तमसुक व्यवस्था खारेज गर!
मिटरब्याजीलाई कार्वाही गर!
मिटरब्याजविरूद्ध कानुन निर्माण गर!
मंगलबार दिउँसो काठमाडौंको माइतीघर मण्डलामा एक पुरूष माइकमा एकाेहोरो यी नारा भट्याइरहेका थिए। यी नारालाई साथ दिन एक हुल महिला सँगै थिए। उनीहरूले पनि भट्याउने युवाको स्वर पछ्याउँदै भनिरहेकाथिए– तमसुक व्यवस्था खारेज गर! खारेज गर! मिटरब्याजीलाई कार्वाही गर! कार्वाही गर!
यी आवाज मधेस प्रदेशबाट १२ दिनको पैदलयात्रापछि राजधानी आएका मिटरब्याज पीडितहरूका हुन्। अझ भनौँ महिलाहरूको हो। जब माइकमा नारा लाग्छ, त्यसपछि हो मा हो जोड्दै नारा भट्याउनेमा अधिकांश महिला थिए।
फाटफुट रूपमा पुरूष पनि देखिन्थे। उनीहरूको आवाज पनि सुनिन्छ। तर धर्नामा बसेकाहरूमा महिला अधिकांश देखिन्थे। हेर्दा लाग्छ, महिलाहरूको आन्दोलन त होइन? तर महिलाको मात्र आन्दोलन होइन। साँचो कुरा यो हो पुरूषभन्दा महिला धेरै छन्। उनीहरूको शक्ति धेरै छ।
आन्दोलनमा नाबालिग छन्। ६ महिने बच्चाकी आमा छिन्। उनीहरूमा आफू र बच्चाको भन्दा आन्दोलनको माया धेरै छ। न्यायको तृष्णा अधिक छ। र, त १२ दिन पैदलै हिँडेर बर्दिबासबाट राजधानी आइपुगेका छन्। माया त आफ्नो किन नलाग्नु र? बच्चाको किन नलाग्नु र? तर मिटरब्याज साहुले दिएको प्रताडनाभन्दा उनीहरूलाई आन्दोलन सहज भएको छ।
घरमा बस्न नसकिने भएपछि आन्दोलनमै छिन्, तीन वर्षीया छोरी साथमै लिएर आएकी धनुषाकी लक्ष्मी परियार। मिटरब्याजकै कारण उनले घरसहितको १० धुर जग्गा गुमाएकी छिन्। गाउँकै गणेश जैसवालसँग उनले चार वर्षअघि दुई लाख रूपैयाँ ऋण लिएकी थिइन्।
लक्ष्मीले त्यसको मिटरब्याजसहित ऋण तिर्दै पनि गइन्। तर ऋण नसकिएको भन्दै जैसवालले अदालतमा मुद्धा हालेपछि आफ्नो घरसहितको जग्गा गुमेको उनले बताइन्। घरजग्गा गुमेपछि अहिले लक्ष्मी सुकुम्बासी भएकी हुन्।
लक्ष्मी त सुकुम्बासी भइन् नै। अहिले फेरि जैसवालले नै आफ्नो आमालाई पनि सुकुम्बासी गराउने चलखेल गरेपछि उनी थप पीडामा छिन्। ‘जैसवालले आमालाई एक लाख ऋण दिने भनेर तमसुक गरे तर आमालाई ऋण दिएनन्,’ लक्ष्मीले भनिन्, ‘ऋण नदिए पनि तमसुकको आधारमा उनले अदातमा मुद्धा हालेका छन्। एक लाखको तमसुकमा २५ लाखको जमिन हडप्न खोजेका छन्।’
लक्ष्मीले अहिले आफ्नो आमालाई नखाएको विष लागेको बताइन्। अगाडि भनिन्, ‘खाएको मात्र बिष लाग्ने हो। नखाएको बिष लाग्दैन। मेरी आमाले नलिएको पैसाको कागज गरेर लगिएको जमिन फिर्ता होस्।’
यस्तै मिटरब्याजको ऋण तिर्न नसकेपछि सप्तरीकी कविता पासवानका श्रीमान ३ वर्षदेखि जेलमा छन्। ठगी मुद्धामा आफ्नो श्रीमान जेलमा रहेको कविताले बताइन्। उनले भनिन्, ‘बैंकबाट ऋण लिएका कारण श्रीमान ३ वर्षदेखि ठगी मुद्धामा जेलमा हुनुहुन्छ। हप्तामा १ एक लाखको १० हजार बुझाउन नसक्दा मेरो श्रीमान जेल जानुपर्यो।’
श्रीमान जेलमा भएपछि घरमा निकै दुःख भइरहेको उनले बताइन्। ‘घरमा हामीलाई दुःख छ। छोरा–छोरी पढ्न पाएका छैनन्,’ कविताले भनिन्, ‘मिटरब्याजीले हामीलाई सताएको छ। सरकारले हाम्रो माग पूरा गरोस्।’
यी दुई पीडित त उदाहरण मात्र हुन्। मिटरब्याजी साहुका कारण प्रताडना भोगेका ७२ जना आन्दोलन गर्न घरबाट चैत्र २ गते निस्किएका थिए। यद्यपि पीडितहरूको आन्दोलन काठमाडौं आइपुग्दा संख्या बढेर २ सय पुग्न थालेको छ।
आन्दोलनको नेतृत्वकर्ता मनोज कुमार पासवानका अनुसार चैत्र २ गते काठमाडौं पैदल यात्राको आन्दोलन सुरू गर्दा ७२ जनामा महिलाको संख्या पुरूषको भन्दा दोब्बर थियो। आन्दोलनमा सहभागीमध्ये ४२ जना महिला मात्र थिए। २६ जना पुरूष र तीन जना बालबालिका थिए। अहिले यो संख्या बढेको पासवानले बताए।
माग पुरा नभए घर फर्किँदैनौँः पासवान
मिटरब्याजविरूद्धको आन्दोलनमा सिराहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, झापा, कैलाली र खोटाङका पीडितहरू रहेका छन्। उनीहरूले कुनै पनि हालतमा आफ्नो माग पूरा गराउनका लागि सरकारलाई दबाब दिइरहेका छन्। मिटरब्याज पीडित आन्दोलनको नेतृत्वकर्ता मनोज कुमार पासवानले आफ्ना मागहरू पूरा नभए घर नफर्किने बताएका छन्।
स्थानीय तह, प्रदेश सरकारले आफ्ना मागहरूको सुनुवाइ नगरेका कारण संघ सरकारसँग माग पूरा गराउन आएको बताए। उनले भने, ‘हाम्रा मागहरू धेरै पनि छैनन्। मात्र मिटरब्याजीलाई कार्वाही गर्नुपर्छ र हाम्रो गुमेको जमिन फिर्ता हुनुपर्छ, तमसुक व्यवस्था खारेज हुनुपर्छ।’
राज्यले मिटरब्याज पीडितको समस्या अहिले समाधान नगरे झनै ठूलो समस्याका रूपमा रहने पासवानले बताए। उनले भने, ‘राज्यले आफ्ना नागरिक दुःखमा परेका बेला नै न्याय दिने हो। अहिले यो समस्या समाधान भएन भने झनै ठूलो समस्या निम्तिन्छ। त्यसैले प्रधानमन्त्रीसँग यो समस्या छिटो समाधान गर्न आग्रह छ।’