'हजार वर्ष खडी, हजार वर्ष पडी, हजार वर्ष सडी'

जुम्लाको लाम्रा र हाँकु जोड्ने काठेसाँघु

गत साता तिलानदी बढेर जुम्लाको लाम्रा र हाँकु जोड्ने काठेसाँघु भत्कियो। तीन दशक पहिले पुनर्निर्माण गरिएको यो साँघु जीर्ण थिएन। सामान्य मर्मत नहुँदा र थोरै होशियारी नअपनाएका कारण भत्कियो।

नदीमा उर्लेको भेलले निरन्तर दबाव दिँदा एकापट्टिको पर्खाल भत्कियो र साँघु अड्याइरहेका बलिया खम्बा लडेर बगे। नदीको दक्षिणतिरका गाउँसँग आउजाउ एकाएक टुट्यो। अनि बल्ल थाहा भयो, स्थानीय समुदाय र सरकारसँग पुलको विकल्पमा कुनै तयारी रहेनछ।

यही तिलानदीको जुम्लाखण्डमा पूर्व चौधबीसदेखि पश्चिम रारालिहीसम्म करिब एक दर्जन साँघु झोलुंगे वा अरू कंक्रिटका पुलले विस्थापित भइसके। वा, हुने तरखरमा छन्। तर यो हाँकुसाँघु सबभन्दा ठूलो, दुई खण्ड जोडिएको निकै बलियो पुल थियो। परापूर्वदेखि अनवरत चलिरहेको र कहिल्यै यसरी सम्पर्क विच्छेद अनुभव नभएर होला कसैले यसको विकल्प सोचेनन्। यस्तै विपद नभोगेका र नदेखेका पुस्तामा पूर्वतयारी सोच कमजोर हुन्छ सायद।

केही दिन अवरुद्ध भए पनि स्थानीयले साँघु सामान्य मर्मत गरेर काम चलाएका छन्। विकल्प उपलब्ध नहुन्जेल आवश्यक मर्मत गरी भरपर्दो अवस्थामा पुर्याउन लागि परेका छन्। पुल उपभोग गर्ने आसपास सबै गाउँका मिलेर काम गरिरहेका छन्। जंगलबाट भीमकाय रुख ढालेर, खुर्केर, ताछेर बनाएका बडेमानका काठ (स्थानीय भाषामा 'मैदान') तान्दै ल्याउने र बनाउने प्रक्रिया ज्यादै संवेदनशील, जटिल र केही जोखिमपूर्ण हुन्छ।

बाह्रै मास व्यस्त हुने स्थायी संरचना भएकाले निकै सुझबुझले काम गरिन्छ। अहिले नदी बढेको छ, असोज नभई पानी घट्दैन। त्यसैले नदीमा बलिया खम्बा गाड्न सकिन्न। जेनतेन 'मैदान' जोडेर मान्छे र जनावर आउजाउ गर्न मिल्ने कामचलाउ साँघु बन्नेछ।

पक्कीपुल आवश्यक भएकाले सरकारी योजनाको खोजीमा विभिन्न निकाय धाउने क्रम पनि सुरू भएको छ। अब गाडी चल्नसक्ने पुल चाहिएको छ। ढिलोचाँडो कुनै योजना आउने छ। कंक्रिट, फलाम र सिमेन्टको पुल पुरानो शैलीमा बन्ने छैन। काठेपुलप्रति मान्छेको चासो घट्नेछ। अनि, कर्णालीमा सामुदायिक सहकार्यमा बन्ने मौलिक शैलीको एउटा विशिष्ट नमूनाको अवसान हुनेछ।

कुनै विशेष यान्त्रिक वा आधुनिक पद्धति नअपनाई सम्पूर्णतः स्थानीय समुदायको श्रमदान र रैथाने सीप प्रयोग गरी बनाइने यस्ता साँघुको ऐतिहासिक, साँस्कृतिक र पर्यटकीय महत्व छ। यसबारे चर्चा र संरक्षण गरिनु आवश्यक छ।

प्रकाशित मिति: : 2019-08-18 23:53:39

प्रतिकृया दिनुहोस्