वाह! शहरको सडक, सार्वजनिक बस बसमा प्रश्न : हामीले तिरेको कर कहाँ जान्छ सरकार?

काठमाडौं : बौद्धका बासिन्दाले सडक नै अवरुद्ध गर्नेगरी आन्दोलन गरेपछि सहमति भयो - तत्काल पिच थालिहाल्ने। टुसालदेखि बौद्ध नजिकैसम्म कालोपत्रे भयो पनि। अरुतिर पनि तत्कालै सम्याउन थालियो। 

तर, आँखामा छारो हाल्न देखाएको सरकारी सक्रियता त्यसपछि भने तुहियो। झरी पर्दा हिलो र घाम लाग्दा धुलोको कुइरीमण्डल चाबहिलदेखि साँखुसम्मै हुने गर्छ। हिलोमा चोबलिँदै गुडेका गाडीले कालोपत्रेको निसान पनि मेटाइसकेका छन् - छपक्कै छोपेर। अनि घाम चर्किँदा पिच भएकै ठाउँमा पनि धुलाम्मे - सास फेर्नै गाह्रो।

यसबीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले धुलो यसरी रित्तियो कि मास्क लगाउनै नपर्ने उट्पट्याङ तर्क गरे। पूर्वी काठमाडौंमा बस्ने प्रधानमन्त्रीकै पार्टीका कार्यकर्तालाई रुनु न हाँस्नु बनायो यस्तो अभिव्यक्तिले। प्रधानमन्त्रीको भनाइको खण्डन गरुन्, पार्टीको खिलाफमा गइने, नगरुँ धुलो र हिलोले कहिल्यै छाडेको होइन।

समृद्ध नेपालको नारा लागेकै छ। विकासका तोडमरोड तथ्याङ्क पनि दिनेक्रम प्रोपागान्डा शैलीमा जारी नै छ। त्यसैबीच मास्क लगाउनेलाई प्रधानमन्त्रीले सरकारविरोधी पनि भनेकै हुन्। जनता आजित हुनेक्रम जारी रह्यो अहिलेसम्मै। यसैबीच झोक बस संचालकहरुले देखाउन थालेका छन्। चाबहिलदेखि साँखुसम्म जोडिने बसमा यतिखेर कालो झन्ड झै देखिन्छ। झन्डा त होइन तर कालो झन्डाको झल्को दिने फ्लेक्स प्रिन्ट बस बसमा टाँगिएको छ। त्यसमा सोधिएको छ : हामीले तिरेको कर कहाँ जान्छ?

प्रकाशित मिति: : 2019-08-26 15:47:28

प्रतिकृया दिनुहोस्