तपाईंको पैसा बैंक खातामै रोकियो कि !

तस्बिरः एजेन्सी

काठमाडौं। तपाईंले बैंक खाता खोलेर लामो समय नचलाई बस्नुभएको त छैन ? त्यसो भए तत्काल नै गएर सक्रिय पार्नुहोस् । ६ महिनासम्म बैंक खातामार्फत कारोबार नगरेमा खाता निष्क्रिय हुने गर्दछ । निष्क्रिय खातामा अन्यत्रबाट पैसा जम्मा गर्न तथा रकमान्तर गर्नसमेत मिल्दैन ।
हाल भूकम्पपीडितको खातामा यस्तै समस्या देखिएको छ । भूकम्पपीडितले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग अनुदान सम्झौता गरेपछि पहिलो किस्ता बैंक खातामा जम्मा हुने गर्छ । तर, लाभग्राहीको बैंक खाता नै निष्क्रिय रहेपछि समस्या देखिएको छ । यस्तो समस्या पहिलो किस्ता लिनेको हकमा मात्र नभएर कतिपयको दोस्रो र तेस्रो किस्ता लिनेमा समेत देखिएको छ ।

प्राधिकरणले अनुदान सम्झौता गरेका तर बैंकमा आफ्नो खाता सुचारु नगरेका लाभग्राहीलाई यथाशीघ्र सम्बन्धित बैंकमा सम्पर्क राखी खाता सुचारु गर्न अनुरोध गरेको छ ।
प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले अनुदान सम्झौता गरेलगत्तै पहिलो किस्ता बैंक खातामा गएको तर खाता सक्रिय नगरेका कारण ठूलो संख्याका लाभग्राहीको पैसा निष्क्रिय भएको बताए ।
प्राधिकरणले आफ्नो बैंक खाता सक्रिय गरी खातामा जम्मा भएको रकम निकालेर निजी आवास पुनर्निर्माण सुरु गर्न लाभग्राहीसँग आग्रह पनि गरेको छ ।

प्राधिकरणले समयमै खाता सक्रिय नगर्नेहरूको हकमा प्राधिकरणले खाता निस्क्रिय पार्ने चेतावनीसमेत दिएको छ ।
यसअघि, प्राधिकरणले निजी आवास पुनर्निर्माणअन्तर्गत लाभग्राहीमा परेका भूकम्पपीडितलाई २१ असारसम्म अनुदान सम्झौता गर्न समय तोकेको थियो । समयसीमाभित्र सम्झौता नगर्ने ५७ हजार ३०९ ले अनुदान सम्झौता गरेका थिएनन् भने प्राधिकरणले उनीहरूलाई सूचीबाट हटाएको छ ।

प्रकाशित मिति: : 2019-08-14 07:25:39

प्रतिकृया दिनुहोस्