बनारसमै हुँदा बीपी कोइरालाले मदनमणिलाई छात्र संघको सभापति हुन आग्रह गरेका थिए। तर आफ्ना पूर्वज चन्द्रसेवक भएको र कोइराला परिवार चन्द्रविरोधी भएको हुँदा दीक्षित अस्वीकार मात्र गर्दैनन्, नेपालमा राणालाई बिन्तीपत्रसमेत पठाइदिन्छन् पोल खोलेर।

मदनमणि दीक्षित (१९७९ फागुन ६—२०७६ साउन ३०) आफ्नो लामो जीवनयात्रा सधैं चौबाटोमा उभिएको बताउँथे। उनका चार बाटा थिए— अध्ययन, राजनीति, पत्रकारिता र साहित्य। उनले साहित्यलाई मूलबाटो भने पनि अरू तीन बाटा सहायकजस्ता लाग्दैनन् हामीलाई।

मदनमणिले बहुचर्चित ‘माधवी’ उपन्यास त्यस्तो बेला लेखेका हुन् जतिबेला उनले जिउमा पेट्रोल खन्याएर राजदरबारअघि आत्मदाह गर्ने निर्णय गरेका मात्र होइन, स्वर नचिनिने गरी पत्रकारसमेत बोलाइसकेका थिए। खासमा यो उपन्यास प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाल र सञ्चार राज्यमन्त्री राधा घिमिरे (मदनमणिले यो प्रसंग लेख्दा यी दुईलाई ‘अपराधी’ लेखेका छन्) को ‘समीक्षा’ पत्रिका बन्द गर्ने कदमविरुद्ध ‘देखाइदिन्छु’ भनी लेखिएको ‘धम्की’ हो। त्यही ‘धम्की’ आज नेपाली साहित्यको एक नम्बरी उपन्यास लाग्छ मलाई।

‘धनवज्र वज्राचार्य : स्मृति र स्पन्दन’मा पुराविद् एवं संस्कृतज्ञ महेशराज पन्तले मदनमणि दीक्षितबारे लेखेका छन्, ‘नेपालका च्यान्टे च्यान्टे पत्रकारहरूमध्ये अग्रगण्य चिन्तक।’

पन्त ‘मदनमणिको चन्द्रशमशेर’ लेखमा लेख्छन्, ‘मेरो कैशोर्य र यौवनको त के कुरा गर्नु, अहिले पनि उनको जोडाका पत्रकार पाउन मुस्किल नै छ जस्तो मलाई लाग्छ। म १६ वर्ष नपुग्दै उनले निकाल्न थालेको साप्ताहिक ‘समीक्षा’को एउटा अंक छापिएपछि अर्को अंक नआएसम्म म त्यो पत्रिका अधीर भएर पर्खिरहन्थेँ। चक्रपाणि’ छद्मनामले जस्तो लाग्छ, उनले त्यहाँ लेख्ने गरेको ‘व्यक्तित्वको खोजी’ भन्ने कोलममा त्यस ताका चर्चित नेपालीहरूको विषयमा लेखिएको हुन्थ्यो। खासगरी, उनको त्यस कोलममा म फिदा नै थिएँ। ती कोलम अहिलेको सन्दर्भमा पनि त्यत्तिकै पठनीय छन् भन्ने म ठान्छु। तर ती कोलमलाई मैले जोगाएर राख्न सकिनँ, यसैले तिनमा लेखिएका कुरामध्ये केही मेरो स्मृतिमा रहे पनि ती पूरा कोलम फेरि जिउँका तिऊ छापियून् भन्ने मेरो इच्छा छ।’

पन्तको इच्छा पूरा हुने भएको छ। मदनमणिका स्तम्भ–लेखहरूको संकलन कृष्ण अविरल छाप्तै छन्। उनले मदनमणिका धेरै पुस्तक अहिले भटाभट छापिरहेका छन्। ‘मेरी माता’, ‘भूमिसूक्त’, ‘हिन्दूसंस्कृतिको परिशीलन’, ‘ऋग्वैदिक नारी चरित्र’ जस्ता पुस्तक प्रकाशन–पुनप्र्रकाशन गरिरहेका छन्।

प्रकाशित मिति: : 2019-08-17 15:32:48

प्रतिकृया दिनुहोस्