सेयर सदस्यको नाममा कीर्ते तमसुक गरी व्यवस्थापकले नै गरे सहकारीको ८९ लाख हिनामिना

तस्बिरः नेपाललाइभ

राजविराज- सप्तरीमा एक सहकारी संस्थाका व्यवस्थापकले सेयर सदस्यको नाममा कीर्ते तमसुक गरी ८५ लाख रुपैयाँ ऋण निकालेर हिनामिना गरेको तथ्य सार्वजनिक भएको छ।

खडक नगरपालिका-१, सिस्वा बेल्हीस्थित साना किसान कृषि सहकारी संस्थाका व्यवस्थापक श्रवण कुमार साहले सेयर सदस्यको नाममा कीर्ते तमसुक गरी सो रकम हिनामिना गरेका खुलेको हो। स्थानीयवासीसमेत रहेका साहले २१ जना सेयर सदस्यको नामबाट कीर्ते तमसुक गरी ८५ लाख ४ हजार ५ सय ५२ रुपैयाँ ऋण निकालेका छन्।

यसैगरी, असुलीबाट जम्मा भएको संस्थाकै ३ लाख ९४ हजार ६ सय १० रुपैयाँसमेत गरी कूल ८८ लाख ९९ हजार १ सय ६२ रुपैयाँ ८९ पैसा हिनामिना भएको सेयर सदस्यहरुले दाबी गरेका छन्।

२०६३ सालमै भएको उक्त घटना कतिपय सञ्चालक समितिकै सदस्यका कारण गुपचुप राखिएको थियो। तर, तोकिएको समयमा समेत साहले रकम फिर्ता नगरेपछि सेयर सदस्यले व्यवस्थापकको हर्कत बाहिर ल्याएका हुन्।

‘संस्थामा देखिएको समस्या आन्तरिक रुपमै मिलाउन दबाब आएपछि त्यतिबेला हामी चुप लागेर बस्यौं। ठूलो रकम डुब्ने खतरा भएकाले चुप लागेर असुल गर्नुपर्ने बाध्यता पनि थियो,’ सेयर सदस्य उमेश प्रसाद चौधरीले भने, ‘तर, तोकिएको भाकामा पनि रकम जम्मा नभएपछि अर्को विकल्प खोज्नुपर्ने बाध्यता भयो।’

सेयर सदस्यको नाममा ऋण लिएको तथा संस्थामा जम्मा भएको रकम आफूले हिनामिना गरेको साहले स्वीकारसमेत गरेका छन्। उनले २०७५ साउन १६ मा नै लिखित कागज गरी गत पुस मसान्तभित्र ब्याजसहित रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएका थिए। लिखित काजगमा उनीसहित पिता आनन्दप्रसाद साह र पत्नी पिंकीकुमारी साहसमेतले हस्ताक्षर गरेका छन्।

प्रकाशित मिति: : 2019-08-17 07:05:51

प्रतिकृया दिनुहोस्