उनी जहाँ बसेकी थिइन्, त्यहाँ परिचयको कुनै दरकार थिएन। ठाउँले नै परिचय बोल्थ्यो। फेरि त्यहाँ आउने सबै यति हतारमा हुन्थे, कसैलाई नाम सोध्ने फुर्सद नै हुन्थेन।
उसले भने उनको नाम सोध्यो।
आफ्नो पनि बतायो। चिनापर्ची पछि धेरैबेर कुरा गर्यो।
निकैबेरपछि मात्र उनलाई छोयो, सुस्तरी!
उनी अचम्म परिन्।
यति बिस्तारै छुने लोग्ने मान्छे पनि हुन्छन्!
कान्छीमायाको १७ वर्षे शरीरमा यौवनाको जस्तो कोमलता बाँकी थिएन। कुतकुति थिएन, उत्सुकता पनि थिएन।
दिनहुँ हुने बलात्कार र यातनामा छट्पटाउँदा छट्पटाउँदै उनको शरीर कठोर भइसकेको थियो। मन मरिसकेको थियो।
त्यो रात उनी छक्क परिरहिन्।
ओमाङले छुँदा कान्छीमायाको कठोर शरीरले ‘अर्कै र केही सजिलो’ महशुस गर्यो।
भारतको पञ्जाब बस्ने ओमाङ बिहान उठेर गयो।
फेरि कठोर शरीर लिएर कान्छीमाया पल्टिरहिन्। ओमाङ गएपछि धेरै आए, कान्छीमायाको कठोर शरी लुछेर गए।
सात दिनपछि ओमाङ फेरि आयो। यसपालि पनि उसलाई हतार थिएन। उनीहरूले निकैबेर गफ गरे।
ओमाङसँग भेट हुनुअघि कान्छीमाया कसैसँगै यसरी गफ गर्थिनन्, उनीसँग पनि कोही गफ गर्न जरूरी ठान्दैनथे।
ओमाङका कुराले उनको रूखो मन थोरै पग्लियो।
‘उसलाई मसँग कुरा गर्न मन हुन्थ्यो, मलाई पनि रमाइलो लाग्थ्यो,’ कान्छीमायाले सेतोपाटीसँग भनिन्।
ओमाङ धेरै पटक कान्छीमायाकहाँ आयो।
एकदिन भन्यो, ‘यहाँ नबस। म तिमीलाई लिएर जान्छु।’
मालिक्नीको डरले कान्छीमायाको मन गह्रौं भयो।
ऊसँग गएँ भने पनि आफ्नो गाउँ जान पाइने हो कि होइन? भन्ने दोधारमा परिन्।
एक दिन ओमाङले उनलाई सानो मोबाइल ल्याएर दियो।
मोबाइल आउनुअघि कान्छीमायाका लागि फुर्सद पट्यार लाग्दो हुन्थ्यो। बेफुर्सद अत्यास लाग्दो।
त्यो मोबाइलले उनको सपाट दैनिकीमा थोरै रङ भरिदियो।
फुर्सद हुँदा उनले ओमाङलाई फोन गर्न थालिन्।
मोबाइल साथी बन्यो। त्यो सानो ‘साथी’ लुकाउन उनलाई कम्ती हम्मे हुन्थेन। लुगाभित्र लुकाएर राख्थिन्, रातिराति ओमाङसँग सुस्तरी बोल्थिन्।
समयको कुनै अर्थ नहुने त्यो ठाउँमा उनी समय कुर्न थालेकी थिइन्- ओमाङसँग फोनमा बोल्ने समय र ऊ आउने दिन।
ओमाङ उनका प्रेमी थिएनन्। उनका श्रीमान थिएनन्। केवल एक ग्राहक थिए।
उनको श्रीमान त टीकाराम थिए। जसले उनलाई मुम्बईको कोठीमा बेचिदिए।
कान्छीमायाको गाँउ नुवाकोटको घ्याङडाँडामा टीकारामको घर थियो, पाँच मिनेट हिँडे पुगिने। कान्छीमाया र उनको परिवारबारे सबै कुरा उसलाई थाहा थियो।
कान्छीमायाले स्कुल जान पाइनन्, स्कुल गाउँबाट निकै टाढा थियो। कहिलेकाँही त त्यहाँ जाने बाटो नै हुन्नथ्यो।
स्कुल जाने उमेरमा बाख्रा, गाईवस्तु चराउन जान्थिन्। घरमा आमाबुबा, एक दाइ र तीन दिदी थिए।
गाउँमा कान्छीका दामली केटी कोही थिएनन्।
कम्मरमा गाग्री बोक्न सक्ने भएपछि केटीहरू ‘तल जान्छन्’ भन्थे।
कान्छीमायाले पनि त्यो सुनेकी थिइन् तर बुझेकी थिइनन्।
एक दिन गाउँका कुनै आफन्तको घरमा पूजा थियो। पूजा सकेर कान्छीमाया घर फर्किँदै थिइन्। बीच बाटोमै उनलाई कसैले च्याप्प हात समात्यो। आफूतिर तान्यो।
फर्केर हेरिन्- हात समात्ने टीकाराम थियो। उसको साथमा अरू केटा पनि थिए।
टीकारामले उनलाई बीच बाटोमै यसरी च्याप्प समातेको त्यो दोस्रोपटक थियो। पहिले त आमाबुबाले झगडा गरेर उनलाई फुत्काएका थिए।
यसपालि आमाबुवा आएनन्।
‘मन परेकी’ केटीलाई यसरी तानेर लैजानु उनको गाउँ र समुदायमा अपराध मानिन्नथ्यो।
टीकारामले पनि उनलाई तानेर आफ्नो घर लग्यो। सिन्दुर हाल्यो। आफ्नी श्रीमती बनायो।
त्यो बेला उनी भर्खर १३ वर्ष टेकेकी थिइन्।
कानुनका नजरमा १३ वर्षकी केटी बिहे गर्नु बालविवाह हुन्थ्यो। १६ वर्षमुनिका बालिकासँग यौनसम्पर्क राख्नु बलात्कार।