नेपाली कनेक्सन

थाई नेपालीको घर–घरमा बाँडिँदैछ ‘नेपाली भाषा’

‘टीएनए’ बैंकक शाखा शिक्षा विभाग बन्दैछ ‘हुलाकी’

बिएल संवाददाता

बैंकक, थाइल्यान्ड
Breaknlinks
Breaknlinks

चर्को गर्मी छल्दै दर्जनौँ बालबालिकाहरू बैंककको सभाहल बाहिर लाम लागेका थिए। एउटै रंगको सेतो टिसर्ट, निलो स्कट र कालो पेन्ट लगाएका उनीहरूले आ–आफ्नो घाँटीमा परिचयपत्र झुन्ड्याएका थिए। देखेको वा भेटेको बेला उनीहरू मान्यजनलाई नमस्कार गर्थे, यताउता दौडिन्थे। नबोली बस्न सक्दैनथे। चकचक गरिरहन्थे।

स्कूले विद्यार्थीहरूले हातमा कापी र कलम समातेका थिए। एकअर्कालाई हेरेर चलिरहन्थे, हाँस्थे, कुराकानी गर्न मै व्यस्त थिए। ती नानीबाबुहरूलाई ‘बडो प्रेम’ले बोलाइरहन्थे– थाई नेपाली संघका पदाधिकारीहरू।

‘हल्ला नगरी, शान्तिसँग बस्नु ल! धेरै चकचक नगर्नु, धेरै बोल्नु। विद्यार्थी भनेको अनुशासित हुनुपर्छ है,’ कार्यक्रमस्थलको अघिपट्टी ढाकाटोपी लगाएका एकजना युवा यस्तै–यस्तै भनिरहेका थिए।

तर बालबालिका न परे। उनीहरू नबोली बस्नै सक्दैनथे। 


०००

आइतबार बिहान। थाइल्यान्डको राजधानी बैंककस्थित क्वेनामथाइ हलमा एउटा शैक्षिक कार्यक्रम चल्दैथियो। त्यो समारोहको आयोजक संस्था थियो– थाई नेपाली संघ, बैंकक शाखा, शिक्षा विभाग।

थाई नेपाली संघ अर्थात् ‘टीएनए’ थाइल्यान्डको पुरानो, जल्दोबल्दो र सेवामुखी सामाजिक संघ–संस्था हो। संघको अभिन्न अंग ‘बैंकक शाखा’ हो। त्यो शाखाले जन्माएको र नेपाली शैक्षिक जागरणको एउटा सग्लो पाइला हो– शिक्षा विभाग।

थाई नेपाली संघ, बैंकक शाखा, शिक्षा विभागले नेपाली–गोर्खा समाजको उत्थानका लागि बेलामौकामा सभा–सम्मेलन गर्दैआएको छ। संघमा जोडिएका पदाधिकारी तथा सदस्यहरू नेपाली भाषा, कला–साहित्य, रहनसहन र संस्कार–संस्कृतिको संरक्षण, संवद्र्धन र विकासका लागि निरन्तर रूपमा खटिएका छन्।

बैंकक शाखा, शिक्षा विभागले सोही अभियान अन्तर्गत आइतबार सार्वजनिक बिदाका दिन ‘एघारौँ शिक्षा दिवस’ मनाएको छ। त्यो समारोहमा विद्यार्थी, शिक्षक र टीएनएन बैंकक शाखाका पदाधिकारीहरू आफ्नो मौलिक संस्कृति झल्किने पोसाकमा सजिएका थिए।

दुई महिनादेखि विद्यार्थीहरूको शिक्षा–दीक्षामा खटिएका शिक्षक–शिक्षिकालाई विदाइ गरेपछि वसन्तकालीन नेपाली पाठशालाको समापन गरिएको छ। लगतै, बैंकक शाखा शिक्षा विभागले परीक्षाफलसमेत प्रकाशित गरी शाखा तहबाट पुरस्कार दिएको छ।

गत बुधबार ‘एकैदिन, एकैचरण’मा कक्षा दुईदेखि दशसम्मको परीक्षा सम्पन्न गरिएको थियो। परीक्षाफल प्रकाशित कार्यक्रममा टीएनएनका पदाधिकारी, संरक्षक, सल्लाहकार, विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिका, शैक्षिक अभियन्ता र समाजसेवीलगायतको उपस्थिति थियो।

कार्यक्रममा नानीबाबुहरूले कविता, गीत, जागृती, विषयबोल, वाद–विवाद र नेपाली चलनचल्तीका गीतहरू गाएका थिए र तिनै गीतमा नृत्यसमेत गरेका थिए। ‘म त नेपालको माया गर्ने छोरी, मलाई मजस्तै माया चाहिन्छ’जस्ता दर्जनौँ गीत उनीहरू गुनगुनाए।

०००

औपचारिक समारोहको प्रमुख अतिथिका रुपमा थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वलीलाई आमन्त्रण गरिएको थियो। त्यस्तै, अतिथि–गणमा थाई नेपाली संघका केन्द्रीय अध्यक्ष लक्ष्मण केसी, थाई नेपाली संघका केन्द्रीय संरक्षक कुमार कार्की, थाई नेपाली संघका प्रमुख सल्लाहकार डेविड खनाल, थाई नेपाली संघ बैंकक शाखाका अध्यक्ष रामकुमार ढुंगाना, थाई नेपाली संघ बैंकक शाखा संरक्षक गोपाल लामालगायतको आतिथ्यता थियो।

