एस.एल.सी उत्तीर्ण भएपछि उनले घरमा प्रस्ताव राखिन्,‘म पार्लर सिक्छु।’
तर, घरमा प्रस्ताव ठाडै अस्वीकार गरियाे,‘हुँदैन, खुरूखुरू पढ्।’
त्यसपछि त्रिचन्द्र क्याम्पसमा भर्ना भइन्। पढाइमा तेज थिइन्, राम्राे नम्बर ल्याएर आइए र बिए पनि पास गरिन् तर पनि मनले मानेन् फेरि उनले घरमा प्रस्ताव राखिन्, ‘पार्लर सिक्छु।’ फेरि पनि घरबाट सन्ताेषजनक जवाफ पाइनन्। अन्तत: उनी बम्बाईतिर लागिन्।
उनी अर्थात् राज्यश्री श्रेष्ठ। वि.सं. २००७ माघ १ गते काठमाडाैँकाे असनमा जन्मिएकी राज्यश्रीले परैबाट भएपनि दरबारीयाहरूका गतिविधिहरू नियालेकी थिइन्। उनीकी एकजना छिमेकी दिदीले त झन दरबारमा रानीहरूकाे श्रृङ्गार गर्थिन्। त्यसमाथि दिदीकाे विवाह राणा परिवारमा भएकाे थियाे। दिदीकाे घरमा जाँदा सबै जना चिटिक्क बनेर बसेकाे देखेकी थिइन्। त्याे सुन्दरताकाे राज के हाेला भनेर साेचिरहन्थिन्। त्याे काैतुहल्ता उनकाे मनमा यति धेरै गढ्याे कि उनले साैन्दर्यता र श्रृङ्गारिताप्रति औधी चाहना राख्न थालिन्। त्यही चाहनाकाे बलमा राज्यश्रीले एस.एल.सी उत्तीर्ण गरेपछि ब्युटी पार्लरकाे काम सिक्ने ढिपी गरेकी थिइन्।
वि.सं. २०३८ सालमा राज्यश्री व्यक्तिगत काम परेर बम्बई गइन्। त्यहाँ उनले ब्युटिसियन सम्बन्धी अझै धेरै कुराहरू बुझ्ने अवसर पाइन्। रूचिकाे विषय थियाे। त्यसमाथि सहज रूपमा सिक्ने पाइने भएपछि उनले तत्कालीन बम्बईस्थित ‘द इमेरेडल पार्लर’मा ब्युटिसियनकाे तालिमकाे लागि भर्ना भइन्। ‘बम्बई सहर फेसनकाे लागि एकदमै नामद सहर थियाे। त्यहाँ धेरै कलाकारहरू पनि आउँथे। मलाई पनि ब्युटिसियनप्रति रूचि थियाे। त्यहाँ भएका बेला समय खेर फाल्नुभन्दा तालिम गर्छु भनेर भर्ना भएँ,’ राज्यश्रीले बिएल नेपाली सेवासँग भनिन्।
त्यहाँ तालिम गरिरहँदा राज्यश्री खुल्ला पन्छीजस्तै खुसीका साथ आफ्नाे लक्ष्यतर्फ उडिरहेकी थिइन्। उनी एकातिर ब्युटिसियनकाे तालिम गरिरहेकी थिइन भने अर्काेतिर कस्टोमोलोजीको अध्ययन पनि। उनकाे काम देखेर सिकाउने गुरूहरू पनि प्रसन्न थिए। त्यसैले बम्बईमा पार्लर खाेल्न प्रस्ताव आएकाे थियाे। तर, परदेशमा व्यवसाय सुरू गर्नु चानचुने कुरा पनि थिएन, त्यसमाथि उनलाई आफूले जानेकाे काम गरेर आफू हुर्किएकाे ठाउँलाई चकित पार्नु थियाे। त्यसपछि उनी ४ वर्षकाे अन्तरालपछि नेपाल फर्किइन्।
उनी नेपाल फर्किँदासम्म उनकाे परिवारले उनकाे कामलाई सम्मान गर्न थालिसकेकाे थियाे। भन्न पनि सजिलाे थियाे,‘छाेरीकाे हातमा सीप त छ।’
राज्यश्रीले आफैं ब्युटी पार्लर खाेल्ने याेजना बनाइन्। त्यसमा उनकाे परिवारले पनि साथ दियाे। अन्तत: वि.सं. २०४२ सालमा बागबजारमा खुल्याे, ‘ग्ल्यामर ब्युटी पार्लर एण्ड ट्रेन्डिङ सेन्टर’। ‘नेपाल फर्किएपछि त परिवारबाट साथ मिल्याे। मैले पनि केही पैसा जम्मा गरेकी थिएँ। सबैतिरबाट मिलाएर पार्लर खाेलिहालेँ,’ उनले भनिन्।
त्यसपछि भने राज्यश्रीलाई जीवनमा कहिलै पछाडि फर्किनु परेन। सकेपनि नसकेपनि पार्लरकाे काममा निरन्तर सक्रिय रहिन्। देशका विशिष्ट व्यक्तिहरूदेखि कलाकारहरू पनि उनकाेमा आउन थाले। उनले तालिम पनि सिकाउने भएकाे हुनाले उनकाे प्रभाव बिस्तारै बढ्दै गयाे। यसरी राज्यश्रीले ब्युटी पार्लरकाे क्षेत्रमा काम गर्न थालेकाे चार दशक बढी भएकाे छ। त्यसअवधिमा उनले धेरैलाई ब्युटिसियन बनाइन्। कामबाट धेरै मान सम्मान पनि पाइन्।
