अति नै लामा हुनु चाहीँ यसको सीमा हो। भन्नेहरुले मुद्धाहरुमा उनका कविताहरु मौन छन् भन्लान्। तर कविताले समसामयिक मुद्धा बोक्नैपर्छ भन्ने अपरिहार्यता हुँदैन, सायद। कविता कविको मुक्त हृदयको आवाज हो र पुर्णजी आफ्नो हृदयको आवाज आँखा चिम्म गरेर हावाको प्रत्येक अणु अणुमा छोडिरहेका छन भन्ने प्रतित हुन्छ।
संग्रहको प्राविधिक पक्ष केही फितलो छ। कविताको लेवलमा प्राविधिक पक्षमा केहि चुकेको देखिन्छ। पछिल्लोपल्ट पुस्तकको प्राविधिक पक्षलाई निक्कै महत्वका साथ हेर्ने गरिन्छ। कविता कृतिमा कुनै स्मारिका या संयुक्त सङ्ग्रहको झल्को दिने केही शुभकामनाहरू छन्। जसले गुदी अब्बल भएर पनि बोक्राले अलि पट्यार लाग्दो छ। कविले कसैलाई खुशी पार्न हो भने कविले अरुलाई भुमिका दिएर हैन आफ्नो कवित्व पस्केर खुशी राख्ने हो। फेरि यदि त्यही ध्येयले हो भने समाधिजीको पुस्तकप्रति खै कसले के गर्यो र ? बरु उनले नसोचेको संस्थाहरूले उत्सव, महोत्सवहरूमा आफ्नो स्थानीय लेखकप्रति गर्व गर्दै उनको कविता कृतिमाथि चर्चा गराउँदै कविको रूपमा स्थापित गराउन हरदम लागिपरेका छन्।
उनको लामा कविताले पाठकलाई पट्यार लाग्न सक्छ। स्वयं कवि पनि कुनै कुनै कवितामा अल्मिलिएको हो कि भन्ने लाग्छ। लामो कवितामा यो समस्या रहन्छ नै। यो समय हाइकुले प्रभाव जमाउँदै गरेको समय हो। यसको मतलब कविता छोटै मात्र हुनुपर्छ भन्न खोजिएको हैन तर चुस्त दुरुस्त बनाउन सकिन्छ भन्ने चाहीँ जरुर हो। यसमा हामी कविहरू सचेत हुनै पर्छ।
सामान्य सीमाहरू स्वभाविक हुन्। यही लेखको पनि सीमा होला। यो देख्ने त आम पाठक हो। यहाँभित्रका केही बाहेकका कविताहरू साँच्चै मन छुने छन्। उनको कवितामा हामी र हाम्रो जनजीवन पाउँछौँ। कवि हुनुको एउटा मज्जा नै यही हो। अन्त्यमा, पूर्णजी को अरु अब्बल कविताहरू पढ्न पाउँ। 'टेकेर गुराँस'माथि कविता कृति म जस्तै अरु पाठकको मन जित्न सफल होस्, हार्दिक शुभकामना।