अफगानी महिला खात्रा हाशमी सन् २०२० मा तालिवानकाे आक्रमणमा परिन्। प्रहरी भएकै कारण तालिवानले उनीमाथि पटकपटक गाेली चलायाे। चक्कुले खुट्टामा प्रहार गरी मरणास्नन बनायाे। उनले दुवै आँखा गुमाइन्। तरपनि खात्राले हिम्मत हारिनन्। तालिवानीलाई मात दिँदै उनी बाँच्न सफल भइन्। र, अहिले भारतमा बस्दैआएकी छिन्।
सन् २०२० काे जनवरी महिना। विद्राेही तालिवानले अफगानमाथि कब्जा जमाउन दूर्तगतिमा अगाडि बढिरहेकाे थियाे। अफगानिस्तान कब्जा गर्न उनीहरूले कुनै कसुर छाडिरहेका थिएनन्। ठाउँ–ठाउँमा बम राख्ने, बिनाकारण अफगानीहरूकाे हत्या गर्ने र दिनदहाडै अरूका छाेरी–चेली उठाउने तालिवानीकाे दिनचर्या बनिसकेकाे थियाे। त्यसमाथि तालिवानीहरू अफगानी महिला प्रहरीकाे लागि अझै बढी खतरापूर्ण थिए।
तालिवान जिहादीहरू महिला प्रहरीलाई फाेन गर्दै धम्कीसमेत दिइरहेका हुन्थे। तर, देशकाे सेवामा खटिएका उनीहरूलाई तालिवानीकाे धम्कीसँग कुनै डर थिएन। अफगान प्रहरी विद्राेही तालिवानकाे यस प्रकारकाे रवैया राेक्न हरप्रयास गरिरहेकाे थियाे। तर, अफगान प्रहरी तालिवानसमक्ष दिनप्रतिदिन निराही बन्दै थियाे। प्रहरीले हार भने पटक्कै मानेकाे थिएन।
मार्च महिनापछि तालिवानले अफगानिस्ताका विभिन्न ठाउँहरूमा गोप्य रूपमा आक्रमण गर्न थाल्याे। उनीहरूकाे अत्याचार पनि दिनप्रतिदिन बढ्दै गयाे। तालिवानीहरू राम्री युवती देखिहाले युवती पक्षलाई जानकारी नै नगराई बाजागाजासहित उनीहरूकाे घर जाने र जबर्जस्ती केटी ल्याउने गर्थे। र, यदि कसैले उनीहरूकाे विराेध गरे कि उसकाे परिवार नै गायब हुन्थाे कि त अपहरण गरेर केटी लैजान्थे।
प्रहरीले पनि यसविरूद्ध काम गर्न थालिसकेकाे थियाे। खात्राले पनि तालिवानीहरूविरूद्ध आवाज उठाउन थालिन्। उनी हरेक दिन अफगानी प्रहरी अफिसरहरू कहाँ गएर म पनि प्रहरीमा भर्ना हुन चाहन्छु भन्थिन्। तर, उनकाे पढाइ कम भएकाेले त्याे बेला प्रहरीमा भर्ती हुने सम्भावना थिए।
त्यही क्रममा एकदिन प्रहरीले खात्राले तालिवानहरूलाई भेटेकाे शंका गर्दै उनीमाथि अनुसन्धान गर्याे। प्रहरीले अनुसन्धानकाे क्रममा खात्राले पनि तालिवानविरूद्ध आवाज उठाइरहेकाे थाहा पायाे। त्यसपछि त प्रहरीलाई अरू के चाहियाे र तत्काल भर्ती लियाे। प्रहरीमा भर्ती भएपछि खात्राले सुरक्षाकाे जिम्मेवारीसँगै पढाइ पनि पूरा गरिन्। त्याे अवधिसम्म उनले अफगानी प्रहरीमा बिनातलब काम गरेकी थिइन्। कठाेर मिहेनतपछि जतिबेला उनले आफ्नाे कमाइ बुझ्दै थिइन्, त्यतिबेलै उनका दुबै आँखा गुमे। उनले आफ्नाे परिश्रमकाे कमाइ पनि उनले देख्न पाइनन्।
