संयुक्त संयन्त्र बैठकले कालापानी र सुस्ताबारे समाधान खोज्ला?

भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल—भारत संयुक्त संयन्त्र बैठकमा सहभागी हुन बुधबार दिउँसो काठमाडौं आइपुग्दैछन्।  नरेन्द्र मोदी सरकारको दोस्रो कार्यकाल सुरु भएयता भारतीय पक्षको यो पहिलो उच्चस्तरीय नेपाल भ्रमण हो।

यसअघि २०७२ असोजमा नेपालमा संविधान जारी गर्ने मिति तय भइसकेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतको रुपमा जयशंकर काठमाडौं आएका थिए। त्यतिबेला उनी विदेश सचिव थिए। मोदीको दोस्रो कार्यकाल सुरु भएसँगै विदेशमन्त्री भएका उनी मन्त्री हैसियतमा पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका हुन्।

बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं उत्रिएको केही घण्टाभित्रै उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगै संयुक्त संयन्त्र बैठकमा सहभागी हुनेछन्।

नेपालले बैठकमा पेश गर्ने विषयवस्तुबारे तयारी गरेको छ। परराष्ट्र मन्त्रालयकाअनुसार ती विषयहरुमा दुई पक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार तथा पारवहन, उर्जा तथा जलस्रोत, संस्कृति, शिक्षासहितका विषय छन्।

बैठकम नयाँ विषयहरुभन्दा अहिलेसम्म भएको कामको समिक्षा गर्ने भनेर यसअघि नै मन्त्रालयले स्पष्ट पारिसकेको छ। नेपाल—भारतबीच विषयगत हैसियतका तीन दर्जन संयन्त्र रहेका छन्। परराष्ट्र मन्त्रालयका अधिकारीहरु अन्य संयन्त्रमा गाँठो परेको कुनै विषय भए ती फुकाउन बैठकमा कुरा उठाइने बताउँछन्।

प्रकाशित मिति: : 2019-08-21 10:00:32

प्रतिकृया दिनुहोस्