इतिहास

'ऐतिहासिक जनआन्दोलनसम्म चार ठाउँका राजा अस्तित्त्वमा थिए'

File Photo
File Photo

मगरभाषामा गजुलको अर्थ दुई गाउँबीचको भू–भाग हुन्छ। यसको आसपासमा बस्ती भएकै कारण यसको नाम गजुल राखिएको हुनुपर्छ। प्राचीनकालदेखि यस क्षेत्रमा मगरहरूको बाहुल्य थियो। हामी मगरहरू आफूलाई सूर्यवंशी भन्दछौँ। हिमालीक्षेत्रमा बिहान नै सूर्यको किरण आइपुग्दछ। त्यही कारणले पनि पूर्खाहरूले आफूलाई सूर्यवंशी भन्नमा गौरव गरेका हुन सक्छन्।

मगरहरू विभिन्न थर र उपथरका भए पनि हाम्रा पूर्खा एउटै थिए। जनसंख्याको वृद्धिपछि बसाईसराई गरेर विभिन्न स्थानमा जाने क्रम सुरु भएपछि हाम्रा वंशजहरू विभिन्न भागमा फैलन पुगे। हिमाली क्षेत्रमा आएका भूकम्प, दैवी प्रकोपका साथै भौगोलिक जटिलताले पनि बसाईंसराईको क्रम बढेको हुन सक्छ। पैतृक थलो छाडे पनि नजानेर मानिसले पूर्खाको इतिहासलाई जीवन पद्धतिमा अपनाई राखेकै हुन्छन्। हाम्रा भाषा, लवज, संस्कार आदिबाट पूर्खाको पहिचान गर्न सजिलो हुन्छ। हालसम्म मगरहरू झण्डै हजार उपथरमा विभाजन भइसकेका छन्। जति भागमा विभाजन भए पनि हाम्रा परम्परा, संस्कृति, जीवनशैलीमा समानता पाइन्छ।

मगरात राज्यमा राजाका निकटस्थ र प्रभावशाली भारदारलाई झिम्झे भनिन्थ्यो। झिम्झेहरू पदीय दृष्टिले उच्च र सम्मानीत मानिन्थे। उनीहरू जिम्मेदार र कर्तव्य निष्ठ हुन्थे। खसभाषाको प्रयोग भएपछि 'झिम्झे' शब्दको ठाउँमा 'घर्ती' शब्द प्रयोग भयो। हाम्रा पूर्खा गजुलराज्यका अठार मौजाका मुखिया हुनुहुन्थ्यो। पहिलो काजी पदचाहिँ बगाले थापाले सम्हालेका थिए। गजुलराज्यको पहिलो मुखिया बन्ने सौभाग्य नयन पुनलाई मिलेको थियो। कालीनदी पश्चिममा १८ कोट भनिए पनि यसको सङ्ख्या योभन्दा धेरै थियो। राजाहरूले राज्यलाई पैतृक सम्पत्ति सरह अंशबण्डा लगाउने, बलिया सामान्त आफैँ राजा बन्नेलगायतका परम्पराले यिनीहरूको संख्या घटबढ भइरहन्थ्यो। कालीनदी पश्चिममा रहेका कोटहरूमा सर्पाकोटका अन्तिम राजा नीलम्बर थिए। कालीनदी पूर्वका १२ कोट भनिए पनि यसको संख्या योभन्दा धेरै देखिन्छ। गोरखाको अन्तिम राजा मानसिं खड्का थिए। उनले गोरखामा शासन गरेका थिए।

हाम्रा पूर्खा र थापाका पूर्खाले रुकुमको राजालाई मान्नुपर्ने रहेछ। राजालाई भेटेर आउने जाने क्रममा राज्य टाढा भएको चर्चा गरेछन्। हाम्रा पूर्खा र बगाले थापाका पूर्खाहरूले आफ्नै क्षेत्रमा राजा बनाउने निर्णय गरेछन्। संयोगवश यही समयमा सल्यानका राजाको अचानक मृत्यु भएछ। राजाका भाइ तुथासिंलाई राजा बनाउने दरबारीया भारदारहरूको सल्लाह भएछ। तुथासिं धर्मात्मा स्वभावका थिए। उनलाई राज्यको मोह थिएन। राजा बन्नका लागि भाउजूसँग विवाह गर्नुपर्दथ्यो। यी सबै कुरालाई तिलाञ्जलि दिएर उनी जोगीको भेषमा तीर्थाटनका लागि निस्किएछन्। गजुलराज्य रुकुमकोटअन्तर्गत पर्दथ्यो रुकुमकोटलाई हाम्रो भाषामा ‘सर्पाकोई' भनिन्थ्यो, 'कोई' को अर्थ कोट हुन्छ।