खात्रालाई उनका बुवाले भनेकै थिए, ‘अफगानी प्रहरीमा जानु तालिवानीकाे गाेली थाप्न तयार हुनु सरह हाे।’ तर, उनकाे रहरकाे अगाडि त्याे अप्रिय भनाइ केही पनि थिएन। उनी प्रहरीमा भर्ती भएर अफगानी महिलालाई सहयाेग गर्न चाहन्थिन्। उनी त्यसैमा खुसी थिइन्। तर, उनकाे खुसी धेरै दिन टिकेन। उनी प्रहरीमा भर्ती भएकाे तीन महिनामा नै तालिवानकाे आक्रमणमा परिन्।
तालिवानकाे आक्रमणमा पर्दा खात्रा गर्भवती थिइन्। उनकाे काेखमा एक नयाँ जीवन हुर्कँदै थियाे, जसलाई जन्म दिएर धर्ती देखाएर आफ्नाे आँखाअघि हुर्काउने जिम्मा थियाे। अफसाेच, तालिवानले उनकाे आँखासमेत छुरीले निकालिदिए। ‘तालिवानलाई अफगानिस्तानमा महिला प्रहरी अफिसर भएकाे मन परेकाे थिएन, उनीहरूले मलाई फोन गरेर धम्की नदिएकाे पनि हाेइन,’ उनले भारतीय मिडिया दैनिक भाष्करसँग भनेकी थिइन्, ‘एकदिन, म प्रहरी चौकीबाट घर जाँदै थिए, तालिवानले ममाथि आक्रमण गरे। गाेली चलाए, म भूइँमा लडेँ। चक्कुले खुट्टामा १० पटकसम्म प्रहार गरे। म बेहाेस् भइसकेकी थिएँ। र, म बेहोस भएपछि मेरा दुबै आँखा छुरीले निकाले।’
पाँच दिनपछि खात्राकाे हाेस त खुल्याे तर उनका गुमे। उनले पूरै संसार नै कालाे देख्न थालिन्। पहिलाे कमाइकाे पैसा हेर्न चाहन्थिन् तर पाइनन्, स्पर्शमै सिमित रह्याे त्याे खुसी। ‘तालिवानले आक्रमण गरिराख्दा जबर्जस्ती सास राेकेर बसेँ, त्यसपछि उनीहरूले म मरेकाे ठानेर भागे। पछि अफगान प्रहरीले अस्पताल लगे,’ उनी त्याे दुखद क्षमरण गर्दै भन्छिन्, ‘पाँच दिनपछि हाेस आउँदा, मेराे आँखा थिएनन्। म पूरै आँखा नदेख्ने भएँ। तीन महिना मात्रै प्रहरीको जागिर गर्न पाएँ, पहिलो तलबको पैसा पनि आँखाले देख्न सकिनँ।’
उनका आँखा त छन् तर दृष्टि छैन। उनी न त संसार देख्न सक्छिन्, त न दुःखमा आँशु बगाउन। त्यसैले त भन्छिन्, ‘आँखा नभएपछि आँसु कहाँ हुन्छ र, दुबै आँखा ढुङ्गाका छन्। म एउटा जिउँदो लाश हुँ, छोराछोरीको लागि मात्र बाँचिरहेको छु। अल्लाहले मेरो सबैथोक लग्यो।’
अहिले पनि खात्राका शरीरभर गोलीका स–साना टुक्राहरू छन्, सँगै दुखाइ पनि छ। ‘शरीरमा अझै पनि गोलीका टुक्राहरू छन्। डाक्टरले शल्यक्रिया गरेर गोलीका टुक्राहरू निकाल्ने प्रयास पनि गरे। दर्जनौं औषधिको सुईसमेत दिए। तर, मेरो टाउकोमा अझै दुई वटा गोली छन्। अब कहिले निस्कन्छ थाहा छैन। उपचार भइरहेको छ,’ उनी भन्छिन्।
