नेकपा विवाद, ओलीसँग असन्तुष्ट नेपाललाई फकाउँदै दाहाल

तस्बिरः राजधानी

काठमाडौं।  प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपाललाई अर्का अध्यक्ष पुष्पकमल दाहालले मनाउने प्रयास थालेका छन् । अध्यक्ष दाहाल र नेता नेपालबीच शुक्रबार यसै विषयमा छलफल भएको छ । दाहाल निवास खुमलटारमा भएको छलफलमा नेपाललाई फकाउँदै दाहालले पार्टी एकताको बाँकी काम टुंगो लगाउन पहल गरेका छन् ।

प्रधानमन्त्री ओलीको पार्टी एवं सरकार सञ्चालन शैलीप्रति असन्तुष्टि व्यक्त गर्दै नेता नेपालले सात बुँदे असहमतिपत्र पार्टीमा बुझाएका छन् । बिहीबार बसेको सचिवालय बैठकमा समेत ओली र नेपालबीच चर्काचर्की भएपछि सम्बन्ध चिसिएको छ ।

ओली र नेपालबीच सम्बन्ध चिसिएसँगै दुईबीचको सम्बन्ध सुमधुर बनाउन दाहाल सक्रिय भएका हुन् । दाहाल सचिवालयका अनुसार खुमलटारमा भएको छलफलमा पार्टी एकताको बाँकी काम टुंग्याउन नेपाल सकारात्मक भए पनि आफ्नो अडान भने छाडेका छैनन् ।

पार्टीमा एक व्यक्ति, एक पद हुनुपर्ने र सचिवालय कमिटीमा तत्कालीन एमालेका उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाललाई ल्याउनुपर्ने अडानमा नेपाल रहेका छन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकीकरणपश्चात् नेताहरूको जिम्मेवारी बाँडफाँडमा समेत असन्तुष्ट नेता नेपालले आफ्नो वरीयता हेरफेर गरेकोमा समेत चित बुझाएका छैनन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली उपचारका लागि सिंगापुर गएपछि एकताको बाँकी काम टुंगो लगाउने जिम्मेवारी अर्का अध्यक्ष दाहालले पाएका छन् । दाहालले सो जिम्मेवारी पाएसँगै वरिष्ठ नेतासँग सोही विषयमा छलफल गरेको उनको सचिवालयले जनाएको छ । पार्टी एकता घोषणा भएको १५ महिना बित्दासमेत एकताको केही काम टुंगो लगाउन अझै बाँकी नै छ । बाँकी काम टुंगो लगाउन दाहालले नेपाललाई सहमतिमा ल्याएर अगाडि बढ्न खोजेका हुन् ।

सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी, प्रदेश कमिटी, जनवर्गीय संगठनको नेतृत्व, जिम्मेवारी बाँडफाँडलगायतका काम नेकपाले टुंगो लगाइसकेको छ । अब बस्ने सचिवालय बैठकले पोलिटब्युरो कमिटीका साथै आयोग, मञ्च, प्रवास कमिटी, अन्य केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंगो लगाउनेछ । यसैगरी, स्थायी कमिटी, केन्द्रीय कमिटीको बैठकसमेत बोलाउने विषयमा छलफल भएको छ । तर, अध्यक्ष ओली स्वदेश फर्किपछि मात्रै स्थायी कमिटी, केन्द्रीय कमिटीको बैठक बस्ने स्रोतले जनाएको छ । एकताको बाँकी काम टुंगो लगाउँदै नेकपाले देशैभरि जागरण अभियानसमेत गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति: : 2019-08-24 07:21:43

प्रतिकृया दिनुहोस्