दसैँकाे छैन राैनक 

महाबौद्धका व्यापारी भन्छन्: व्यापार छैन कसरी मनाउनु दसैँ? (भिडियाेसहित)

नेपालीहरुको महान चार्ड दसैँ नजिकिदैँ छ। जसकारण बजारमा सामान किनबेच गर्नेहरूकाे चहलपहल पनि बढ्न थालेकाे छ। तर दसैँ आउन सातादिन मात्र बाकिँ रहँदा पनि विगतका दसैँहरूमा जस्ताे भीडभाड देखिदैँन। 

काठमाडौंका ठूल्ठूला सपिङ मललगायत न्यूरोड, असन, चाइना टाउन, महाबौद्ध सुनसान देखिएकाे छ। माेबाइल चलाएरै व्यापारीहरू दिन फ्याल्न बाध्य भएका छन्। तीन वर्षसम्म काेराेना कहरले थलिएकाे व्यापार क्षेत्र अहिलेसम्म फस्टाउन नसकेकाे व्यापारीहरू बताउँछन्। 

बालाजुका तारा प्रसाई विगत ६ वर्षदेखि महाबौद्धमा व्यापार गर्दै आइरहेका छन्। व्यापार हुने समयमा पनि व्यापार नभएकाे कारण उनी चिन्तित छन्।

विगतका दसैँहरूमा ग्राहककाे भीड रहने उनकाे पसल अहिले सुनसान भएकाे छ। ‘पहिले त दिनभर ग्राहकहरूलाई सामान बेचेर काममा व्यस्त हुन्थेँ तर अहिले कुनै कामै छैन’ उनले बिएल नेपाली सेवासँग भने, ‘दिनभर पसल खोलेर बस्छु अनि बेलुका फर्किन्छु।’

विगतका दिनमा लाखाैँसम्मकाे व्यापार गर्ने उनी अहिले भन्छन्, ‘मान्छे घटे व्यापार पनि घट्याे।’ त्यसैगरी महाबौद्धमा ६ वर्षदेखि कपडाकाे होलसेल सञ्चालन गरिरहेका व्यापारी हुन्, भगवती शर्मा। उनकाे समस्या पनि उस्तै छ। 

बिहान पसल खाेल्नु र बेलुका बन्द गर्नु नै उनकाे दैनिकी बनेकाे छ। उनी भन्छिन्, ‘पसलमा दिनभरि बस्दा समेत व्यापार हुँदैन।’

काेराेना कालमा थाेरै भएपनि व्यापार भएकाे बताउने उनले भनिन्,  ‘कोरोनाको समयमा बरु थाेरै भएपनि व्यापार हुन्थ्याे तर अहिले घरभाँडा तिर्न पनि सकेको छैन।’ उनकाअनुसार आर्थिक समस्याका कारण व्यापार घटेकाे हाे। 

‘महङगीले दिन प्रतिदिन सबै सामानको मूल्य बढिरहेकाे छ, त्यसैले व्यापार घटेकाे हाे’ उनले भनिन्, ‘व्यापार छैन दसैँ कसरी मनाउनु?’

त्यसैगरी महाबौद्धमा कपडा पसल चलाइरहेका उद्धव भण्डारी पनि व्यापार घटेकाेमा दुखी छन्। चीनबाट पर्याप्त सामान भित्र्न नसक्दा व्यापार घटेकाे उनकाे ठम्याइ छ।  

‘विगत कोही महिनादेखि चाइनाबाट सामान भित्रिएको छैन। केही दिन अघिमात्र खुलाएको छ तर त्यो सामान पनि काठमाडौं आइपुगेको छैन’ उनले भने, ‘चाइनाबाट पर्याप्त सामान नआइपुग्दा पनि व्यापारमा कमी आएकाे हाे।’

विगतका दिनहरूमा दैनिक लाखाैँसम्मको व्यापार गर्ने उनलाई अहिले दश हजारकाे व्यापार गर्न पनि मुश्किलले हुने थालेको छ। 

प्रकाशित मिति: : 2022-09-19 22:09:00

प्रतिकृया दिनुहोस्