धर्मसन्तान बनाएर बालबालिका तस्करी : उच्चस्तरीय छानबिन गर्न निर्देशन

काठमाडौं : बालबालिकाको संरक्षणमा खुलेका बालगृहले नै बालबालिका बेचबिखन गर्न थालेको भन्दै संसदको महिला तथा सामाजिक समितिले उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारलाई निर्देशन दिएको छ।

कानुनले पूर्णरूपमा निषेध गरेको विदेशी नागरिकले धर्मसन्तानको नाममा बालबालिका लैजाने काममा यस्ता संस्थाको नै मिलेमतो देखिन थालेको भन्दै समितिले यस्तो निर्देशन दिएको हो।

नक्सालस्थित नेपाल बालमन्दिरका निर्देशक बालकृष्ण डंगोल बालबालिकालाई अन्तर्राष्ट्रिय गिरोहसम्म पुर्‍याएको आरोपमा पक्राउ परेपछि समितिले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई यस्तो निर्देशन दिनुपरेको समिति सभापति निरुदेवी पालले जानकारी दिइन्।

प्रहरीको निगरानीमा सामाजिक सञ्जाल र यूट्यूव, रविका थप ९ सर्मथक पक्राउ

‘बालमन्दिरका निर्देशक नै बालबालिका बेचबिखनको आरोपमा पक्राउ पर्नु यस क्षेत्रको विकृति, बेथिति र नियमनको अवस्थालाई उजार गरेको छ’, उनले भनिन्, ‘वरिष्ठ कर्मचारीको संलग्नताले अन्य कर्मचारीको पनि स्वतः संलग्नता हुने देखिएको छ। दोषीलाई कानुनी दायरमा ल्याउन उच्चस्तरीय छानबिन समिति यथाशिघ्र गठन गर्न निर्देशन दिएका छौँ।’

यस्तै, समितिले बालबालिका सम्बन्धी काम गर्ने गैर सरकारी संस्थाको अनुगमन गर्ने जिम्मेवारी पाएको निकाय समाज कल्याण परिषद्को भूमिका प्रभावकारी नभएको निष्कर्ष निकालेको छ। समितिले परिषद्लाई तत्काल अनुगमनलाई प्रभावकारी बनाउन पनि निर्देशन दिएको छ। यदि प्रभावकारी अनुगमन गर्न नसक्ने भए के कारणले गर्न नसक्ने हो १५ दिनभित्र समितिमा लिखित जानकारी दिन निर्देशन दिइएको सभापति पालले बताइन्।

प्रकाशित मिति: : 2019-08-21 19:02:04

प्रतिकृया दिनुहोस्