‘यो बिर्सिने घाउ नै होइन, सम्झनाका के कुरा?’
सहकर्मी सुजन श्रेष्ठले क्यामेर तेर्स्याउनै लाग्दा सुरुआत नै अलमलिइसकेको थियो।
‘सम्झिनलाई त बिर्सनु पर्यो नि!’
सुरुआत नै काफी थियो, उनलाई ‘सम्झाउन’का लागि।
चारवर्षे घाउको माम्रा उप्काउने प्रयासमा थियौँ शायद हामी।
कहिलेकाहीँ पीडा मुस्कुराइ दिन्छन्, त्यसैत्यसै, तमासे बनेर। न रुनुको तुक हुन्छ, न दुख्नुको दर्द।
अनि कुनै-कुनै पीडा त्यस्ता भइसकेका हुन्छन्, जो जिन्दगीका आदत बनिसकेका हुन्छन्।
र त, ओठमा मुस्कान काँपिरहेको हुन्छ, आँखाबाट आँसु खसे पनि। पीडाहरू हाँस्न खोज्दा पनि आँसु लुक्दैन।
हो, आँसुका धेरै ‘शारदा’ बगिसकेका उनको जिन्दगीमा।
फेरि यो आँसुको मात्रै कथा होइन।
चार वर्षअघि,
२०७२ साल साउन ७ गते।
घरको काम सक्नै चटारो, अफिसको हतारोले अत्याइरहेको थियो।
‘भाइब्रेट’ मोबाइल उर्फिरहेको थियो।
‘आज टीकापुरमा हुलदङ्गा हुनेजस्तो छ, साँझमात्रै कल गर्छु है...।’
‘हस्’ कल टुट्यो।
के थाहा जिन्दगीको तार नै टुट्दैछ।
दुई छोरालाई स्कुल पठाइवरि उनी अफिस जान तयार भइन्।
मोबाइल खस्यो र, प्याट्ट फुट्यो।
अब सम्पर्क कसरी गर्ने? आफू काठमाडौँ। उनी अर्थात् श्रीमान केशव बोहरा टीकापुर थिए।
साँझ कल गर्छु भनेका थिए। तर, मोबाइल फुट्यो।
‘अर्काे मोबाइलमा कल गर्नु है,’ भन्ने म्यासेज दिनु थियो, उता सम्पर्कै हुन सकेन।
अफिस पुगेर दिनभर उनी छटपटाइरहिन्। तर, अहँ फोन लाग्दै लागेन।
इलाका प्रहरी कार्यालयको टेलिफोनमै कल गरिन्।
‘अहिले फोन राख्नुस्, यहाँ धेरै टेन्सन छ,’ फोन उठाएका प्रहरीले भ्याट्ट फोन राखिदिए।
यता शारदा बेचैन थिइन्। म्यासेज छाड्न नपाएको बेचैनी, अब ‘के भयो होला?’ भन्ने चिन्तामा ठोक्किएको थियो।
कार्यालयमा कसैले सुनाए, ‘टीकापुरमा एसएसपी लक्ष्मण न्यौपाने अनि अरु पनि प्रहरी मारिएछन्।’
समाचार ‘ब्रेक’ भइरहेका थिए।
अब होस् ठेगानमा थिएन। प्रहरी निरीक्षक केशव बोहरा पनि एसएसपी लक्ष्मणसँगै थिए।
कार्यालयमै उनी अर्धबेहोस भइन्। अरु स्टाफहरूलाई घरमा पुर्याइदिन भनिन्।
घरभरि मानिसको भीड थियो। सबका सब मौन थिए। कोही केही बोलिरहेका थिएनन्।
यता शारदाको श्वास छिटोछिटो चल्दै थियो। उनलाई लागिसकेको थियो, केही त पक्कै भएको छ।
के थाहा र? जीवनसाथी अब, जीवनमै रहेनन्।
शव आयो। सद्गति भयो। जिन्दगीका सारा रंग पुछिए।
उनी १३ दिन किरिया बसिन्, निख्खर सेता टालो बेरेर।
‘त्यस बेला त लाग्थ्यो, अब सब सकियो। म किन बाँच्नु र, बेकारजस्तो लाग्ने के!’
तर, जिन्दगी मास्न त कहाँ पो सकिन्छ र? नासो त, सँगै थिए। तिनका लागि भए पनि बाँच्ने पर्नेछ।
आफ्नै पनि त जिन्दगी हो। बाँच्ने त पर्छ नै। फेरि मर्न पनि कहाँ सजिलो छ र?
‘तर, सकिँदो रै’छ। अहिले आएर यी चार वर्ष कसरी बितेछन्, आफैंलाई थाहा छैन। एक तमास उहाँ यादबाट हराए पो।’