ओली र नेपालबीच गर्मागर्मीको वृत्तान्त

तस्बिरः नयाँ पत्रिका

नेकपा अध्यक्ष केपी ओली स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गर्नुअघि बिहीबार बिहान ८ बजे बोलाइएको सचिवालय बैठक करिब ९ बजेबाट मात्र सुरु भएको थियो । बैठक सुरु हुनासाथ अध्यक्ष ओलीले आफू सिंगापुरमा भए पनि सम्पर्कमै रहने भन्दै अर्का अध्यक्ष प्रचण्डलाई एकीकरण र कार्यविभाजनको बाँकी काम टुंग्याउन बैठक डाकेर निर्णय गर्न आग्रह गरेका थिए । तर, त्यस्तो निर्णय सर्वसम्मतिमा गर्न ओलीको आग्रह थियो । र, सर्वसम्मतिमा निर्णय गर्ने भन्ने विषयले तत्कालै विमति सिर्जना ग¥यो । यही विषयमा अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपालबीच गर्मागर्मी विवाद भयो । 

ओली : पार्टीले निर्णय लिनुपर्ने विषयमा पर्याप्त छलफल भएकै छ । हाम्रा अर्का अध्यक्ष (प्रचण्ड)ले बैठक बोलाएर निर्णय गराउन सक्नुहुन्छ । म पनि आवश्यकताअनुसार सम्पर्कमै हुनेछु, निर्णयहरू सबैको सहमतिका आधारमा गर्नुहोला भन्ने मेरो आग्रह छ ।

नेपाल : सहमति नभए पनि निर्णय भइहाल्छ नि, मेरो सहमतिविनै अस्ति निर्णय गराउनुभएको होइन ? सहमति हुन नसके विधि र प्रक्रियाबाट भइहाल्छ । त्यसमा अनौठो केही छैन ।

ओली : अध्यक्ष तपाईं कि म ? म अध्यक्ष भएकोले मसँग सहमति लिने भनेको हो त । मैले तपाईंसँग पनि सहमति लिने भनेको छु र ? 

नेपाल : यहाँ अध्यक्ष र सचिवालय सदस्यको हैसियत बराबर हो । विधि र प्रक्रियाबाट निर्णय गर्दा सबैको एक भोट हो, सबैको मत बराबर हुन्छ । 

प्रचण्ड : यसमा विवाद नगरौँ । स्वास्थ्यलाभ र शुभयात्राको कामना गरौँ ।

नेपाल : शुभकामना त मेरो छँदै छ नि, उहाँ स्वास्थ्यलाभ गरेर छिटै फर्किनोस्, म पनि यही कामना गर्दछु ।

ओली : तपाईंको कामना चाहिँदैन, तपाईं त मलाई मरोस् भन्ने ठान्नुहुन्छ । मेरो स्वास्थ्यबारे अफवाह फैलाउँदै हिँडिरहनुभा’छ, म तपाईंको शुभकामना लिन्नँ । तपाईंको शुभकामना मलार्ई लाग्दा पनि लाग्दैन । 

नेपाल (आक्रोशित हुँदै) : मैले कहाँ भनेँ त्यस्तो ? शतप्रतिशत गलत हो । तपाईंजस्तो निकृष्ट र आपराधिक सोच राख्ने मान्छे म होइन । यही बैठकबाट तुरुन्त छानबिन कमिटी बनाऊँ, कहीँ कतै त्यसरी बोलेको एउटा मात्रै प्रमाण देखाउन सक्नुभयो भने म जस्तोसुकै सजाय भोग्न तयार छु । बरु (केन्द्रीय सदस्य) राजेन्द्र गौतमले मेराविरुद्ध सार्वजनिक रूपमै लेख्दै हिँड्नुभएको छ, बैठकले कारबाही गरोस् ।

ओली : मेराविरुद्ध पनि तपाईंले बुधबार साप्ताहिकमा के–के लेखाउँदै हिँड्नुभएको छ, त्यो पनि कारबाहीको विषय हो । तर, कसलाई गर्ने ? 

प्रकाशित मिति: : 2019-08-23 06:53:37

प्रतिकृया दिनुहोस्