बालबालिका बेचबिखन आरोपमा बाल मन्दिरका निर्देशक पक्राउ

काठमाडौं : बालबालिका बेचबिखनको आरोपमा प्रहरीले बाल मन्दिरका निर्देशक बालकृष्ण डंगोललाई  पक्राउ गरेको छ। डिना स्मिथ नाम गरेकी बेलायती नागरिकलाई बालिका किनेर बेलायत लान सहयोग गरेको आरोपमा प्रहरीले डंगोललाई पक्राउ गरेको हो। 

प्रहरी स्रोतका अनुसार स्मिथकै बयानका आधारमा डंगोल पक्राउ परेका हुन्। स्मिथ पक्राउ परे लगत्तै आफू फस्ने डरले डंगोल केही दिन भारत गएका थिए। भारतबाट फर्किए लगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार भारतबाट फर्किएर बुधबार कार्यालय नक्साल पुगेका डंगोललाई प्रहरीले त्यहीबाट पक्राउ गरेको हो। 

स्मिथले अर्काको सन्तानलाई आफूले जन्माएको कागजपत्र बनाएर बेलायत लैजाने प्रयास गरेकी थिइन्। 

पर्यटक प्रवेशाज्ञा (भिसा) मा साउन ११ गते नेपाल आएकी  स्मिथ (राहदानी नं ५६०७९३४०२) ले अर्काकी छोरीलाई आफूले जन्माएको जिकिर गर्दै बेलायत लैजान लागेकी थिइन्।

ललितपुरको महालक्ष्मी नगरपालिकाले पनि ती शिशु स्मिथले नै जन्माएको जन्मदर्ता गरिदिएको थियो। प्रमाणपत्रमा शिशुको जन्म साउन १२ गते भएको लेखिएको छ। जन्मदर्ता प्रमाणपत्रमा ती शिशुको नाम ‘आन्ना बेला लक्ष्मी श्रेष्ठ स्मिथ’ छ।

अध्यागमन विभागको अनुसन्धानपछि गैरकानुनी ढंगले शिशुलाई बेलायत लैजाने स्मिथले गरेको प्रयास विफल भएको हो। नेपालस्थित बेलायती दूतावासले स्मिथकै छोरी भन्दै ती शिशुको राहदानी (नम्बर ७९२१५९३१४) बनाइदिएको थियो। 

दूतावासले साउन २७ गतेसम्म ती शिशुलाई बेलायत भित्र्याइसक्नुपर्ने ‘इमरजेन्सी’ राहदानी बनाइदिएको थियो। अनुसन्धान सुरु भइसकेकाले स्मिथले उनलाई तोकिएको मितिमा बेलायत लैजान सकिनन्। त्यसपछि पुनः बेलायती दूतावासले ती शिशुको अर्को राहदानी बनाइदियो। 

विभागले उनलाई परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा स्वास्थ्य उपचारका लागि पठाएको थियो। सुरुमा आफ्नो स्वास्थ्य परीक्षण गर्न उनले इन्कार गर्दै आएकी थिइन्। अनुसन्धानका क्रममा सहयोग नगरे अप्ठ्यारो पर्न सक्ने विभागको चेतावनीपछि स्मिथ स्वास्थ्य परीक्षण गर्न राजी भएकी थिइन्।

स्वास्थ्य परीक्षणका क्रममा स्मिथ ती शिशुको आमा नभएको पुष्टि भएको थियो। त्यसपछि गैरकानुनी ढंगले ती शिशुलाई बेलायत लैजान खाजेको भन्दै अध्यागमन विभागले स्मिथलाई पक्राउ गरेको थियो। 

प्रकाशित मिति: : 2019-08-14 20:55:07

प्रतिकृया दिनुहोस्