संसद्‍मा गाडी किन्दा अनियमितता : नक्कली स्पीकरले यसरी खोल्यो पोल !

काठमाडौं– स्टार्ट गर्दा ख्यार्‌र आवाज आउँछ, चलाउन थालेपछि कड्याङकुडुङ गर्छ, ब्याक गियर हान्दा गियर नै फालिदिन्छ, चालक हैरान छन्, प्रयोगकर्तालाई सास्ती ।

केही समयअघि संसद् सचिवालयले संघीय संसद्का विभिन्न समिति सभापतिका लागि खरिद गरेका गाडीको अवस्था हो यो । हैरानी व्यहोर्ने प्रयोगकर्ता हुन्, प्रतिनिधिसभा र राष्ट्रिय सभाका विभिन्न १० समितिका सभापति ।

संसद् सचिवालयले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापति शशि श्रेष्ठलाई प्रदेश नं. ३–१ ००२ झ ४८७५ नम्बरको नयाँ स्कोर्पियो गाडी उपलब्ध गरायो ।

साँचो बुझेपछि चालकले गाडी स्टार्ट गरे । ब्याक गर्न खोज्दा ब्याक गियर नै फालिदियो । नयाँ गाडीमा यस्तो समस्या देखिएपछि चालकले सवारी शाखामा खबर गरे । गाडी खरिद गर्ने खरिद शाखा र आन्तरिक सेवा शाखामा पनि गुनासो पुग्यो ।

उक्त गाडी चल्न सक्ने अवस्थामा थिएन । शुरूकै दिन त्यसलाई मर्मतका लागि पठाएर कानून, न्याय तथा मानव अधिकार समिति सभापति कृष्णभक्त पोखरेलका लागि छुट्याइएको प्रदेश नं. ३– ०१ ००२ झ ४८७२ नम्बरको गाडी श्रेष्ठलाई उपलब्ध गराइयो ।

सो समय पोखरेल विदेशमा रहेकाले उनले नयाँ गाडी बुझ्न बाँकी थियो । पोखरेलले अहिले पुरानै गाडी चढिरहेका छन् ।

***

अर्को एक समिति सभापतिका लागि संसद् सचिवालयले उपलब्ध गराएको सोही लटको गाडी स्टार्ट गर्द ख्यार्‌र आवाज आयो । उक्त आवाजले चालक झस्किए । नयाँ गाडी के भएछ भनेर चिन्ता हुने नै भयो । जसोतसो गाडी अगाडि बढाए ।

केही समय चलाएपछि उक्त अस्वाभाविक आवाज त बन्द भयो तर अर्को समस्या आइपर्‍यो – गाडीको शिशा खोल्दा कतै केही ठोक्किएकोजस्तो सुनिन थाल्यो । त्यसपछि ती चालकले सम्बन्धित शाखामा खबर गरे । 

परीक्षणका क्रममा थाहा भयो – गाडीको शिशा स्पीकरसँग ठोक्किएको रहेछ । गाडीमा नक्कली स्पीकर राखिएको खुल्यो । उक्त कुरा कसरी पनि पुष्टि भयो भने स्पीकरमा स्क्रू लगाउन नमिल्दा ह्वाङ्गै प्वाल देखिएको थियो । अर्कोतर्फ शिशामा ठोक्किरहेको थियो ।

प्रकाशित मिति: : 2019-08-27 19:45:19

प्रतिकृया दिनुहोस्