कार्यक्रममा आफ्नो विचार राख्दैजाँदा शैक्षिक अभियन्ताहरूले पात्लिँदै गएको मातृभाषा र नेपालीजनका कमीकमजोरीहरू केलाए। नयाँ पुस्ताले नेपाली भाषा भुल्दै गएकोप्रति उनीहरूले चिन्ता व्यक्ति गरे।

शिक्षा दिवसको सन्दर्भमा स्वागत मन्तव्य राख्दै थाई नेपाली संघ, बैंकक शाखा, शिक्षा विभाग प्रमुख ओमप्रकाश न्यौपानेले आफ्नो भान्साघर वा समुदायमा भाषा प्रयोग गर्दा नेपाली भाषामै बोल्नुपर्नेमा जोड दिए। ‘हामीहरूले संस्कृति मनाउँदा मौलिकता र साहित्य लेख्दा नेपालीमै लेख्नुपर्छ,’ उनले भने।


कार्यक्रममा प्रमुख अतिथि र अतिथिले के भनेः

धनबहादुर वली, थाइल्यान्डका लागि नेपाली राजदूत
थाई नेपाली संघले नेपाली भाषा र संस्कृतिको संरक्षण गरेको छ। खुसी यस अर्थमा लागेको छ कि टीएमएले स–साना नानीबाबुहरूलाई नेपाली भाषामै पढायो। परीक्षा बनायो। र, यहाँहरूले छोटो बिदामा पनि आफ्नो पूर्खा, भाषा, साहित्य र संस्कारमा ठूलो लगानी गर्नुभएको छ। गोर्खा वा नेपालीको बोली नै बेग्लै हुन्छ। व्यवहार बेग्लै हुन्छ। यो हाम्रो विशेषता हो। यहाँहरूलाई शिक्षा दिवसको शुभकामना छ।

लक्ष्मण केसी, थाई नेपाली संघका केन्द्रीय अध्यक्ष
थाई नेपाली संघ, बैंकक शाखा, शिक्षा विभागप्रति धेरैधरै आभार छ। शिक्षा दिवसको शुभकामना छ। थाइल्यान्डमा नेपाली भाषा संरक्षण र प्रवद्धनका लागि थाई नेपाली संघले महत्वपूर्ण भूमिका निभाएको छ।

कुमार कार्की, थाई नेपाली संघ केन्द्रीय संरक्षक
थाइल्यान्डमा जन्मिएका, हुर्किएका बालबालिकाहरूलाई नेपाली भाषा, साहित्य, संस्कार र संस्कृति सिकाउनुपर्छ। अब उच्च शिक्षा हासिलको लागि भाइबहिनीहरूलाई शुभकामना छ। थाइल्यान्डमा नेपाली गोर्खा भनेर चिनिएका हामीहरू सभ्य जातिका मान्छेहरू हौँ। हामीहरूले समाजसेवाको माध्यमबाट थाई नेपाली समाजमा टेवा पुर्‍याइरहेका छौँ। नेपाली समाजको सुख–दुःखको साथी हो, थाई नेपाली संघ।

डेविड खनाल, थाई नेपाली संघ प्रमुख सल्लाहकार
थाइल्यान्ड र म्यान्मारमा किन नेपाली भाषाको महत्व छ? थाई नेपाली समाजले किन नेपालीपनलाई जोगाइरहेको छ? यसको उत्तर हो, नेपालीको सन्तानले नै नेपाली भाषा, साहित्य, संस्कार र संस्कृतिलाई जाेगाउनुपर्छ। हाम्रो पहिचान भनेको मातृभाषा हाे, भाषाले नै जातिको सभ्यता झल्काइरहेको हुन्छ। पहिचान जोगाउनका लागि मातृभाषाकाे संरक्षण गर्नुपर्छ। थाइल्यान्डमा छरिएर बसेका एक लाख नेपालीहरूले नेपाली भाषा जोगाउनुपर्छ। पढाइ र लेखाइमा ध्यान दिनुपर्छ, शिक्षाको एकदमै ठूलो महत्व छ। 

रामकुमार ढुंगाना, थाई नेपाली संघ, बैंकक शाखा अध्यक्ष
देश छोडेपनि भाषा नछोडौँ। नेपाली भाषालाई जोगाऊँ। आ–आफ्नो घरमा नेपाली भाषामै बोलिदिनोस्। भाषा जोगिए शास्त्र जोगिन्छ। शास्त्र जोगिए संस्कार जोगिन्छ। संस्कार जोगिए संस्कृति जोगिन्छ। संस्कृति जोगिए सभ्यता जोगिन्छ। संस्कृति र सभ्यता जोगिए, जातिको अस्तित्व जोगिन्छ। जाति जोगिए हामी जोगिन्छौँ। जय मातृभाषा।

प्रकाशित मिति: : 2024-05-12 23:37:00

प्रतिकृया दिनुहोस्