भत्काइ रहनु पर्ने फोर–लेन सडक

नेपालगञ्ज – नेपालगञ्जमा खानेपानीको पाइप फुटिरहँदा चारलेन सडकलाई बेलाबेलामा तोडफोड गर्नु परेको छ । सडक निर्माण गर्ने बेलामा ठेकेदार र खानेपानी कार्यालयबिच आवश्यक समन्वय भएर पाइप नबिछ्याइएकाले चारलेन सडकलाई बेलाबेलामा तोडफोड गर्नु परेको हो ।

एक ठाउँमा टाल्न नपाउँदै अर्को ठाउँमा पानी निस्किने गरेको छ । सडक बनेपछि वीपीचोकबाट धम्बोझीचोकको पाँच सय मिटरको दूरीमा कम्तीमा एक दर्जन पटक सडक तोडफोड गरिसकिएको छ ।

गुरुद्वारा, कर्णाली विकास बैंक अगाडि र बेलासपुर जाने बाटोमा खानेपानीको पाइप फुटिरहने गरेको छ । यी ठाउँमा एक दर्जन पटक सडक तोडफोड गर्दै पाइप मिलाइसकिएको छ । खानेपानी कार्यालयले फुटेको ठाउँमा पाइप टाल्नेमात्रै गर्दा केही समयपछि फेरि फुट्ने गरेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बताए ।

वडा नं. १ का अध्यक्षसमेत रहेका प्रवक्ता रिजाल कार्यवाहक मेयर भएको बेलामा उपमहानगरपालिकाकै स्रोतले पाइप फुटेका ठाउँमा टालेका थिए । त्यसमा बेलामा खानेपानी पाइप खिया लागेर काम नलाग्ने अवस्थामा रहेको देखेको प्रवक्ता रिजालले बताए ।

‘खानेपानीको पूरै पाइप परिवर्तन गर्नुपर्छ । पाइप फुटेपछि त्यही ठाउँमा टाल्ने गरेर समस्या समाधान हुँदैन’ प्रवक्ता रिजालले भने, ‘आज एक ठाउँमा टाल्यो, भोलि अर्को ठाउँमा फेरि फुट्छ । यस्तो अवस्था कहिलेसम्म व्यहोर्ने ?’

प्रकाशित मिति: : 2019-08-20 10:45:17

प्रतिकृया दिनुहोस्