मौलाउँदै कन्सल्टेन्सीको ठगी, रोजगारीको प्रलोभन देखाएर लाखौं असुली

तस्बिरः नेपाललाइभ

काठमाडौं- ग्रीन फिल्ड एजुकेसन कन्सलटेन्सीमा गत असार ३० गते प्रहरीले छापा मार्‍यो।

सो कन्सलटेन्सीले रोजगारीका लागि युरोपेली मुलुक माल्टा पठाइदिने भन्दै केही युवाहरुबाट प्रतिव्यक्ति १२ लाख रुपैयाँभन्दा बढी रकम असुली गरी नपठाएको भन्दै युवाहरुले प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा प्रहरीले छापा मारेको थियो।

‘माल्टामा राम्रो काम र कमाइ छ, ५ वर्ष बसेपछि त्यहाँको स्थायी बसोबास अनुमति (पिआर) पाइन्छ जस्ता विभिन्न प्रलोभन देखाएर सो कन्सलटेन्सीले युवाहरुलाई ठगी गरेको’ पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविद्र बोगटीले जानकारी दिए।

छापा मार्ने क्रममा प्रहरीले उक्त कन्सलटेन्सीबाट केही पासपोर्ट तथा विभिन्न कागजपत्रहरु जफत गरेको थियो।

त्यस्तै गत आइतबार वैदेशिक रोजगार विभागले सिनामंगलस्थित एलाएन्स एजुकेसन कन्सलटेन्सीमा छापा मारेको थियो। सो कन्सलटेन्सीले पनि युवाहरुलाई विभिन्न युरोपेली मुलुकमा रोजगारीका लागि पठाइदिने भन्दै लाखौँ रकम असुली गरेको गोप्य सूचनाका आधारमा गौशाला प्रहरीसहितको विभागको अनुगमन टोलीले कन्सलटेन्सीमा छापा मारेको हो।

कन्सलटेन्सीमा साइप्रस जान आवेदन दिएकाहरुको फाइल तथा राहदानीको स्क्यान कपी, कामदार भिसा र युरोपका विभिन्न मुलुकमा कामदार भिसामा पठाएका व्यक्तिको विवरणलगायत कागजपत्रहरु भेटिएको अनुगमन टोलीले जनाएको छ।

पछिल्लो समय शैक्षिक परामर्शदाताको रुपमा दर्ता भएर विभिन्न व्यक्तिहरुसँग रोजगारीको प्रलोभन देखाई मोटो रकम असुल्ने गरेका उजुरी विभागमा प्राप्त भइरहेकाले यस बारेमा शिक्षा मन्त्रालयसँग समन्वय गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने विभागका निर्देशक भोलानाथ गुरागाईंले जानकारी दिए।

‘हामी वैदेशिक रोजगारीको नाम लिएर ठगी गर्ने जुनसुकै व्यक्ति वा संघसंस्थालाई आवश्यक अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउँछौं,’ निर्देशक गुरागाईंले भने।

६ युवाहरुको विवाहका लागि एक युवती
पछिल्लो समय कन्सलटेन्सीहरुले युवाहरुलाई विभिन्न किसिमका प्रलोभन देखाई ठगी गर्ने क्रम बढ्दै गइरहेको छ। त्यसैक्रममा काठमाडौंको पुतलीसडकमा रहेको क्विन्सल्यान्ड एजुकेसन फाउन्डेसन प्रालिले युवाहरुलाई नयाँ तरिकाले ठगी गरेको फेला परेको छ।

प्रहरी परिसर काठमाडौंका अनुसार सो कन्सलटेन्सीले ६ जनाभन्दा बढी युवाहरुलाई डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया पठाउने भन्दै प्रतिव्यक्ति २५ लाख रुपैयाँसम्म ठगी गरेको भेटिएको छ।

प्रहरीका अनुसार क्विन्सल्यान्डले ६ जनाभन्दा बढी युवाहरुलाई एकै युवतीसँग नक्कली विवाहको प्रलोभन देखाई डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया पठाउने भन्दै प्रतिव्यक्ति २५ लाख रुपैयाँसम्म रकम माग गरेको खुलेको हो। युवाहरुलाई युवतीसँग फोनमा कुरा गराउने र अदालतमा विवाह गरी सबै प्रक्रिया पूरा गरेर अस्ट्रेलिया पठाइने प्रलोभन देखाइएको थियो। 

रकम बुझाएको २/३ महिनासम्म पनि कन्सलटेन्सीले आफूहरुलाई अस्ट्रेलिया पठाउन कुनै प्रतिकृया नजनाएपछि पीडितहरुले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका थिए।

विद्यार्थी भिसामा जान अयोग्य भएका युवाहरुलाई डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया पठाउने प्रलोभन देखाई ठगी गरेको पाइएको प्रहरी परिसरका प्रवक्ता बोगटीले बताए। उनले समयक्रमसँगै ठग्ने तरिकामा समेत परिवर्तन आइरहेको जानकारी दिए।

‘पछिल्लो समय व्यक्तिले नै पनि कन्सलटेन्सीको नाम लिएर ठगी गर्ने प्रवृत्ति बढेको छ। एउटा कन्सलटेन्सीले अर्को कन्सलटेन्सीको नाम लिएर समेत ठगी गर्ने गरेको पाइएको छ,’ प्रवक्ता बोगटीले भने।

शिक्षित युवा नै कन्सलटेन्सीको ठगी फन्दामा 
धेरैजसो शिक्षित युवाहरु नै कन्सलटेन्सीको ठगीमा पर्ने गरेको पाइएको छ। कन्सलटेन्सीहरुबाट उच्च शिक्षा अध्ययन र रोजगारीका लागि विकसित मुलुकमा जाने सोच बनाइरहेका युवाहरु ठगिने क्रम बढ्दै गइरहेको पाइएको छ।

वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालका अनुसार ठगिनेमा शिक्षित युवाहरु नै बढी रहेका छन्। 

‘वैदेशिक रोजगारीका नाममा सोझा युवाहरु मात्रै ठगिने नभएर पछिल्लो समयमा कन्सलटेन्सीबाट टाठा-बाठा र शिक्षित युवाहरु पनि ठगिन छाडेका छैनन्। अझ विकसित मुलुकमा रोजगारीको प्रलोभन देखाई उनीहरुबाट कन्सलटेन्सीले मोटो रकम असुली गर्ने क्रम बढिरहेको छ,’ विभागका महानिर्देशक भुसाल भन्छन्।

प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटी पनि महानिर्देशक भुसालको विचारसँग सहमत छन्। कन्सलटेन्सीबाट पढेलेखेकै युवाहरु ठूलो संख्यामा ठगिएको उनको भनाइ छ।

प्रकाशित मिति: : 2019-08-21 08:47:01

प्रतिकृया दिनुहोस्