सिंगो देश नै यहाँ
एउटा विशाल भट्टी भएको छ
यहाँ जताततै जाँड बनाइन्छ
यहाँ जताततै जाँड बेचिन्छ
यहाँ जताततै जाँड धोकिन्छ
मदग्रस्त छु म
मलाई जाँड लागेको छ
आफ्नै इज्जत लिलामी गरेर
लगातार म यहाँ जाँड धोकिरहेछु
बोतलका बोतल
ग्यालेनका ग्यालेन
हरेक बिहान
आँखा खुलेदेखि
अबेर राति आँखा बन्द नहुन्जेल
बिना सितन वा रङ्गिन सितनसहित
यहाँ म जाँड धोकिरहेको छु
मेरो परिचय ?
हो, म एक नामुद जँड्याहा हुँ
केको लाज ?
केको धक ?
जबकि प्रत्येक घरमा यहाँ
एक वा एकभन्दा बढी
जँड्याहा भेटिन सक्छन्
वा नभेटिन पनि सक्छन्
भेटिएर पनि नभेटिन सक्छन्
नभेटिएर पनि भेटिन सक्छन्
किनभने, यहाँ दुई थरी जँड्याहाहरु छन्
एकथरी जाँड खाएर सत्य बोल्छन्
अर्काथरी जाँड खाएर झुठ बोल्छन्
एकथरी सितन बिनै जाँड धोक्छन्
अर्काथरी सितनमा सिंगै देश निल्छन्
यो जाँडले चलेको देश हो
यो जाँड बेचेर चलेको देश हो
यो जाँड खाएर छादिएको देश हो
यो मान्छेहरुका टाउकामा
जिन्दगी लादिएको देश हो
सिंगो देश नै यहाँ
एउटा विशाल भट्टी हो
डुङडुङ्ती यो गन्हाउँछ
र आफ्ना नागरिकको पसिनाको
यसले जाँड बनाउँछ
आफू पिउँछ
अरुलाई पनि पिलाउँछ
मात्छ
लर्बराउँछ
छाद्छ
नालीमा सुत्छ
स्वास्नी कुट्छ
सन्तानलाई भकुर्छ
तथानाम बक्छ
यो जँड्याहाहरुको देश हो
र यो रक्सीमा चुर्लुम्म डुबेको छ
देश मातेको छ
देश तातेको छ
देश हाेसमा छैन
देश लर्बराइरहेको छ
अनि यहाँ तँ मातेको छस्
र म पनि मातेको छु
भो कुरा नगर् हाेसको !
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया