नागरिकसँग सम्बन्ध सुधार गर्दै नेपाली सेना, दुर्व्यवहार गर्ने सैनिकलाई कारवाही गरिने

बिएल

प्रदेश नम्बर–१ को राजधानी मोरङको थलाहामा बुधबार एउटा अन्तरक्रिया कार्यक्रमको आयोजना भयो। अन्तरक्रिया न केन्द्रीय सरकार र स्थानीय जनताबीच थियो, न स्थानीय सरकार र जनताबीच नै।

अन्तरक्रिया आयोजना भएको थियो त नेपाली सेना र नागरिकबीच। त्यो पनि राजनीतिक घटनाक्रमसँग उत्पन्न तिक्तता कसरी हटाउने भन्ने विषयमा।

सूर्यदल गणद्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा सेनाले पेसागत मर्यादा कायम राखेर कमीकमजोरी सुधार गर्दै जनतासँग घुलमिल भएर राष्ट्र निर्माणको महाअभियानमा जुट्नु पर्ने बताए।

महासेनानी ईश्वरकुमार श्रेष्ठले सेना जनताकै सहयोगी र सहयात्री रहेको बताए। उनले नागरिक र सेनाबीच ‘कम्युनिकेसन ग्याप’ रहेको स्विकार गरे। ‘कठोर अनुशासनमा रहेर व्यारेक भित्र बस्नु पर्ने सेना र खुल्ला समुदायमा बस्ने नागरिकबीचमा सुमधुर सम्बन्ध बनाउँदै सेना जनता एवं राष्ट्रकै लागि हो भन्ने सन्देश दिन विविध कार्यक्रम सञ्चालन भइरहेको छ,’ महासेनानी श्रेष्ठले जानकारी दिए ।

सेनासँग अन्तरक्रिया गर्दै स्थानीय। बिएल

विगतमा केही सेनाका कारण महिलाले भोग्नु परेको पीडा र अनेकन दुर्व्यवहारको विषयमा कुरा उठेको थियो।

महिला अगुवा दुर्गा चापागाईले जनताले सेना हाम्रा लागि हो भन्ने कुराको महशुस गर्ने वातावरण तयार हुनुपर्नेमा जोड दिइन्। सेनालाई राष्ट्र र नागरिकको रक्षकका रुपमा लिने गरिएका कारण जनताले पनि सेनासँग सहकार्य र सामिप्यता चाहेको उनको भनाइ छ।

विराट व्यापार संघका सदस्य मुकेश बुढाथोकीले विभिन्न प्रकोप र विपद्मा नागरिकबीच पुगेर सेनाले पुर्याएको योगदान प्रशंसा योग्य रहेको बताए।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्द्राले विपद् व्यवस्थापनमा सहयोग र साथ दिइरहेको सेनाले प्रविधि प्रयोगमा जोड दिनुपर्ने बताए। आद्यौंगिक क्षेत्रमा विभिन्न खालका विशेष कार्यक्रम सञ्चालन गरेर उद्योग र व्यवसाय क्षेत्रमा सहयोग गर्न उनले सेनालाई आग्रह गरे ।

‘सेना जनतासँग टाढा भन्दा पनि नजिक हुनु पर्ने हरेक घटनाक्रमले प्रष्ट हुन्छ,’ मानव अधिकारकर्मी सोमराज थापाले भने।

सेनाका पूर्वी पृतनापति एवं उपरथी अनन्त कार्कीले नागरिकसँग जोडिएका विषयमा अति नै संवेदनशील भएर सेना अघि बढ्ने प्रतिवद्धता जनाए। महिलामाथि हुने दुर्व्यवहार र गलत गतिविधिमा संलग्न रहनेमाथि सैनिक ऐनअनुसार कारबाही हुने बताउदै उनले ज्यानको बाजी राखेर घर परिवार त्याग्दै नेपाली नागरिकलाई परेको अप्ठेरोमा साथ दिने अठोट गरेकाले त्यही अनुरुप सेना अघि बढ्ने जानकारी दिए।

स‌ंगीतकार र साहित्यकार एकै पल्ट पलेँटीमा झुल्किने

कार्कीले प्रदेश १ सरकारले ल्याएको ‘म अघि बढ्छु’ कार्यक्रममा जस्तो सुकै सहयोग गर्न सेना रहेको बताए।

‘यस्ता कार्यक्रमले भविष्यका सन्ततीलाई असल बनाउन सहयोग गर्छ,’ उनले भने, ‘त्यही भएर सरकारसँग हातेमालो गर्न सेना तयार छ।’

समृद्ध नेपाल, सुखी नेपाली नारासहित सरकारले सञ्चालन गरेका हरेक अभियान र विकास निर्माणका काममा सेनाको साथ रहने उपरथी कार्कीको भनाइ छ। भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि सेनाले सक्रियता बढाउने उनले बताए।

कार्यक्रममा प्रदेश २ को बारा र पर्सामा हावाहुरीको क्षतिपछि सेनाले निर्माण गरेर हस्तान्तरण गरेका घर एवं संरचनाका बारेमा तयार पारिएको वृत्तचित्त र सेनाका बारेमा निर्माण गरिएको लघु चलचित्र देखाइएको थियो।

प्रकाशित मिति: : 2019-09-18 17:10:25

प्रतिकृया दिनुहोस्