नारायणहिटी हत्याकाण्डका प्रत्यक्षदर्शी भान्सेद्वारा सिंहदरबारभित्र आत्महत्या

तस्बिरः नयाँ पत्रिका

१९ जेठ ०५८ मा भएको राजदरबार हत्याकाण्डका प्रत्यक्षदर्शी बच्चुराम केसीले विष सेवन गरी सिंहदरबारमा आत्महत्या गरेका छन् । राष्ट्रिय योजना आयोगमा सुब्बा तहमा कार्यरत केसी मंगलबार दिउँसो कार्यालयमा मृत अवस्थामा भेटिएका हुन् । राजदरबार हत्याकाण्डका वेला केसी युवराज दीपेन्द्रको बासस्थानका रूपमा रहेको त्रिभुवन सदनमा ब्वाइज (सुब्बा) पदमा कार्यरत थिए र उनको जिम्मेवारी भान्सेका रूपमा थियो । 

दरबार हत्याकाण्डका दिन त्रिभुवन सदनको बिलियार्ड हलमा लगिएको खाना उनीलगायतको टोलीले तयार पारेको थियो । तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा गठित उच्चस्तरीय समितिका सदस्य तत्कालीन सभामुख तारानाथ रानाभाटले दरबार हत्याकाण्डसम्बन्धी प्रतिवेदन तयार पार्ने क्रममा केसीसँग पनि बयान लिएका थिए । 

दरबार हत्याकाण्डलगत्तै तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहले गद्दी सम्हालेपछि उनको सरुवा निर्मलनिवासमा भएको थियो, जहाँ उनी अक्सर पारस शाहसँग रहन्थे । गणतन्त्र स्थापनापछि राजप्रासाद सेवा (दरबार) का कर्मचारीलाई निजामती सेवामा समायोजन गरियो, त्यसक्रममा केसीको सरुवा परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागमा भयो । 

त्यसैक्रममा उनले गरेको गल्तीले उनलाई मंगलबार बिहान आत्महत्याको स्थितिमा पुर्‍यायो । राहदानी विभागमा कार्यरत छँदा विदेशीलाई नेपाली नागरिकता र राहदानी दिने गिरोहको लहैलहैमा लागेर केसीले १७ जना बंगलादेशीलाई नेपाली राहदानी दिलाएका थिए । यही विषयमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

जिल्ला अदालतमा चलेको मुद्दा उनले हारेका थिए । लामो समयदेखिको मुद्दाका कारण तनावमा रहँदै आएका केसीले सोही कारणले नै आत्महत्या गरेको पारिवारिक स्रोतको दाबी छ । आत्महत्या गर्नुअघि उनको लेखोटमा आफ्नै कारणले आत्महत्या गरेको उल्लेख छ । 

नारायणहिटी काण्डमा दरबारका भान्से बच्चुराम केसीले दिएको बयान

यहाँको नाम के हो ? 
मेरो नाम बच्चुराम केसी हो, म त्रिभुवन सदनमा काम गर्छु । 

त्यहाँ काम गरेको कति वर्ष भयो ? 
म त्यहाँ काम गरेको पाँच वर्ष भयो । दरबार छिरेको नौ वर्ष भयो । 

जुन घटना घट्यो, त्यसवेला तपाईंलाई कुन काममा खटाइएको थियो ? 
ज्यूनार तयार गर्ने काममा ।

तपाईंलाई सम्झना भएसम्म त्यस दिनको घटनामा के–के भयो ? बताउनुस् । 
सबैभन्दा पहिला युवराजधिराज सवारी होइबक्सेको थियो बैठकमा । त्यसपछि महेशकुमार सिंह साहेबज्यू सवारी भयो । त्यसपछि अरू साहेबज्यू सवारी होइबक्स्यो । घटना घट्नुभन्दा दुई मिनेटअघि म कोल्डड्रिंक्स लिएर गएको थिएँ । त्यहाँबाट फर्केर अलि वर बैठकको ढोकाको १० मिटरजति उत्तर साइडमा पुग्दा युवराज सरकार आर्मीको चुस्ता ड्रेसमा सवारी होइबक्स्यो । अगाडि गन भिरिबक्सेको थियो ।  त्यसवेलासम्म मैले उभिएर हेरिरहेको थिएँ । कतै सवारी हुन लाग्यो भन्ठानेँ मैले । त्यसपछि ढोकाबाट छिर्नेबित्तिकै फायरिङ सुरु गरिबक्स्यो । त्यसपछि मलाई डर लाग्यो । मेरा मुटु काम्यो । म बाहिर भागेँ । 

प्रकाशित मिति: : 2019-08-21 08:31:42

प्रतिकृया दिनुहोस्