योग्यता नपुगेका उम्मेदवार चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा सिफारिस

बहुचर्चित चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि सिफारिस तीनैजनाको योग्यतामा प्रश्न उठेको छ । उपाध्यक्ष हुन मेडिकल शिक्षामा स्नातकोत्तर उपाधि प्राप्त गरी २० वर्ष चिकित्साशास्त्रको अनुभव लिनुपर्छ । यो स्नातकोत्तर गरेर २० वर्ष सेवा गरेको अनुभव कुनै पनि उम्मेदवारमा छैन । उपाध्यक्ष हुन अर्को पनि विकल्प छ । चिकित्सा शिक्षा अध्यापनमा कम्तीमा १० वर्षको अनुभव र स्वास्थ्य क्षेत्रमा २० वर्षको अनुभव भएका उम्मेदवार पनि योग्य मानिन्छन् । तर, त्यो दोस्रो मापदण्ड पनि तीनैजना उम्मेदवारले पूरा गरेका छैनन् । 

पहिलो नम्बरमा सिफारिस डा. सुरेन्द्र शेरचनको विशेषज्ञता नेपाल मेडिकल काउन्सिलमा सन् २०१५ मा दर्ता भएको हो । त्यसैले उनले औपचारिक रूपमा विशेषज्ञको काम गर्न थालेको चार वर्ष मात्र भएको छ । अझ उनले स्नातकोत्तर नै गरेका छैनन् उनले पोस्ट ग्र्याजुएट मात्र हुन् । पोस्ट ग्र्याजुएटलाई स्नातकोत्तर मानिँदैन । 

दोस्रो नम्बरमा सिफारिस डा. शम्भुकुमार पहारीको विशेषज्ञ दर्ता सन् २००८ मा दर्ता भएको हो । उनले सन् २००९ बाट पढाउन थालेका थिए भने, २०१५ बाट अवकाश पाएका छन् । उनको प्राध्यापनको अनुभव १० वर्ष पुग्दैन । 

तेस्रो नम्बरमा सिफारिस डा. श्रीकृष्ण गिरीको विशेषज्ञता सन् २००२ मा दर्ता भएको हो । तर, दश वर्ष मेडिकल कलेजमा पढाएको अनुभव उनीसँग पनि छैन । गिरीले पनि एमएस गरेका छन् जो दुई वर्षको मात्र कोर्ष हो । मेडिकल शिक्षामा तीन वर्षे कोर्षा मात्रै स्नातकोतर मानिन्छ । ‘सिफारिस भएका तीनैजनाको योग्यता उपाध्यक्षका लागि राष्ट्रिय चिकित्सा शिक्षा ऐनमा उल्लेख भएअनुसार पाइँदैन,’ मेडिकल काउन्सिलका एक सदस्यले भने । 

लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको संयोजकत्वमा गठित सिफारिस समितिले २९ साउनमा आयोग उपाध्यक्षका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । समिति सदस्यमा त्रिवि शिक्षण अस्पतालकी प्रा.डा. दिव्या सिंह शाह र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शिशिर ढुंगाना छन् ।

के छ काउन्सिलको नियमावलीमा  
चिकित्सा शिक्षामा विषय विज्ञ हुनका लागि नेपाल मेडिकल काउन्सिलमा विशेषज्ञ दर्ता हुनु पर्छ । सोही दर्ता भएको दिनबाट काउन्सिलले त्यस्ता चिकित्सकलाई विशेषज्ञ चिकित्सकका रुपमा मान्यता दिने गरेको छ । काउन्सिलकोे नियमावली भन्छ, ‘विषय विज्ञता भनेर काउन्सिलमा विषय विज्ञका रुपमा दर्ता भएको मितिबाट मानिने छ ।’ नेपाल मेडिकल काउन्सिलले बि.स २०५८ सालमा विशेषज्ञ चिकित्सकको नियमावली पास गरेको थियो ।

प्रकाशित मिति: : 2019-08-22 07:03:56

प्रतिकृया दिनुहोस्