राजा बन्न राजसी स्वभाव, राज खानदान हुनुपर्दथ्यो। हाम्रो क्षेत्रमा नयाँ राजा बनाउन, यस्तो गुण सम्पन्न मानिस हाम्रा पूर्खा र थापाका पूर्खाले खोज्दै थिए। जसले राजा भेट्छ उसले काजीको पद पाउने र अर्को मुखीया हुने सम्झौता दुवैका पूर्खाकाबीचमा भएछ राजा बन्न योग्य व्यक्ति छनौटका लागि उनीहरूले एउटा सूत्र बनाए छन्। सर्वसाधारण मानिस भूईंमा बस्छ तर राजा वा राजखानदानको मानिस आसनबिना बस्दैन। राजा खोज्ने क्रममा हाम्रा पूर्खाहरूले 'दिही' भन्ने ठाउँमा पोखरी बनाई वरपरको भूमिलाई समतल बनाएछन्। यो ठाउँ मूलबाटो थियो। बगाले थापाहरूले ठाँटी भन्ने ठाउँमा त्यस्तै काम गरेछन्। दुवैले बाटो हिँड्ने यात्रीमाथि सचेत भएर चिहाउन थालेछन्। यही समयमा तुथासिं जोगीको भेषमा ठाँटीमा आइपुगेछन्। उनले बस्नका लागि वरपर आसन खोजेछन्। उपयुक्त आसन नपाएपछि गम्सा ओछ्याएर बसेछन्। यात्रीको गतिविधिलाई हेरेर बसेका थापाहरूलाई तुथासिमाथि शंका लागेछ र सोधपुछ गरेछन्। छद्म भेषमा आएका तुथासिले पहिले त आफ्नो वास्तविकता लुकाएछन्। अनेक प्रश्नहरू सोध्न थालेपछि वास्तविकता बताई दिएछन्। थापाहरूले उनलाई सम्झाई बुझाई गजुलक्षेत्रको राजा बन्न अनुरोध गरेछन्। अब थापाहरू काजी बन्ने र हाम्रा पूर्खाहरूले चाहिँ अठार मौजाको कार्यभार सम्हाल्ने पक्का भयो। तथासिको घरबार चलाउन् एवं नयाँ राज्यको स्थापना गर्न दुवैका पूर्खाहरूले अर्को रणनीति तयार गरेछन्।

तुथासिको विवाह भएको थिएन। रुकुमकोटमा दारेजैतम राजाले राज्य गर्दथे। तुथासिको चिना लिएर रुकुमकोटकी राजकुमारी माग्न हाम्रा र बगाले थापाका पूर्खा गएछन्। चिना जुरेपछि दारेजैतमले छोरी तुम्बावती दिन तयार भएछन्। विवाह सम्पन्न भएपछि दुरान फर्काउन तुथासि ससुराली गएछन्। थापा र हाम्रा पूर्खाले तुम्बावतीलाई एउटा अभिनय गर्न लगाएछन्। यही नियमलाई पालना गरेर उनी माइतबाट फर्कने बेलामा बेस्सरी रुइछन्। बुबा आमाले 'किन रोएको ?' भनेर सोध्दा उनले भनिछन् 'म त्यहाँ के गर्न जाने ? न त राज्य ? न त भारदार ? बुबाले के हेरेर मेरो विवाह गराइदिनुभयो ?'

छोरी तुम्बावतीको विलौना सुनेर राजा र रानीको मन पग्लियो। अठार मौजा अर्थात् गजुल, खुमेल, खुड़ी, रेउघा, धाङ्सी, लिवाङ, धवाङ, होवामा, मिझिङ, हरीगाऊँ, मैरी, जेवाङ, खेमासे, मनघा, क्वालीगाऊँ, हिले, नुवाकोट, जकोट मौजाको अठारवटा भयो तुम्बावतीले पाउने भइन्। छोरीलाई खुशी बनाएर यसरी दारेजैतमले छोरीज्वाईलाई बिदाई गरे। मौजाको मालिक राजा हुन्थे। यसरी प्रत्यक्ष रूपमा तुथासिं राजा बने। यसपछि औपचारिक रूपमा रुकुमकोटको कार्यभार छोडेर दाइजोको रूपमा आएको गजुलको १८ मौजाका काजी र मुखिया पद क्रमशः बगाले र हाम्रा पूर्खाले सम्हाले। यसपछि आफ्नो थर ‘पुन' लेख्दै आएका हाम्रा पूर्खाहरूले घर्तीमगर लेख्न थाले। राजदरबारका इमान्दार, विश्वासिला र निकटवर्ती कर्मचारी हुनाले हाम्रा पूर्खालाई 'घर्ती' भन्ने पद्वी दिइयो। गजुल राज्य स्थापना गर्न एवं त्यसलाई व्यवस्थित गर्नका लागि हाम्रा पूर्खाको योगदान महत्वपूर्ण छ। दरबार एवं राज्यमा शुभ, अशुभ कार्य एवं धार्मिक अनुष्ठानका लागि ब्राह्मणको आवश्यकता पर्दथ्यो। ब्राह्मण खोज्न हाम्रा पूर्खा अहिलेको प्युठान जिल्लाको सेपुङ भन्ने ठाउँमा पुगे। पढेलेखेका पण्डितहरू आउन नमानेपछि सुवेदी थरका एक बच्चा बोकेर ल्याए रे। उनीहरूकै सन्तान अहिले पनि त्यस क्षेत्रमा बस्दै आएका छन्।

