यस्तो छ मुटु रोग र हृदयघातको जोखिम घटाउने सस्तो औषधि

तस्बिरः एजेन्सी

चार वटा औषधिको संयोजन गरी तयार गरिएको एउटा सस्तो र दैनिक सेवन गर्ने औषधिले हृदयघात, स्ट्रोक र हार्ट फेलियरको जोखिम घटाउने देखिएको छ। विशेषगरी गरिब देशहरूमा मुटुसम्बन्धी समस्या रोकथाम गर्ने यो प्रभावकारी उपाय हुनसक्ने अध्ययनले देखाएको छ।

नयाँ ‍औषधिमा रक्तचापको दुई वटा र कोलेस्टेरोलको एउटा औषधिसहित एस्पिरिन छ। धेरै मानिसले यति धेरै औषधि किन्न वा प्रयोग गर्न सक्दैनन् । त्यसैले यो “पोलीपिल”ले सहयोग पुर्‌याउने चिकित्सकहरू बताउँछन्। यसअघि भारतमा गरिएको एक अध्ययनमा यस्तो औषधिले कोलेस्टेरोल र रक्तचाप घटाएको पुष्टि भएको छ।

नयाँ अध्ययन निकै ठूलो छ। यसको प्रमाण पनि निकै बलियो छ। किनभने अध्ययनले जोखिमका कारण मात्रै नभएर हृदयघात, स्ट्रोक र अन्य समस्या पनि ट्रयाक गरेको छ।

अध्ययनमा इरानका ६ हजार ८ सय मानिस सहभागी भएका छन्। उनीहरूको उमेर ५० देखि ७५ वर्षसम्म छ। तीमध्ये केहीलाई मुटुको समस्या छ। केहीलाई छैन। सबैलाई स्वस्थ जीवनशैलीबारे सल्लाह दिइएको छ। उनीहरूमध्ये आधालाई पोलीपिल दिइएको थियो। पाँच वर्षपछि पोलीपिल सेवन गर्ने समूहका ६ प्रतिशतलाई हृदयघात, स्ट्रोक वा हार्ट फेलियर भयो।

औषधि नदिइएको समूहका ९ प्रतिशतलाई त्यस्तो समस्या देखियो। पोलीपिलले ३४ प्रतिशतसम्म जोखिम कम गरेको देखिएको छ। सहभागीले लिइरहेका अन्य औषधि मुल्याङ्कन गरेर २२ प्रतिशत जोखिम कम भएको अनुसन्धाताले पत्ता लगाए। सबैभन्दा धेरै पोलीपिल लिनेहरू, कम्तिमा ७० प्रतिशत समयमै लिनेहरूको मुटुसम्बन्धी जोखिम धेरै घटेको छ।

कोलेस्टेरोल घटनाले सबैभन्दा धेरै फाइदा पुगेको देखिन्छ। रक्तचापमा उल्लेखनीय परिवर्तन भएन। दुबै समूहमा दुष्प्रभाव उस्तै थियो। पोलीपिल सेवन गर्नेहरूलाई खोकी लाग्दा अर्कै संस्करण दिइयो जसले चारमध्ये एकको स्थान लियो। सबै औषधिहरू सस्ता छन्।

अध्ययनको प्रतिवेदन बेलायती जर्नल लान्सेटमा बिहीबार प्रकाशन गरिएको छ। अध्ययनका लागि तेहरान युनिभर्सिटी अफ मेडिकल साइन्सेसज, एउटा फाउण्डेशन र पोलीपिल बनाउने कम्पनी आल्बोर्ज डारूले लगानी गरेको छ। 

“यो सही दिशातर्फ महत्वपूर्ण पाइला हो,” क्यानडाको म्याकमास्टर युनिभर्सिटीका डा. सलिम युसुफले भने। आउँदो वर्षसम्म सकिने पोलीपिलसम्बन्धी अर्को अध्ययन उनले नेतृत्व गरिरहेका छन्। “यसलाई हामी हरेक देशमा प्रयोग गर्न सक्छौं। हजारौं ज्यान जोगाउन सक्छौं,”उनले भने।

बेलायतको युनिभर्सिटी अफ बर्मिङघमका डा. टम मार्शलले पोलीपिल विकासोन्मुख देशहरूमा मुटु रोग रोकथाम गर्ने व्यवहारिक रणनीति भएको अध्ययनले देखाएको बताए। “एकै पटक एकभन्दा धेरै जोखिम व्यवस्थापन गर्ने यो औषधि नै सजिलो छ,” उनले भने।

तर राम्रो स्वास्थ्य स्याहारको पहुँच भएका मानिसका लागि यी लाभहरू न्यून भएको मार्शल बताउँछन्। “तर यदि तपाईं स्वास्थ्यमा पहुँच नभएको स्थानमा हुनुहुन्छ भने, यसको फाइदा उल्लेखनीय छ,” उनले भने।

प्रकाशित मिति: : 2019-08-27 07:38:34

प्रतिकृया दिनुहोस्