रारामाथि निकुञ्जकै बदमासी, संरक्षित क्षेत्रभित्रै होटल चलाउन दिएर पर्यावरण मासिँदै

तस्बिरः नेपाल न्यूज

प्राकृतिक सौन्दर्यले भरिपूर्ण रारा ताल र त्यस क्षेत्रको वन, वन्यजन्तुको संरक्षण गर्न स्थापना गरिएको हो रारा राष्ट्रिय निकुञ्ज। तर यही निकुञ्जका कर्मचारीकै कारण रारा क्षेत्रको पर्यावरण मासिन लागेको छ। कारण हो– संरक्षित क्षेत्रभित्रै सञ्चालन अनुमति दिइएका होटल।

सरकारी तथा गैरसरकारी कर्मचारी र पाहुना बस्न बनाइएको निकुञ्ज कार्यालयको गेस्टहाउसमा ४ वर्षदेखि नेकपाका स्थानीय नेता राजु कार्कीलाई होटल सञ्चालन गर्न दिइएको छ। कार्कीले निकुञ्ज मुख्य भागमा भिलेज हेरिटेज एण्ड रिसोर्ट नाम दिएर होटल, रेष्टुरेन्ट सञ्चालन गर्दै आएका छन्। यता मुगुका राष्ट्रिय सभा सांसद गोपालबहादुर बमले पनि निकुन्जमा क्यान्टिन सञ्चालन गर्ने भन्दै १५ वर्षदेखि डाँफे होटल सञ्चालन गर्दै आएका छन्। उनले निकुञ्जभित्र थप ४ वटा दुई तले घर बनाएर होटलका लागि आवास प्रयोग गर्दै आएका छन्। पूर्व एमाले उनी नेकपा प्रदेश सदस्य हुन् भने पूर्वमाओवादी कार्की नेकपा मुगु जिल्ला सदस्य हुन्।

निकुञ्ज, विभागदेखि मन्त्रालयका उच्चनिकाय समेतको मिलेमतोमा यसरी गेष्ट हाउस र क्यान्टिनलाई होटल सञ्चालन गर्न दिएर रारा क्षेत्रको विनास गरिएको वातावरणविद्हरू बताउँछन्। छायाँनाथ रारा नगरपालिकाका मेयर हरिजंग शाहीले संरक्षणको जिम्मा पाएका कर्मचारीले नै संरक्षित क्षेत्रभित्र होटल सञ्चालन गर्न दिनुले नेपालको संरक्षण क्षेत्र र पर्यावरणमाथि प्रश्न उठेको भन्दै तत्काल त्यस्ता होटल हटाउन विभाग, मन्त्रालय र सरकारसँग माग गरेको बताए।

skech 1

शतप्रतिशत काम गलत भएको पाएको भन्दै शाहीले नगरकार्यपालिका र नगरसभामा निर्णय नै गरी हटाउन माग गरेको बताए। ‘रारा हाम्रो मात्र नभएर देशको सम्पत्ति हो यसलाई फेवा बनाउन दिन्नौं,’ उनले आक्रोस पोखे।


निकुञ्ज, विभागदेखि मन्त्रालयका उच्चनिकाय समेतको मिलेमतोमा यसरी गेष्ट हाउस र क्यान्टिनलाई होटल सञ्चालन गर्न दिएर रारा क्षेत्रको विनास गरिएको वातावरणविद्हरू बताउँछन्।


निकुञ्जसँग सम्बन्धित कुनै पनि कानुनले निकुञ्जभित्र होटल सञ्चालन गर्न अनुमती दिँदैन। ‘यहाँ एकैपटकमा १० देखि १५ वर्षसम्म अनुमती दिनुले नै कमिसनको खेल भन्ने प्रष्ट भएको छ, यो पर्यावरणविपरीत छ तत्काल हटाउनुपर्छ,’ स्थानीय सरकारको माग छ।

१० होटल खोल्ने अनुमति दिएको खुलासा

निकुञ्जले एक महिनाअघि राराको मिनिचौर क्षेत्रमा १० वटा होटल खोल्ने दिने निर्णय गरेको पाइएको छ । निकुञ्जको मध्य क्षेत्रमा रहेको मिनिचौर क्षेत्रमा होटल खोले सरकारले रारालाई निकुन्जबाट हटाएर स्थानीय जनतालाई जिम्मा दिनसमेत मेयर शाहीले माग गरे। मुगुमात्र हैन देशले नै क्षति बेहोर्ने भन्दै उनले ऐनविपरित काम गरे स्थानीय सरकारले कुनै पनि हालतमा नछाड्ने चेतावनी दिए। ‘निकुञ्ज क्षेत्रबाहिर जति पनि होटल खोल्ने ठाउँ छ, तर संरक्षित क्षेत्रभित्र खोल्नु हुन्न,’ उनले भने।

प्रकाशित मिति: : 2019-08-22 06:36:19

प्रतिकृया दिनुहोस्