महिलाको मात्रै हो र तीज गीत !

तस्बिरः बाह्रखरी

यसपालिको तीजैमा प्रभु तिम्रै भर,
हुन पाउँ म पनि कसैको त बर ।

गायक तथा संगीतकार अराज केशवले करिब डेढ महिना अगाडि यो गीत सार्वजनिक गरे । उनले यो गीतलाई टाइटल दिए, ‘केटाहरुको तीज गीत’ । गीतमा जोडी मिलाइदिन भगवान शिवसँग केटाहरुले गरेको आग्रहलाई उल्लेख गरिएको छ । 

 
 

 

अहिले राष्ट्रिय सभा सदस्य बनेकी कोमल ओलीले केही वर्ष अगाडि शिव अर्थात् ‘वर’ जुराइदिन आग्रह गर्दै गीत गाएजस्तै अराज केशवले यो गीतमा शिवसँग श्रीमती जुराइदिन आग्रह गरेका छन् । भिडियोमा रातो र पहेँलो पहिरनमा अराजसँगै युवा देखिएका छन् । भिडियोमा महिला नभएका त हैनन्, तर ती पूरकका रुपमा मात्रै आएका छन् । 

गाउँका दिदी बैनी सबै तीजमा आउने कुरो छ,
त्यही भएर दर पकाउन आजै सुरु छ ।

एक महिना अगाडि गायक दुर्गेश थापाले यो गीत सार्वजनिक गरे । दुर्गेशले गीतको टाइटल दिए, ‘हामी पनि नाच्नु पर्छ बीच्चबीचमा ।’ भिडियोमा दुर्गेशसहित सात जना देखिन्छन् । दुर्गेशको भिडियोमा पनि महिला अटाउँदै नअटाएका त हैनन्, तर यसमा पनि अराज केशवको जस्तै पूरककै रुपमा महिला आएका छन् । 

दुर्गेश र अराजकेशव मात्रै होइनन्, उनीहरुका समकालीन तथा अन्य थुप्रै गायकहरुले तीज गीत गाएका छन् । गायक पशुपति शर्माको स्वरमा आधा दर्जन गीत आइइसकेका छन् । बद्री पङ्गेनी, खुमन अधिकारी लगायत थुप्रै गायकले यो वर्षका तीज गीत गाइसकेका छन् ।

 

धेरैका धेरै तीज गीत सार्वजनिक भए पनि दुर्गेशको तीज गीत सबैभन्दा ‘हिट’ छ । भलै गीत रक शैलीमा छ । कतिपयले तीज गीत महिलाले मात्रै गाउनुपर्छ भनिरहेका बेला दुर्गेशले आफैँ गाए । त्यो पनि गितार किवोर्डमा रक शैलीमा । तर दर्शक तथा स्रोताले त्यही गीत मन पराए । नकारात्मकभन्दा सकारात्मक प्रतिक्रिया नै उनले बढी पाए । 

दुर्गेश समय परिवर्तन भइसकेको भन्दै तीज गीत महिला पुरुष जसले गाए पनि हुने बताउँछन् । गीतको शैलीको भाव नमरेको अवस्थामा महिला र पुरुष भनिरहनु नपर्ने उनको तर्क छ । “पश्चिमा वाद्यवादन प्रयोग गरेपनि मैले लय तीजकै राखेको छु । त्यसैले यसमा आपत्ति जनाउनु पर्ने कारण छ जस्तो मलाई लाग्दैन,” दुर्गेश भन्छन्, “कुरा उही हो, संस्कार र संस्कृतिलाई जोगाउने हो । चाहे त्यो काम महिला वा पुरुषले गरोस् । त्यसैले मैले पनि गाएँ ।”

अराजकेशव पनि तीज महिलासँगै पुरुषले पनि मनाउने भएकाले आफूले गाएको बताउँछन् । “महिलाले आफ्नो श्रीमानको दीर्घायूका लागि व्रत बसेजस्तै श्रीमानले पनि श्रीमतीको लामो आयुको कामना गर्दै ब्रत बस्न थालेका छन् । अविवाहित युवा र युवती पनि राम्रो श्रीमान् र श्रीमती पाउँ भन्दै ब्रत बस्न थालिसकेका छन्,” अराजकेशव भन्छन्, “महिला पुरुष समान हुन् भनिएको अवस्थामा पुरुषले पनि तीज गीत गाउँदा केही फरक नपर्ला भनेर गाएको हुुँ ।” कलाको क्षेत्रमा महिला र पुरुष भन्नु जायज नहुने उनको तर्क  छ । 

गायक हेमन्त शर्मा आफ्नो दुई दशक लामो सांगीतिक यात्रामा तीजका गीत नगाउने गायकको सूचीमा पर्छन् । यद्यपि उनी केटाले तीज गीत गाउनु हुँदैन भन्ने विचार राख्दैनन् । उनलाई तीज गीत गाउने अफर नआएको पनि होइन । तर गाएनन् । 

प्रकाशित मिति: : 2019-08-19 13:00:27

प्रतिकृया दिनुहोस्