दैलेख बजारकाे देवकोटा चाेकमा छ, खेमराज राेकायाकाे जुत्ता पसल। उनले नयाँ जुत्ता बनाउने तथा पुराना मर्मत गर्न थालेकाे १० वर्ष भयाे।
हाल उनी २८ वर्षका भए। व्यवसाय सुरु गर्नेबेला उनी भर्खर १८ वर्ष टेक्दै थिए। ओठ निचाेरे दुध आउने उमेरबाट उनले इलम सुरु गरेका हुन्।
एसएलसी परीक्षा सकिएपछि उनी के गर्ने भन्ने दाेधारमा थिए। उच्च शिक्षा अध्ययन गर्न समय धेरै लाग्ने र खर्च पनि बढी लाग्छ भन्ने उनलाई थाहा थियाे।
'भाेलि ठूलाे मान्छे बनाैँला भनेर पढ्नुपर्छ। पढ्नकाे लागि लगानी पनि धेरै चाहिन्छ,' उनले भने, 'हामीसँग लगानी गर्नलाई पैसा थिएन। पढ्छु भनेर समय मात्रै खेर फाल्नु आफैँलाई पनि नाेक्सान हाे। त्यसैले याे व्यवसायमा लागेँ।'
घरमा राम्राे आम्दानीकाे स्राेत नभएपछि उनले आफैँ आम्दानी हुने बाटाे खाेजे। त्यसका लागि बाबु–बाजेकाे पुर्ख्याैली पेसा उपयुक्त माध्यम देखे, त्याे थियाे जुत्ता बनाउने काम।
सिंजा साम्राज्य हुँदादेखि नै दैलेखी छाला जुत्ता चर्चित थियाे। त्याे हालसम्म पनि कायमै छ। उतिबेला दैलेखमा छाला प्रशाेधन उद्याेग थिए। आज लगानी, व्यवस्थापन, सरकारी उदासीनता, याे पेशामा रहेकाकाे अपमान आदि कारणले ती उद्याेग बन्द भइसकेको छन्।
उतिबेलाकाे दैलख सदरमुकाम हालकाे पुरानाे बजारमा सार्की समुदायकाे बसाेबास छ। उनीहरुकाे पुर्ख्याैली पेशा छाला प्रशोधन र नयाँ जुत्ता बनाउने उद्याेग थियाे। तर, पुर्ख्याैली पेशामा मान, प्रतिष्ठा घट्दै गएपछि परम्परागत पेशा, व्यवसाय छाेड्नेकाे संख्या बढ्दाे छ।
विरलै मात्र नयाँ पुस्ताले हात हालेकाे छाला जुत्ता बनाउने व्यवसायमा खेमराज अपवाद हुन्। 'या त राम्राे पढेर जागिर खानुपर्याे, नभए विदेश जानुपर्छ,' उनले भने, 'एसएलसीभन्दा बढी पढ्न सकिएन। त्यसपछि सुरु गरेकाे याे व्यवसायले सन्तुष्ट बनाएकाे छ।'
उनका बाबु–बाजेको थर सार्की हाे। तर, उनका दाइ र उनले आफ्नो थर रोकाय लेख्दै आएका छन्। उनका दाइहरुले स्कुलमा राेकाया लेख्न थालेपछि आफूले पनि राेकाया लेख्न थालेकाे उनले बताए।
उनका बाबु–बाजेकाे पालामा पञ्चायती व्यवस्था थियाे। पञ्चायती व्यवस्था हुन्जेल दलितहरुलाई थर लेख्न बञ्चित गरिएकाे थियाे। बहुदलपछि दलितहरुले पनि थर लेख्न पाए। यसरी खेमराजकाे पुस्ताले आज थर लेख्ने छुट पाएको छ।
उनी छालाका जुत्ता बनाउन लागे पनि उनका बुबा भने राँगाकाे मासुकाे व्यापार गर्दै आएका छन्।
उनले एसएलसी सकाउने बित्तिकै आफ्ना काकाकाे पसलमा जुत्ता बनाउन सिकेका थिए। त्यहाँ जुत्ता बनाउने ज्ञान लिएपछि आफ्नै लगानीमा व्यवसाय खाेले। त्यसबेला उनले जम्मा २० हजार रुपैयाँबाट व्यवसाय सुरु गरेका थिए। हाल उनकाे व्यवसायमा लगानी बढेकाे छ।
'लगानी जति बढे पनि कमै भएजस्तो लाग्ने रहेछ। पहिला २० हजार कम लाग्थ्याे,' उनले भने, 'अहिले लगानी बढाएकाे छु। तर पनि कमै लाग्छ।'
उनकाे पसलमा आफैँले बनाएका जुत्ता बढी छन्। केही जुत्ताको माथिपट्टीकाे भाग बाहिरबाट बनेरै आएका र त्यसमा साेल हालेर बिक्री गर्ने गरेका छन्।
बुट जुत्ता, बच्चाहरुका जुत्ता, स्कुल सुज, पार्टी सुज, स्पाेर्ट सुज उनी आफैँ बनाउँछन्। पार्टी सुज बाहेक, स्पाेर्ट सुजहरु पनि बन्छ। चिसाे सिजनमा स्पोर्ट सुजहरु बढी बिक्री हुन्छन्। स्पाेर्ट सुजकाे मूल्य १८ सयदेखि २ हजारसम्म हुन्छ भने पार्टी सुज ८ सयदेखि १५ सय सम्मका छन्।
विभिन्न साइजका साँचाेमा हालेर आकर्षक जुत्ता बनाउने सीप सिकेसँगै उनी आत्मनिर्भरताकाे बाटाे हिँडिरहेका छन्।
'पहिला छाला, साँचाे, धागाे सबै घरमै बन्थ्याे,' उनले भने,'अहिले सबै रेडिमेट आउँछ। केही सजिलो पनि छ। तर, परम्परागत उद्याेगलाई आधुनिकिकरण गर्नबाट हामी चुकेका छाैं।'
अहिले काँचाे छाला काठमाडौं, बुटवल, नेपालगन्जबाट आउने उनले बताए। 'फाेनबाटै मगाउँदा नि आउँछ,' उनले भने, 'कहिलेकाहीँ यसाे घुमेर आउँ भन्ने लाग्याे भने उतै जाने गरेकाे छु।'
अहिले धेरैजसाे सार्की समुदायका युवाहरुले बाबु-बाजेकाे पेशा छाेडिरहेका छन्। तर, उनले भने धेरै पढ्न नसकिएका कारण कुनै न कुनै इलम गरेर खानैपर्छ भन्ने ठानेर जुत्ता सिउने पेशामा लागेकाे बताए। उनी व्यवसाय विस्तार गरी जुम्लामा जुत्ता पसल खाेल्ने याेजना छन्।
'मान्छेलाई सन्तुष्टि त कहीँ गएपनि हुँदैन। जाे बढी धनी छ उसलाई हेरियाे भने असन्तुष्टि बढी देखिन्छ,' उनले भने, 'आफूभन्द कम आय भएकालाई हेर्नुपर्ने रहेछ। उसकाे भन्दा मेराे अवस्था ठिक छ भनेर पनि सन्तुष्टि हुने ठाउँहरु हुन्छन्।'
जुत्ता बनाउने व्यवसायमा लागेपछि अभाव नभएको उनले बताए। 'अभाव कहिले भएन। तर फलिफाप पनि भएकाे छैन।'