तुथासिंको शासन व्यवस्था राम्रो रह्यो, उनलाई जनता र समयले साथ दियो। बीचमा राजा र हाम्रा पूर्खाबीच कहाँ ? के विषयमा ? कुरा मिलेन पुरोहित, काजी, मुखिया तीनै थरीलाई राज्यबाट निकालिदिए रे। सुवेदीले सम्हाल्दै आएको पुरोहित पदमा जाजरकोटको जक्तीपुरबाट ल्याइएका आचार्य थरका ब्राह्मण नियुक्त गरियो। काजीलाई निकालेर अन्य बगालेका सन्तान नियुक्त गरे। हाम्रा पूर्खा नयन पुनः लाई निकालेर जकोटका पुनमगरहरूलाई नियुक्त गरियो। पदबाट हटेपछि हाम्रा पूर्खा हालको प्युठानस्थित बेलाबास भन्ने ठाउँमा पुगेछन्। राज्यका मूल मुखियाले पचास तोलाका सुनजडित टोपी लगाउने चलन थियो रे। उनको लवाई देखेपछि मुखिया पद सम्हाल्नका लागि अनुरोध गरेछन्। भर्खरै एउटा राजाले अपमान गरेका कारण त्यस पदलाई हाम्रा पूर्खाले स्वीकार गरेनन् र मुखिया हुँदा लगाएको टोपीलाई रु. ५० मा बेचेछन्। उनी प्युठानकै भिड्रीमा बस्न थाले। यही नै उनको देहावसान भएको थियो।

नयनका छोराहरू क्रमशः नीलकण्ठ, हृदु, चमारे, भोगे गरी चार भाइ थिए। चमारे चाहिँ हालको प्युठानको किमुचौरमा, हृदु रोल्पाको हरिगाउँमा, भोगेचाहिँ रोल्पाको खुमिलमा बस्न थाले। नीलकण्ठचाहिँ मिझिङमा आएका थिए। हामी उहाँकै सन्तान हौं। नीलकण्ठका छोरा दिलमन, दिलमनका छोरा लगन, लगनका जेठा छोरा भद्रवीरले मुखिया बन्न नचाहेपछि लगनका कान्छा छोरा जगवीर मुखिया बने। भद्रवीरका छोरा कलिराम, कलिरामका छोरा सन्तके, सन्तकेका छोरा नरबहादुर हुनुभयो। परमात्माको अनुकम्पाले यही वंशमा म नरबहादुरको जेष्ठ पुत्रको रूपमा जन्मन पाएँ। मभन्दा दश पुस्ता अगाडिदेखि सम्हाल्दै आएको मुखिया पद, मेरो जीवनकालमा यो व्यवस्था उन्मुलन भयो। दैवको इच्छा, पितापूर्खाको आशीर्वाद, त्यस क्षेत्रका मानिसहरूको प्रेरणा, सद्भावले गर्दा मैले जीवनमा धेरै ठूला अवसरहरू पाएँ। जनताको अपेक्षाअनुसार काम गरेँ कि गरिनँ ? थाहा छैन तर देशको कुभलो, जनताको अहित हुने कार्य भने अवश्य गरिनँ भन्ने विषयमा म ढुक्क छु।

