सगरमाथाको गलत प्रचार गर्दै फोटो बिक्री

तस्बिरः नेपाल न्यूज

गएको वसन्त ऋतुमा सगरमाथा आरोहणका क्रममा हिलारी स्टेप र साउथ कोल क्षेत्र पुगेका आरोहीको तस्बिर म्याग्दीका निर्मल पुर्जाले गलत प्रचारसहित बेलायतमा बिक्री गरेका छन्। बेलायत सेनाबाट यसै वर्ष अवकाश लिएका पुर्जाले ३ सय पाउन्ड मूल्यमा सगरमाथाको लामको फोटो धमाधम बेच्दै आएका हुन्।

उनले वेबसाइटमै मूल्य तोकेरे नेपाल र सगरमाथाको गलत प्रचार गर्दै फोटो बिक्री गरेको पाइएको र उनलाई कारबाही गरिने पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए। सगरमाथा आरोहणका क्रममा पुर्जाले गत मे २२ गते बिहान ९ बजे उक्त फोटो आफ्नो गाइडलाई खिच्न लगाएका थिए। चुचुरो पुगेर फर्कने क्रममा उनी अगाडि उभिएर फोटो खिची बेलायतमा फोटो प्रुभ निम्सदाई लेखेर प्रिन्ट गरी बिक्रीवितरण गर्दै आएको पाइएको छ। पुर्जाले आफ्नै सामाजिक सञ्जालका एकाउन्टबाट ५ सय प्रतिमात्र बाँकी भन्दै खरिद गर्न आह्वानसमेत गरेका छन्।

sdfhgs1

सगरमाथामा मे २२ र २३ गते भएको लामलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेलायतको बिबिसी टेलिभिजनले अन्तर्वार्ता लिएको थियो। सगरमाथामा एकैपटक आरोही जाने गरेकाले ट्राफिक जाम नभएर लाम भएको पर्यटन मन्त्रालयले स्पष्ट पारेको छ। यता, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालको बद्नाम हुने गरी कुनै पनि गतिविधि गर्न छुट कसैलाई नभएको र यस्तो पाइए कारबाही गरिने बताए। सगरमाथा नेपालको मात्र नभई विश्वकै सम्पत्ति भएकाले यसको दुष्प्रचार गर्नु नहुने उनको भनाइ छ।

प्रकाशित मिति: : 2019-08-22 14:59:53

प्रतिकृया दिनुहोस्