हिमालय–२ रूटका विषयमा छलफल गर्न म्यान्मा सहमत

तस्बिरः आर्थिक अभियान

काठमाडौं । नेपालको आकाश हुँदै अन्तरराष्ट्रिय उडानहरू गर्न सकिने ‘हिमालय–२ रूट’को प्राविधिक विषयमा थप छलफल गर्न म्यान्मा (बर्मा) सहमत भएको छ । म्यान्माको प्राविधिक समस्याका कारण यो रूट अन्योलमा परेको थियो ।  

बङ्गालको खाडीमा रहेको हवाई ट्राफिकको चाप घटाउन अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ)ले सन् २००१ देखि विकल्पका रूपमा अघि सारेको यो रूट सञ्चालनका लागि भारत र चीनसमेत सहमत छन् । म्यानमाका केही खास क्षेत्रमा सञ्चार तथा निगरानी (कम्युनिकेशन एन्ड सर्भिलेन्स) को राम्रो व्यवस्था नहुँदा यसको कार्यान्वयनमा अन्योल देखिएको थियो । आईकाओका हवाई महानिर्देशककोे काठमाडौंमा भइरहेको ५६औं सम्मेलनको ‘साइडलाइन वार्ता’मा यो विषयलाई अगाडि बढाउन म्यान्माले सहमति व्यक्त गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । म्यान्मा यस विषयमा आफ्ना प्राविधिक पक्षसँग आन्तरिक छलफल गरी त्यसको आधारमा नेपाली पक्षसँग छलफल गर्न तयार भएको प्राधिकरणका निर्देशक दीपक बरालले बताए ।  

यो रूट प्रयोगमा ल्याउन सके अन्तरराष्ट्रिय उडानहरूले नेपालको आकाश प्रयोग गर्ने र त्यसवापत कम्युनिकेशन तथा नेभिगेसन चार्ज लिन सकिने भएकाले नेपाललाई प्रत्यक्ष फाइदा पुग्नेछ । यसले दिल्लीबाट महेन्द्रनगर–काठमाडौं तथा मेचीबाट बागडोगरा–गुवाहाटी, इम्फाल हुँदै चीनको कुन्मिङ र हङकङलाई जोड्नेछ । अहिले नेपालबाट हङकङ जान बंगलादेश हुँदै जानुपर्छ । यो रूटबाट लामो दूरीको उडानमा १ सय नटिकल माइल तथा करीब २० मिनेटको हवाई दूरी घट्ने प्राधिकरणका अधिकारीको भनाइ छ । यसबाट यूरोप उडान समेत छोटो पर्नेछ । 

के हो हिमालय–२ रूट
पश्चिम महाकालीबाट नेपाल प्रवेश गरेर मेची हुँदै भारतीय आकाश जोडिने हवाई रूट नै हिमालय–२ रूट  हो । यसलाई प्राविधिक भाषामा ‘एल–६२६’ भनिन्छ । यस हवाई मार्गमा अहिले नयाँ दिल्ली लगायत काठमाडौंबाट पश्चिमी गन्तव्यमा उडान गर्ने विमान मात्र उडिरहेका छन् । नेपालको आकाश हुँदै भुटानको पारो विमानस्थलसम्म उड्ने विमानले पनि सोही मार्ग प्रयोग गर्छन् । यसमा नेपाल–कुन्मिङ–हङकङ रूट थपिएपछि हिमालय–२ को रेखाङ्कन पूरा हने प्राधिकरणका अधिकारीले जानकारी दिए ।

 

प्रकाशित मिति: : 2019-08-23 07:04:12

प्रतिकृया दिनुहोस्