महिला फुटबललाई घरेलु मैदानमा स्वर्णीम अवसर

तस्बिरः बाह्रखरी

काठमाडौं । गत चैतमा विराटनगरमा सम्पन्न पाँचौं महिला साफ च्याम्पियनसिपमा नेपाली महिला टोलीले  च्याम्पियन हुने अवसर गुमायो । घरेलु मैदान र दर्शकको भरपुर साथ पाएको नेपालले सर्वाधिक च्याम्पियन भारतको दबदबा तोड्ने अपेक्षा गरिए पनि पराजित हुन पुग्यो । भारत लगातार पाँचौं पटक च्याम्पियन बन्दा नेपाल चौथो पटक फाइनलमा भारतसँगै पराजित भयो । 

भारतलाई घरेलु मैदानमा हराउने सपना बुनेका खेलाडी निराश भए पनि अहिले त्यहि खेलाडी नयाँ अपेक्षा र लक्ष्यअनुसार अर्को चुनौतीका लागि तयार हुँदैछन् । अर्थात् अर्को अवसरको पर्खाइमा रहेका उनीहरु मंसिरमा घरेलु मैदानमा आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग)को तयारी गरिरहेका छन् । उनीहरुको लक्ष्य भारतलाई घरेलु मैदानमा हराउँदै सागको इतिहासमा पहिलो पटक स्वर्ण पदक जित्ने हो ।

 
 

 

बदला लिने रणनीतिमा रहेका खेलाडीलाई प्रशिक्षक हरि खड्काले अभ्यास गराइरहेका छन् । त्यो बेला साग खेलेका २० खेलाडीसहित खड्काले थालेको अभ्यासमा अहिले ४० खेलाडी छन् । 

खेलाडी अवस्थादेखि भारतलाई हराउने खड्काको सपना प्रशिक्षकका रुपमा रहँदा पूरा भए पनि च्याम्पियन बनाउने लक्ष्य अझै अधुरो छ । साफअघि भारतमा सम्पन्न हिरो वुमेन्स गोल्डकपमा नेपालले भारतलाई उसैको मैदानमा हराउँदा खड्का नै प्रशिक्षक थिए । तर, च्याम्पियन बनाउने सपना नजिक पुगेर पनि चुकेका खड्कालाई एन्फाले अर्को अवसर दिएको छ । 

उनी दोस्रोपटक एन्फाले दिएको अवसर खेर जान दिने पक्षमा छैनन् । “मेरा लागि यो अवसरसँगै चुनौती हो । एन्फाले मलाई विश्वास गरेर टोलीको जिम्मेवारी दिएको छ । मैले नतिजा दिन नसके नैतिकताका आधारम राजीनामा दिनुपर्छ,” प्रशिक्षक खड्काले भने । 

एन्फाले एक प्रशिक्षकलाई दुई अन्तर्राष्ट्रिय प्रतियोगितासम्मको जिम्मेवारी दिन्छ । गत वर्ष साफअघि टोलीको जिम्मेवारी पाएका खड्काले साफ च्याम्पियनसिपमा सुधारिएको प्रदर्शन गरे पनि नतिजा निकाल्न भने सकेनन् । त्यसबेला भएका कमीकमजोरीसहितको रिपोर्ट एन्फा नेतृत्वसमक्ष बुझाएका उनी अहिले त्यही पक्ष सुधारमा केन्द्रित छन् । 

प्रकाशित मिति: : 2019-08-27 08:29:43

प्रतिकृया दिनुहोस्