प्युठानवासीको प्रश्न– जिल्लाले नेता जन्मायो, आफूले के पायो?

धेरै वामपन्थी नेता जन्माएको प्युठानले नेकपाका महत्वपूर्ण विभागको जिम्मेवारीसमेत पाएको छ। पार्टीको शक्तिशाली विभागमध्येको एक संगठन विभाग बामदेव गौतमले पाए। प्युठानमा जन्मथलो भएका नेता गौतमले महत्वपूर्ण विभाग पाउँदा जिल्लावासीमा आशा चुलिनुपर्ने हो, तर नेताहरुले बेवास्ता गरेको स्थानीयको गुनासो रहेको छ।

शुक्रबार बसेको नेकपाको सचिवालय बैठकले नेता गौतमलाई उपाध्यक्ष बनाउने निर्णय पनि गरेको छ। गौतमका अतिरिक्त स्थायी कमिटी सदस्य मणि थापालाई साहित्य, कला, संस्कृति विभाग प्रमुख दिइएको छ। अर्का प्युठानी नेता तथा नेकपाका केन्द्रीय सदस्य सूर्य थापालाई प्रकाशन तथा प्रचार विभाग उपप्रमुख बनेका छन्। विभागमा महिला नेतृत्व समावेश गर्दा नेतृ रेखा शर्मालाई प्रशासन उपप्रमुखको जिम्मेवारी दिने निर्णय भएको थियो।

प्रमुख दलको केन्द्रीय तहमा प्युठानी नेताको उल्लेखनीय प्रतिनिधित्व भएपछि सामाजिक सञ्जालमा प्युठानीहरुले खुसी व्यक्त गर्दै  नेताहरुलाई बधाई तथा शुभकामना सन्देश लेखेका छन्। 

स्थानियदेखि दलको केन्द्रीय तहको राजनीतिमा प्युठानी नेताहरुको राम्रै हैसियत देखिए पनि उनीहरुले सत्ता र शक्तिलाई जिल्लाको विकासमा उपयोग गर्न नसकेको उनीहरुको टिप्पणी छ।  देशभक्त गणतान्त्रिक मोर्चाका अध्यक्ष मोहन वैद्य (किरण), नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, नेकपामा  बामदेव गौतम, केन्द्रीय सदस्य सूर्य थापा, लीलामणि पोखरेल, कृष्णध्वज खड्का, मणि थापा, समाजवादी पार्टीका नवराज सुवेदी, नेता कृष्णध्वज केसी लगायतका नेता अहिले पनि पार्टीको केन्द्रीय जिम्मेवारी तहमा क्रियाशील छन्। 

पञ्चायतकालमा टंकबहादुर विष्ट सहायक गृहमन्त्री भएबाहेक केन्द्रीय सत्तासँग प्युठानको पहुँच थिएन। तर, दोस्रो संविधानसभा निर्वाचनपछि राज्यको उच्च तहमा प्युठानीहरुले अवसर पाए। दुई वटा निवार्चन क्षेत्र भएको प्युठानले त्यसबेला ६ सांसद पायो। नेता गौतम उपप्रधान एवं गृहमन्त्रीसमेत भए। प्युठान रस्पुरकोटका गोविन्दराज पोख्रेल राष्ट्रिय योजना आयोगका उपाध्यक्ष थिए भने प्युठानी बुहारी रेखा शर्मा सामान्य प्रशासनमन्त्री भइन्। प्युठान दाङवाङका शान्तराज सुवेदी अर्थ सचिव भए। 

प्रकाशित मिति: : 2019-08-17 14:40:10

प्रतिकृया दिनुहोस्