तालिवानको आक्रमणमा पर्दा गर्भवती रहेकी उनको हाल दुईवर्षको छोरी छिन्। उनी आफनी छोरीलाई हेर्न चाहन्छिन्, उफ्रिएको, कुदेको हेर्न चाहन्छिन्। त्याे सम्भव छैन। ‘तालिवानले आक्रमण गर्दा यो बच्चा पेटमा थियो। मैले सोचेकी पनि थिइन्, बच्चा सकुशल जन्मन्छ भनेर,’ उनले भनिन्,‘त्यसपछि धेरै पटक आत्महत्या गर्ने प्रयास गरेँ। तर, श्रीमान छाेरीलाई मुख हेरेर भए पनि बाँच्ने साेच बनाएँ। अब मलाई लाग्छ, म मेरा बच्चाहरूको लागि बाँचिरहेकी छु। मेरी छाेरी कस्तो देखिन्छिन्, (हाँस्दा) कस्तो देखिन्छिन्। मैले आफ्नै आँखाले देख्न सक्दिनँ। यो जन्मिनुअघि नै म आँखा नदेख्ने भएँ। अब म मेरो दिमागको आँखाले मात्र देख्न सक्छु।’
प्रहरी सेवामा हुँदा खपेकाे डरलाग्दो घटना खात्राकाे दिमागमा अझै पनि ताजा छ।
‘जब म प्रहरीमा भर्ती भएँ, मलाई हरेक दिन विभिन्न नम्बरहरूबाट धम्कीपूर्ण कलहरू आउन थाले तर म डराइनँ,’ उनले त्यही घटना फरि स्पमरण गर्छिन्,‘म माथि ३ तालिवानले आक्रमण गरेको थियो। सबैले मास्क लगाएका थिए। आक्रमणको क्रममा मैले तिनीहरूमध्ये एकको कलरमा मेरो हात राखेँ र मास्क तानेँ। मास्क तानेपछि मैले उसको अनुहार देखेँ। उनीहरूलाई मैले चिनेको जस्ताे लाग्याे अनि मैले जबरजस्ती सास रोकेँ। त्यसपछि उनीहरूले म मरेको ठानेर त्यँहाबाट हिडेँ। पछि अफगानी प्रहरीले अस्पताल लग्यो।’
खात्राकाे सानैदेखिकाे इच्छा थियाे, धेरै पढने। तर, घरकाे आर्थिक स्थिति कमजाेर हुँदा खात्राकाे बुवाले पैसाकाे लाेभमा खात्राकाे १२ वर्षकाे उमेरमा नै विवाह गरिदिएका थिए। ‘अब्बु (बुवा)ले पैसाको लोभमा सात वर्षकाे हुँदा मेराे इन्गेजमेन्ट गराए र १२ वर्षमा विवाह गरिदिए,’ उनले भनिन्, ‘घरकाे आर्थिक अवस्था कमजाेर थियाे। मलाई धेरै पढ्न मन थियाे तर अब्बुकाे पढाउन सक्ने क्षमता थिएन। त्यसैले पनि सानै उमेरमा विवाह गरिदिए। तैपनि म अफगान प्रहरी अफिसर भएँ। तर, अल्लाहले मेराे सबैथाेक लग्याे।’
अहिले अफगानिस्तानमा उनका बुवा आमा, पहिलो श्रीमान, दुई छोरा र एक छोरी छन्। पहिलो श्रीमानबाट तीन सन्तान जन्मिएका थिए। हरेकदिन तालिवान उनको घरमा जान्छन र खात्राबारे सोधपुच्छ गर्छन। तर, उनी तालिवान रहेसम्म अफगान जाने पक्षमा छैनन्।
अहिले उनी भारतमा दाेस्रो श्रीमानसँग छिन्। पहिलो श्रीमान खात्राभन्दा ४० वर्ष जेठा हुन्। घरमा सधैं झगडा भइरहने र श्रीमानले सबै सम्पत्ति बेचेपछि खात्राले पनि आफूले मन पराएको मान्छेसँग दाेस्राे विवाह गरेकी थिइन्। अब खात्राको एउटै मात्र चाहना छ, अफगानमा रहेका आफ्ना तीन सन्तान भारत ल्याएर सँगै राख्ने।
आँखा नहुँदैमा मानिस दृष्टिविहीन नहुने बताउँछिन् उनी। उनलाई शिक्षा नै पहिलो ज्योति हो भन्ने लाग्छ। ‘आज म आँखाको अभावले दृष्टिविहीन छु। तर, जुनदिन आँखा थियो, त्यो दिन पनि दृष्टिविहीन नै थिएँ,’ उनले भनिन्, ‘शिक्षा भनेको आँखाको ज्योति हो भन्ने मेरो मान्यता हो।’ एजेन्सीको सहयोगमा