नेताबाटै सशस्त्रको दुरुपयोग

तस्बिरः अन्नपूर्ण पोष्ट

काठमाडौं : सशस्त्र प्रहरी नेतृत्व पंक्तिले आफ्नो जनशक्ति राजनीतिक दलका नेता रिझाउन दुरुपयोग गरिरहेको पाइएको छ। अधिकांश नेताले आफ्नो पदीय शक्ति देखाई सशस्त्रलाई त्यस्तो जनशक्ति परिचालन गर्न बाध्य पारेको हो।

सशस्त्र प्रहरी बल मुख्यालयबाट अन्नपूर्णलाई प्राप्त विवरणमा सशस्त्रले कुल पाँच सय १६ जनालाई उपराष्ट्रपतिदेखि राजनीतिक कार्यकर्तासम्मको ‘सुरक्षा’ का लागि परिचालन गरेको छ।

नेताकार्यकर्ताका घरायसी कामका लागि फौज पठाएर सशस्त्रल नेतृत्वले संगठनको मर्म र उद्देश्यविपरीत काम गरेको देखिएको छ।

कुनै पनि व्यक्तिलाई सुरक्षा ‘थ्रेट’ भएमा गृह मन्त्रालयले विश्लेषण गरेर सुरक्षाकर्मी उपलब्ध गराउने प्रावधान छ। त्यसबाहेक गृहले नीति बनाएर पनि विभिन्न ‘अति विशिष्ट’ र ‘विशिष्ट’ व्यक्तिलाई सुरक्षा दिने गर्छ। तर सशस्त्रले नेता, मन्त्री र कार्यकर्ताले माग गरेका आधारमा उनीहरूले भनेजति जनशक्ति उपलब्ध गराएको छ।

यसबाहेक आपूm पद (शक्ति) मा भएका बखत मागिएका सशस्त्र फौजलाई पदबाट हटेपछि फिर्ता नगरेर आफ्नो घरायसी काममा उपयोग गरिरहेका छन्। सशस्त्रले पूर्वमहानिरीक्षक, अतिरिक्त महानिरीक्षक र नायब महानिरीक्षकलाई जथाभाबी फौज दिएर दुरुपयोग गरेको समाचार अन्नपूर्णले प्रकाशित गरेको थियो।

नेता, मन्त्री र राजनीतिक दलका कार्यकर्ताका लागि परिचालित फौजसहित गाडी, तेल, रासन, मर्मत खर्च सबै सरकारको थाप्लामा पर्छ। ‘वरिपरि, दायाँबायाँ सुरक्षा फौज लिएर हिँड्दा म केही हुँ भन्ने रबाफ देखाउन र घरायसी काममा ती प्रहरी अधिकृतदेखि जवानसम्मको दुरुपयोग भइरहेको छ,’ सशस्त्र स्रोतले भन्यो, ‘कतिपयले आपूm शक्तिमा हुँदा लिएर गए, तर गएको गयै भए।’

हाल परिचालन गरिएका सशस्त्र प्रहरीको फौजमा पूर्वराजा, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र पूर्व प्रहरी (सशस्त्रका) प्रमुखहरूलाई नीति बनाएरै पठाइएको हो। त्यसबाहेक जति पनि महानिरीक्षक भए ती सबैले अधिकांश दलका नेतालाई रिझाउन र नेतासितको सम्बन्ध कायम (रिलेसन मेन्टेन) राख्न संगठनका जवान दिएका हुन्। ‘यसरी व्यक्तिगत प्रयोजनका लागि भन्दै प्रहरीका जवान परिचालन गरेपछि सबै नेता खुसी हुने भए, परिआएका बेला तिनलाई सहयोग पनि गर्ने भए, व्यक्तिगत चाकडी गरी दीर्घकालसम्म टिकिराख्ने पनि भए’, स्रोतले भन्यो।

प्रकाशित मिति: : 2019-08-15 06:09:21

प्रतिकृया दिनुहोस्