आवश्यक परे प्रधानमन्त्रीको मृर्गौला फेरि फेर्न मिल्छ

फाइल तस्बिर

सिंगापुरबाट फर्केको १० दिन नबित्दै प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार फेरि उपचारका लागि त्यता गएका छन्। १२ वर्षअघि भारतको नयाँदिल्लीमा मृर्गौला प्रत्यारोपण गरेका ओली फलोअपका लागि बैंकक जान्थे।

साउन १८ गते उनी बैंकक छोडेर पहिलो पटक सिंगापुर गए। प्रधानमन्त्रीनिकट स्रोतहरूले ओलीले सिंगापुरमा औषधी परिवर्तन गरेको बताएका छन्। नयाँ औषधीको असर अस्वभाविक देखिएपछि प्रधानमन्त्री ओली बिहीबार फेरि सिंगापुर गएका हुन्।

यसअघिको ९ दिने सिंगापुर बसाइँका क्रममा प्रधानमन्त्री ओलीको के-के परीक्षण भयो र तिनको रिपोर्ट के आयो भन्नेबारे कुनै जानकारी दिइएको छैन।

प्रधानमन्त्री फेरि सिंगापुर जान लागेपछि सेतोपाटीका सन्जिब बगालेले वरिष्ठ मृर्गौला रोग विशेषज्ञ ऋषिकुमार काफ्लेसँग प्रधानमन्त्रीलाई हुनसक्ने समस्या र सम्भावित उपचारबारे कुराकानी गरेका छन्। डाक्टर काफ्ले २०७२ सालसम्म ओलीको स्वास्थ्य जाँच गर्थे।

डाक्टर काफ्लेसँग गरिएको कुराकानीको सम्पादित अंश:

उपचारका लागि प्रधानमन्त्री ओली बिहीबार सिंगापुर जान लागेको कुरा मैले सञ्चारमाध्यमबाट थाहा पाएँ।

पछिल्लो समय प्रधानमन्त्रीको स्वास्थ्य जाँच नगरेकाले उहाँको सबै अवस्था भन्न सक्दिनँ तर सञ्चारमाध्यममा आएको जानकारीका आधारमा उहाँको मृर्गौलामा समस्या देखिएको बुझिन्छ। अर्थात् उहाँको शरीरमा क्रियाटिन बढ्यो।

क्रियाटिन बढ्नु भनेको १२ वर्षअघि प्रत्यारोपण गरिएको मृर्गौलालाई उहाँको शरीरले रिजेक्ट (अस्वीकार) गर्‍यो। किड्नी बिग्रिन थाल्यो। अब बिस्तारै उहाँको मृर्गौलाले काम कम गर्न थाल्छ।

त्यही कारण उहाँ पहिलो पटक सिंगापुर जानुभयो होला। सिंगापुरमा के गरियो, के गरिएन, कस्तो उपचार गरियो? कुनै जानकारी गराइएको छैन। फेरि सिंगापुर जान पर्नु भनेको मृर्गौलामा देखिएको समस्या निराकरण भएन भन्ने हो।

अब प्रश्न उठ्छ- बढेको क्रियाटिन सामान्य अवस्थामा फर्किएला?

प्रधानमन्त्रीका लागि क्रियाटिन घटाउने पहिलो विकल्प हुन्छ। त्यसका लागि कुन विधि अपनाउने भन्ने बिरामीको अवस्था हेरेरमात्र भन्न सकिन्छ।

१२ वर्ष अगाडि उहाँको मृर्गौला प्रत्यारोपण भएको थियो। अहिले उहाँको किड्नीले कम काम गर्न थाल्यो। यदि उपचार गरेर सामान्य अवस्थामा फर्किन सकेन भने पनि २-४ वर्ष त यही किड्नी जान सक्छ।

अहिले नै प्रत्यारोपण गरिएको मृगौला झ्याप्पै गएर अर्को प्रत्यारोपण वा डायलोसिस नै गरिहाल्नुपर्ने अवस्था हुँदैन। उहाँको अन्य अवस्था ठीक छ। मुटु, मस्तिष्क तथा नसामा कुनै समस्या छैन। क्यान्सरजस्ता उपचार गर्न नसक्ने रोग पनि उहाँलाई छैन। यसले गर्दा पुनः प्रत्यारोपण गर्न नसकिने स्थिति देखिँदैन।

प्रत्यारोपण नै गर्ने हो भने अहिले बढेको क्रियाटिनलाई नघटाए पनि हुन्छ। किनकी क्रमिक रूपमा रिजेक्सनलाई छोड्दै लगेर जब सबै रिजेक्सन हुन्छ त्यसपछि प्रत्यारोपण गर्न सकिन्छ।

उपचार गर्ने चिकित्सकले तपाईंको किड्नी बिग्रियो, तपाईं फेरि प्रत्यारोपणमा जानुस् भनेर एकैचोटी भन्दैन। उसले प्रयास गरिन्छ नै भन्छ।

सबैभन्दा पहिला त अहिलेको मृर्गौलालाई सामान्य बनाउने प्रयास हुन्छ। सिंगापुर भ्रमण यही प्रयासका लागि होला।

मृर्गौला फेरि प्रत्यारोपण गर्नु परे पनि प्रधानमन्त्री मानसिक रूपमा बलियो हुनुहुन्छजस्तो लाग्छ। किनकी उहाँ साहसिक र हिम्मतिलो मान्छे हो। उहाँको किड्नीले जतिबेला काम गर्न छोडेको थियो त्यतिबेला पनि उहाँमा ठूलो आत्मबल थियो।

त्यतिबेला उहाँ भन्नुहुन्थ्यो-म रोगी भएर डायलोसिसमा बस्न चाहन्नँ, स्वतन्त्र हुन चाहन्छु।

मृर्गौला प्रत्यारोपण गरेपछि पनि उहाँले भेटघाट क्रममा सतर्कता अपनाउनुभएन। कतिपय अवस्थामा लापरबाही गर्नुभयो, गम्भीर संक्रमणमा पर्नुभयो तर पनि पेल्नुभयो।

नेतृत्वदायी भूमिकामा बसेको भएर पनि होला उहाँमा डर छैन। प्राय: बिरामीमा मलाई केही भइहाल्छ की भन्ने हुन्छ तर उहाँ मलाई केही हुन्न ठीक हुन्छ भन्ने पक्षमा जानुहुन्थ्यो। अहिले पनि केही अप्ठेरो पर्‍यो भने प्रत्यारोपणकै निर्णय लिनुहुन्छ जस्तो मलाई लाग्छ।

उपचारका लागि प्रधानमन्त्रीले किन सिगांपुर रोज्नुभयो होला?

१२ वर्षअघि उहाँले मृर्गौला प्रत्यारोपण हुँदा दिल्ली नेपालमा यस्तो सुविधा थिएन।

अहिले धेरै जनाले यहीँ प्रत्यारोपण गरेका छन्। ११ वर्षमा १५ सय बढीले मृगौला प्रत्यारोपण गरिसकेका छन्। प्रत्यारोपणपछि अहिले प्रधानमन्त्रीलाई देखिएजस्तो रिजेक्सन भएका व्यक्तिहरूले पनि यहीँ उपचार गरिरहेका छन्।

प्रधानमन्त्री भएकाले नयाँ प्रविधिले उपचार गर्ने ठाउँमा जान सुझाव दिइएको हुन सक्छ, जुन स्वभाविक पनि हो।

प्रकाशित मिति: : 2019-08-22 14:35:59

प्रतिकृया दिनुहोस्