स्मृतिमा सुभद्रा : चरित्रमा छुच्ची, व्यवहारमा ‘गुड हार्टेड’

तस्बिरः नेपाल न्यूज

काठमाडौं पशुपतिक्षेत्र परिसर स्वभावैले व्यस्त क्षेत्र, त्यसमा पनि पशुपति आर्यघाट जीवन विलयको अन्तिम स्थल। प्रत्येक घण्टा कोही न कोहीको देह धुवाँमा विलिन भइरहको हुन्छ। र, अस्तु बागमतीसँगै बगेर जान्छ।

पशुपतिलाई दायाँ आड लगाएर बागमती आफ्नै गतिमा बहिरहेको छ। दायाँपट्टि किनारमा शनिबार अरूबेला भन्दा मानिसको चहलपहल बाक्लिँदो छ। सर्वसाधारण, पत्रकार, राजनीतिकर्मी अनि कलाकर्मी सबैको उपस्थिति छ।

नेपाली कला क्षेत्रका ‘आमाहरू’ बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, भुवन चन्द, मिथिला शर्मासँगै कलाकारहरू राजाराम पौडेल, केशव भट्टराई, सुनिल थापा, करिश्मा मानन्धर, रेखा थापा, शिव श्रेष्ठलगायतको हुल निन्याउरो भावमा कुनै मृत शरीरको पर्खाइमा छन्। हातमा फूलका गुच्छा र माला लिएर उनीहरू अभिनेत्री सुभद्रा अधिकारीको पार्थिव शरीर पर्खिरहेका थिए।

नेपाली कला क्षेत्रमा ६० वर्षभन्दा बढी खर्चिएकी वरिष्ठ अभिनेत्री सुभद्राको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिन उनीहरू पर्खिरहेका थिए। अन्तिम बिदाइका लागि भावविह्वल थिए।

सुभद्राले आज साउन ३२ गते बिहान ८ बजे यो संसार छाडिन्। नेपाली कला क्षेत्रमा पूरै जीवन दिएकी उनी अन्ततः स्मृतिमा सीमित बन्न पुगिन्। काठमाडौं डल्लुस्थित निजी निवासमा देह त्यागेकी सुभद्रा उमेरले ७२ पुगेकी थिइन्। चार वर्षयता श्वासप्रश्वासको समस्याले ग्रसित उनको मृत्युको कारण पनि त्यही श्वासप्रश्वास नै बन्न पुग्यो।

स्मृतिमा सुभद्रा

बलराम र मीरादेवी चौरसियाको कोखबाट २००४ सालमा जन्मिएकी सुभद्राले बाल्यकालबाटै सङ्घर्षशील यात्रा तय गरेकी थिइन्। धर्ती टेकेको तीन वर्षमा बुबाको मृत्यु भएपछि सुभद्राको हेरविचार मामाघरमा भयो।

काठमाडौं इन्द्रचोकमा हुर्किएकी सुभद्रा नेवार समुदायको बाक्लो उपस्थिति अनि मठमन्दिरको सांस्कृतिक माहोलमा थिइन्। त्यही माहोलभित्र सङ्गीत र भजनको रौनक पनि उस्तै थियो, जसबाट उनी प्रभावित थिइन्।

यतिमात्र थिएन, सुभद्राकी आमा पनि गुरु उस्ताद बद्रीप्रसादसँग सङ्गीत सिक्ने गर्थिन्। सङ्गीतमय पारिवारिक पृष्ठभूमिबाट हुर्किएकी थिइन्, सुभद्रा। संयोग नै मान्नुपर्छ, चर्चित गायिका तारादेवी पनि सुभद्राकी मामाकी छोरी थिइन्।

६ वर्षको कलिलो उमेरमा नेपाल भाषाको नाटक ‘कच्चि मचा’ बाट रङ्गमञ्च अभिनय सुरु गरेकी सुभद्राले त्यसयता दर्जनौं नाटकमा अभिनय गरिसकेकी थिइन्। रङ्गमञ्चमात्र होइन, उनी ‘नागिन नृत्य’, ‘आरती नृत्य’, ‘ब्याले’ (नृत्य नाटिका) मा पनि उत्तिकै अब्बल थिइन्। उनले आफ्ना गुरु तथा नाट्यसम्राट बालकृष्ण समको निर्देशनमा बनेका ‘भक्त प्रह्लाद’, ‘बुहार्तन’, ‘नालापानी’ तथा ‘मुनामदन’ जस्ता धेरै नाटकमा अभिनय गरिसकेकी थिइन्।

त्यसपछि २०२० मा कृष्णप्रसाद अधिकारीसँग प्रेमविवाहपछि सुभद्राको अभिनय यात्रा केही समय रोकियो। २०२६ मा उनले नेपाल राष्ट्रिय नाचघर, जमलमा जागिर गर्न थालिन्। यहीँबाट सुरु भयो, सुभद्राको अभिनय यात्राको दोस्रो ‘इनिङ’। सुभद्राले नाचघरमा २०२६ देखि २०५७ सम्म जागिर गरिन्। तर, विडम्बना नै भन्नुपर्छ उनले जागिरमा स्थायी हुने मौकै पाइनन्।

चिरपरिचित कलाकार भएर पनि सरकारी जागिरमा स्थायी हुन नपाएको ‘पीडा’ उनले विगतमा सहकर्मी र सहधर्मीसँग पोख्दै आएकी थिइन्। यस्तो तुष उनले मनमै लिएर गइन्।

२०६६ सालमा श्रीमान कृष्णप्रसादले संसार छाडे, सुभद्राको साथ छोडे, उनी एक्लिइन्। केही समय पतिवियोगमा रुमल्लिएकी सुभद्रा पुनः कर्ममा फर्किन्। यस प्रसङ्गमा सुभद्राको रोचक कुरा के थियो भने, उनले श्रीमानको निधनपछि पनि निधारमा सिन्दूर र टीका भने कहिल्यै छाडिनन्।

उनी शनिबारबाट हामीमाझ नरहे पनि दुईवटा आत्मसंस्करण ‘दुईपाङ्ग्रे रथ’ र ‘सुभद्रा अधिकारी’ मा उनीबारे धेरै कुरा पढ्न पाइन्छ। यससँगै सुभद्राले जीवनको उत्तराद्र्धमा ‘सुभद्रा अधिकारी प्रतिष्ठान’ पनि सञ्चालनमा ल्याएकी थिइन्।
सुभद्राका एक छोरा सुनिल र छोरी सुरेखा छन्।

प्रकाशित मिति: : 2019-08-18 06:40:39

प्रतिकृया दिनुहोस्