म फेरि इतिहासतिर फर्कन चाहन्छु। तुथासिका धीर्जपाल र कर्णपाल नामका दुई छोरा थिए। उनले दुवै छोरालाई खुमिलघाटको सीमाना राखेर गजुलराज्य अंशका रूपमा विभाजन गरिदिए। खुरीमा कर्णपाल र गजुलमा धीर्जपालले शासन गर्न थाले। धीर्जपालको गजुल राज्य राम्रोसँग चल्यो। उनी धनी र सबल हुँदै गए। कर्णपालले केही वर्ष नुवाकोटमा बसेपछि खुझीकोटबाट शासन गर्न थाले। त्यतिबेलाका राजा, राजकुमारहरूको जीवन साधारण हुन्थ्यो। कर्णपाल गरिब हुँदै गए। उनले धीर्जपालाई मिझिङ गाऊँ बेचिदिए। मैले पाएको ताम्रपत्रका अनुसार धीर्जपालले जम्मा रु. १८०० (अठार सय) मा मिझिङ गाऊँ किनेका रहेछन्। धीर्जपालले कर्णपालसँग के शर्त गरेछन् भने 'मिझिङगाऊँको पैसा भुक्तान गरेमा फिर्ता गरिदिने। यसका लागि कर्णपालले दुनियाँ (जनता) बाट पैसा उठाउन पाउने छैनन्।'

कर्णपालले ऋण तिर्न सकेनन् र मिझिङ गजुल राज्यमा नै गाभियो। खुड्री र गजुल राज्यलाई उनीहरूकै सन्तानले राज्य गर्दै आए। नेपाल एकीकरणको क्रममा गोरखा सैनिकले गजुललाई 'आत्मसर्मपण गर्न' भनेका थिए रे। गजुलले यसलाई स्वीकार गरेन। गोरखाली सैनिकले उनीहरूलाई आफ्नो अधिनमा लिए। यसरी गजुल विशाल नेपालमा समाहित हुन पुग्यो। खुरीका राजाले युद्ध नगरी आत्मसर्मण गरे। यो कुरा खुरीका एक जना ठकुरी सैनिकलाई विल्कुलै मन परेन उसले तरबार निकालेर सय जना गोरखाली सैनिकलाई एक्लै काटेछन् रे। गोरखाली सेनापतिले ‘तिमीले के चाहन्छौं ?' भन्दा खुरी राज्य थामि पाऊँ भनी माग गरेछन्। यसरी खुझी छुट्टै राज्य भयो र ती सैनिकलाई सम्मानका साथ गोरखाली सैनिकमा नियुक्त गरियो। अधिकांश गोरखाली सैनिकहरूले युद्धका क्रममा परिवार साथै लैजाने चलने थियो। उनीहरूलाई चाहिने रसद पानी सम्बन्धित गाउँलेहरूले जुटाउँथे। सैनिकहरूलाई खानका लागि अन्न कुत बुझाउने चलन थियो। सैनिकहरूलाई राज्यबाट खानपानको व्यवस्था गर्नै पर्दैनथ्यो। खुझरी राज्य धेरै पछाडिसम्म छुट्टै राज्यको रूपमा रह्यो।

फत्तेप्रचण्डबहादुर सिंको पालामा अर्थात् वि.सं. २०१८ सालमा त्यो राज्य विशाल नेपालमा मिल्यो। राजा महेन्द्रले विर्ता उन्मुलन, राज्य रजौटा उन्मूलन नीतिमार्फत सानातिना राज्यलाई नेपालमा गाभेका थिए। २०६२/६३ सालको जनआन्दोलनपछि बाँकी रहेका चार राजाहरूको अस्तित्त्व नै समाप्त भयो। यसअघिसम्म चारवटा राजाले भत्ता पाउँथे।

खुरीका अन्तिम राजा फत्तेप्रचण्डले जीवनभर भत्ता पाए। प्रारम्भमा उहाँको वार्षिक तीन हजार भत्ता थियो। कोटपूजाको लागि आवश्यक पर्ने सबै व्यवस्था नेपाल सरकारले मिलाई दिन्थ्यो। राजा महेन्द्रले इच्छा गर्नु भएको भएर सबै राजाहरूलाई हटाउन सक्नुहुन्थ्यो। उहाँलाई कसैले भनेछ 'नेपालमा अरु राजा रहे मात्र नेपाल नरेश 'महाराज' हुनुहुन्छ। त्यसकारण अन्य राजा हटाएर सल्यान, मुस्ताङ, जाजरकोट र बझाङका राजा राख्दा राम्रो होला।' यसैले चार ठाउँका राजा ऐतिहासिक जनआन्दोलनसम्म अस्तित्त्वमा थिए।

पुराना राजनीतिज्ञ घर्तीमगरको पुस्तक 'ऐतिहासिक घटनाक्रम भाग–१' बाट

प्रकाशित मिति: : 2022-10-27 17:22:00

प्रतिकृया दिनुहोस्