प्रदेश-२ : नाम र राजधानी प्रस्ताव गर्न दलहरू गहन छलफलमा

तस्बिरः नेपाललाइभ

जनकपुर- प्रदेशसभाले तोकेको बिहीबारभित्रको समयसीमामा प्रदेश २ को नाम र राजधानी प्रस्ताव गर्न दलहरू गहन आन्तरिक छलफल जुटेका छन्। 

प्रदेश सरकारले नाम र राजधानी टुंग्याउन ढिलाई गरेपछि प्रदेशसभाको साउन २६ गते बसेको बैठकमा सभामुख सरोज यादवले भदौ ५ गतेसम्म नाम र राजधानीको प्रस्ताव ल्याउन सूचना जारी गरेपछि दलहरूबीच आन्तरिक छलफलको माहोल गर्माएको हो। 

संविधानमा दुई तिहाइ बहुमतले प्रदेशको नाम र राजधानी टुंग्याउने प्रावधान छ। तर, प्रदेश २ मा कुनै दलसँग दुई तिहाइ बहुमत छैन। त्यसैले सत्तापक्ष र विपक्ष नमिलेसम्म यो मुद्दा टुंगिन सम्भव देखिँदैन।

राजधानी जनकपुरमै राख्नेमा बहुमत देखिएपनि अहिले राजधानीबारे नयाँ धारणा पनि आएको छ। राजधानी जनकपुर बाहिर ‘नयाँ जनकपुर’मा राख्ने नयाँ प्रस्तावमा पनि छलफल हुन थालेको बताइएको छ। सत्तासीन दल समाजवादी पार्टी पनि नाम र राजधानीमा गिभ एन्ड टेकको मुडमा देखिएको छ। 

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार संसदीय दलको बैठकलाई सम्बोधन गरेलगत्तै प्रदेशको नाम र राजधानीबारे दलले पहिलो पटक औपचारिक छलफल गरेको छ। 

संसदीय दलको बैठकमा सहभागी सांसदले प्रदेशको राजधानी धनुषा तोक्ने नयाँ सुझाव प्रस्तुत गरे। प्रदेश २ को राजधानी जनकपुरमा राख्नेमा दलहरुबीच एकमत देखिएपनि धनुषा भनेर नेकपाले राजधानीबारे नयाँ बहस अघि सारेको हो। 

नेकपाका सांसदहरुले प्रदेशको राजधानी जनकपुरको विकल्पमा 'नयाँ जनकपुर' हुनुपर्ने प्रस्ताव ल्याएको बैठकमा सहभागी सांसद शारदा थापाले बताइन्।

‘राजधानी जनकपुर बाहिर नयाँ जनकपुरमा राख्ने पनि सुझाव आएको छ,’ सांसद थापाले भनिन्, ‘नयाँ जनकपुर भनेको रातु खोलाको पश्चिम र कमला नदीको पूर्वको भागलाई भनिएको हो।’ उनले नयाँ जनकपुरका लागि ढल्केबर, महेन्द्रनगर, वीरेन्द्रबजार लगायत क्षेत्रमा राजधानी राख्ने विषयमा आन्तरिक रुपमा छलफल भएको बताइन्।

प्रदेश २ मा नेकपाका ३२ सांसद छन्। संसदीय दलको बैठकमा २७ जना सांसदले प्रदेशको नाम र राजधानीबारे आफ्नो राय दिएका छन्। नेकपाका दुई सांसद जगत यादव र भरत साहले प्रदेश २ को नाम मधेस राख्नुपर्ने सुझाव दिएका थिए।

प्रकाशित मिति: : 2019-08-22 06:53:10

प्रतिकृया दिनुहोस्