याे बीचमा उनले ब्युटी पार्लर सम्बन्धी काम थप ज्ञान हासिल गर्नकाे लागि अन्य देशहरू पनि पुगिन्। उनले थाइल्याण्डबाट ‘ब्युटी कलचर थेरापी एण्ड हे्यर ड्रेसिङ’मा डिप्लोमा समेत गर्न भ्याइन्। ‘कस्टोमोलोजी’ पढेकी हुनाले कस्मेटिकका केही सामान आफैं पनि बनाइन्।
पढाइमा कमब्याक
राज्यश्रीलाई हातमा सीप साथमा धन भएपनि जीवनमा पढाइ जस्तो ठुलो कुरा अरू लागेन। अन्तत: बम्बईबाट फर्किएर आएपछि अध्ययन सुरू गरेर वि.सं. २०४७ सालमा स्नाकोतर तहकाे पढाइ पूरा गरिन्। पढ्दै गर्दा उनी वि.स.२०४५ मा पद्माकन्या बहुमुखी क्याम्पसमा शिक्षक बन्ने अवसर पनि पाइन्।
उनलाई यतिले मात्र अध्ययन गरेर पुगेन पिएचडी गर्ने साेच बनाइन्। उनले क्याम्पसमा पढाउँदै गर्दा पढाइलाई पनि निरन्तरता दिइन्। ‘मैले कुनै दिन पनि मेरो पढाइको लागि भनेर क्याम्पसबाट बिदा मागिनँ। जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै बिदा नलिएर क्याम्पसमा जाने म पहिलो शिक्षक पनि बनेकी थिएँ,’ राज्यश्रीले आफ्नाे इतिहास सुनाइन्।
उनी यी सबै कुराहरूलाई निरन्तरता दिँदै त्रिभुवन विश्वविद्यालयबाट पिएचडी गरेर गाेल्ड मेडलसमेत हासिल गर्न सफल भइन्। उनलाई सो मेडल राजकाे हातबाट ग्रहण गर्ने इच्छा थियो। तर, त्यतिबेला देशमा राजतन्त्रकाे अन्त्य भइसकेकाे थियाे। त्यसैले उनले लामाे समयसम्म आफूले पाएकाे सम्मानसमेत लिन गइनन्। ‘मलाई राजकाे हातबाट गाेल्ड मेडल ग्रहण गर्ने मन थियाे तर त्यसाे हुन नसकेपछि मैले १३ वर्षसम्म आफ्नाे मिहेनतले जितेकाे उपहार पनि लिन गइन्,’ उनले भनिन्,‘पछि साथीहरूकाे कारकापले राष्ट्रपतिकाे हातबाट लिएँ।’
चाहना ब्युटी पार्लरमा, खुसी पढाइमा
राज्यश्री जीवनमा सबैभन्दा धेरै खुसी पिएचडी गरेर भएकाे बताउँछिन्। सायद जीवनमा उनी त्यसपछि कहिल्यै त्यति धेरै खुसी भएकी छैनन्। ‘मेरो जीन्दगीको खुसीको क्षण भनेकै पिएचडी गरेर सकाएपछि नै थियो। मलाई बाल्यकालदेखि नै पढाइमा ज्यादै रुचि भएकोले नै होला अरु कुराहरू छोडे पनि पढ्न चाहिँ कहिले छोडेकी थिइन्। म पढेर घर जाँदा बा'ले जहिल्यै सोध्ने गर्नुहुन्थ्यो। ‘पढाइ सक्कियो छोरी अब ?’ म हाँस्दै भन्ने गर्थें बा अझै बाँकी छ,’ राज्यश्रीले जीवनका महत्पूर्ण कुरा सुनाइनन्।
छोरीको पढाइ सक्किएको सुन्ने उनका बुबाको ठुलो धोको थियो। ‘बुवाले घरमा कोही आएको देख्यो कि मेरी छोरी डाक्टर बनेकी छ, भनेर सबैलाई सुनाउनुहुन्थ्यो। मैले सबैलाई भन्नु पर्दैन बा भन्थेँ,’ उनले भनिन्। तर, उनका बा'ले छाेरीकाे सफलताका कथा लामाे समयसम्म सुनाउन पाएनन्, उनकाे देहान्त भयाे।
राज्यश्रीकाे उमेरले अहिले सात दशक नाघ्याे। सबै कुरा गरे पनि उनलाई विवाहप्रति रूचि लागेन। ‘उमेरमा पढाइमा बढी लगाव भएको कारण विवाह गर्न मन लागेन। उमेर बित्दै जाँदा रहर पनि मर्दै गए। जन्मिने पनि एक्लै हो, मर्ने पनि एक्लै त हो नि। किन विवाह नै गर्न पर्छ र ? म त नगरे पनि एक्लै धेरै खुसी छु। खुसी हुन विवाह गर्नुपर्छ भन्ने लाग्दैन,’ उनले अन्त्यमा गहन र जवाफ दिइन्।